रानीबासमा मारुनी नाच नाचियो

0 78

एवत सारु । (रम्भा) पाल्पा
मगर समुदायमा नाचिने लोपोन्मुख मारुनी नाच रम्भा गाउँपालिका–२, फोक्सिङ्गकोटको रानीबासमा नाचिएको छ । बडा दशैंको अवसर पारेर नाचिएको मारुनी नाचमा रानीबास गाउँका युवा, बृद्घा एवम् महिलाहरुको सहभागिता रहेको थियो ।

रानीबासको गाहा टोल आमा समूहको व्यवस्थापनमा प्रभा गाहाको आँगनमा नाचिएको मारुनी नाचमा रौरा नरबहादुर सिंजाली तथा देवेन्द्र सारुले अगुवाई गरेका थिए । सरस्वती देवीको गीत गाएर शुरु गरिने मारुनी नाचमा रामायण, कृष्ण चरित्र, डाँडी, झुमरी, ख्याली गीतहरु दुई समूहमा बाँडिएर गाउने चलन छ ।

मारुनी नाच्दा एक पटकमा ३ जना देखि १३ जना सम्म मारुनी तथा पुर्छुङ्गेहरु समूहमा नाच्ने गर्छन । नाचको मुख्य रौनक नाच नाचिने घरपरिवारलाई दिईने आशिक गित गाउँदा हुन्छ । आयोजक आमा समूह तथा घरमूलीले अक्षेता र दान दिने गरिनुका साथै कन्या केटी तथा आमा समूहका सदस्यहरुले नाचनेहरुलाई फुल, माला, टिका लगाउने गर्छन ।

भर्खरका युवाहरुलाई फरिया, सारी, चोलीया, कण्ठ, पटुकी आदि परम्परागत भेषभुषाले सजाएर मारुनी तयार गरिनुका साथै धुन, टोपी लगाएर पुरुषलाई पुर्छुङ्गे बनाई नचाउने गरिन्छ । मारुनी नाचबाट नाच विकास गर्न केही रकम संकलन गरिएको नाचका युवा अगुवा देवेन्द्र सारुले बताए । रानीबासमा हरेक वर्ष चार पटक मारुनी नाच गरिने गरिएको छ । मंसीर महिनामा पर्ने धान्या पूर्णेमाका दिन सरस्वतीको पूजा गरि मारुनी नाच बिसाउने गरिन्छ ।
फोटो गुगल

Comments
Loading...