रिपोर्ट नआउँदै रिसाएर क्वारेन्टाइनबाट घर गएका पाल्पाका एक युवामा कोरोना पुष्टि

0 2,870

पाल्पा । पाल्पाका एक जना युवामा कोरोना पुष्टि भएको छ । रम्भा गाउँपालिका वडा नंं. ५ ताहुका २२ बर्षीय युवामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

स्थानीय ती युवाको स्वाब संकलन गरेर परीक्षणको लागि भैरहवा प्रयोगशाला पठाइएको थियो । १३ दिन अघि भारतबाट आएका ती युवा रम्भा माध्यमिक विद्यालय ताहुमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

आफ्नो रिपोर्ट आउन ढिला भएको भन्दै उनी रिसाएर शुक्रबार राती भागेर आफ्नो घर नजिकैको गाउँ ओम भञ्ज्याङ गएका थिए । शनिबार दिउँसो ती युवालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा राखेको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले जानकारी दिए ।

उनमा कोरोना पुष्टि भएपछि स्थानीय ओमभञ्ज्याङ टोलका बासिन्दाहरु त्रसित भएका छन् । उनको सम्पर्कमा आएका सबैको स्वाब संकलनको प्रक्रिया अगाडि बढाइएको र उक्त टोललाई अहिले पूर्ण रुपमा शिल गरिएको अध्यक्ष भण्डारीले बताए । सबैको रिपोर्ट नआञ्जेल टोल पूर्ण रुपमा शिल हुने उनले बताए । तस्बिरः गुगल

Comments
Loading...