रुकुम (पश्चिम) घटनाका दोषीलाई कारवाहीको माग सहित पाल्पाका दलित समुदाय आन्दोलित

0 267

पाल्पा । रूकुम (पश्चिम) हत्याकण्डका दोषीलाई कारबाहीको माग गर्दै पाल्पामा आन्दोलन थालिएको छ । दलित समुदायअन्तर्गत जिल्लामा सक्रिय रहेका विभिन्न संघसंस्था, संगठनमा आवद्ध तथा दलित समुदाका नागरिक बिहिबारदेखि आन्दोलित भएका हुन् । आन्दोलनको पहिलो दिन आज घट्नाको सत्यतथ्य छानबिन गरी दोषीउपर हदैसम्मको कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्। जिल्लाका १८ वटा संघसंस्था तथा दलित अधिकारकर्मीसहित गएको टोलीले प्रजिअ सुवेदीलाई ज्ञापनपत्र बुझाएको दलित अगुवा तीर्थ गौतमले बताए ।

यहि जेठ १० गते अर्थात् जातीय विभेद तथा (छुवाछुत कसुर र सजाय ऐन–२०६८) पारित भएकै दिन कर्णाली प्रदेशको रूकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं ८ सोतीमा अन्तरजातीय मायाँप्रेमको विषयमा तथाकथित उपल्ला जातीले मच्चाएको नरसंहारले सिंगो दलित समुदाय मर्माहत भएको ज्ञापनपत्रमा उल्लेख छ। घट्नाको सत्यतथ्य छनबिन गरी दोषी उपर हदैसम्मको कार्बाही गर्नुपर्ने, सामाजिक रूपान्तरणका अभियान्ताहरूलाई सहिद घोषणा गर्नुपर्ने, बेपत्ताहरूको तत्काल खोजी गरी घाईतेहरूको उचित उपचारको व्यवस्था गर्नुपर्ने र आश्रीत परीवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमार्फत माग गरिएको अर्का दलित अगुवा खुमबहादुर विश्वकर्माले बताए ।

ज्ञापनपत्र मुख्यमन्त्रीको कार्यालय प्रदेश नं ५, मुख्यमन्त्रीको कार्यालय कर्णाली प्रदेशको कार्यालय, जिल्ला प्रशासनको कार्यालय जाजरकोट र जिल्ला प्रशासनको कार्यालय रूकुम (पश्चिम) को कार्यालयलाईसमेत बोधार्थ पठाइएको छ । आजै साँझ तानसेनको सितलपाटीमा दीपप्रज्वलन गर्ने तयारी भइरहेको दलत अगुवा ठाकुरप्रसाद लोहागुनले बताए । पीडितले न्याय नपाउँदासम्म चरणवद्ध आन्दोलन जारी रहने उनले बताए । मागप्रति वेवास्ता गरिए अझै शसक्त आन्दोलन गरिने दलबहादुर राजपुतले बताए। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले रूकुम (पश्चिम)को घट्नाले आफुलाई पनि दुखित् तुल्याएको बताए। तत्काल प्राप्त ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने उनले आश्वासन दिए ।

ज्ञापनपत्रको पूरा बिबरण यसप्रकार छ ।
सम्माननीय प्रधानमन्त्री ज्यु,
प्रधानमन्त्रीको कार्यालय सिंहदरबार, काठमाडौं नेपाल

माननीय गृहमन्त्री ज्यू,
गृहमन्त्रालय

मार्फत्
प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय पाल्पा

ज्ञापन पत्र

२०७७ जेठ १० गते अर्थात् जातीय विभेद तथा (छुवाछुत कसुर र सजाय ऐन–२०६८) पारित भएकै दिन कर्णाली प्रदेशको रूकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं ८ सोतीमा अन्तरजातीय मायाँप्रेमको विषयका वहानामा तथाकथित उपल्ला जातीले मच्चाएको नरसंहारले सिंगो दलित समुदाय मर्माहित भएको छ ।

जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ राना गाउँ बस्ने नवराज बिक र चौरजहारी ८ सोती निवासी कथित गैरदलित युवती सुष्मा मल्लबीच विगत तीन वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको र त्यसलाई विवाहमा परिणत गर्नका लागि दुवैजना सहमत भएको र सुष्माकै अनुरोधमा निजलाई लिनका लागि नवराज बिक सोती पुगेका थिए । सुष्माको अनुरोधअनुसार नवराज बिक र उनका साथीहरूसहित सुष्माको गाउँमा पुग्दा सो वडाका जननिर्वाचित वडाध्यक्ष डम्बर बहादुर मल्ल सहित केटीका घरपरीवार र स्थानीय गाउँलेले नवराज बिक लगायत उनका साथीहरूलाईसमेत नियोजित तरिकाले लखेटी लखेटी निर्घातरूपमा निर्मम तरिकारले कुटपिट गरी हत्या गरीएको छ । निज नवराज बिक, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढाको लास भरी नदीमा फेला परेको छ । उनीहरूको साथमा गएका गोबिन्द शाही र सन्दीप बिकको अवस्था अहिलेसम्म अज्ञात छ ।

सो घट्नामा संग्लग्नमध्येका वडा अध्यक्ष डम्बर बहादुर मल्ल, केटीका बाबु बीरबहादुर र आमा प्रकाशी मल्लसहित २० जनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान गरी दोषीउपर हदैसम्मको कारवाहीको माग गर्दै यो ज्ञापनपत्र पेस गरिएको छ ।

हाम्रा मागहरू ः
१ घटनाको सत्यतथ्य छनबिन गरी दोषी उपर हदैसम्मको कार्बाही गर ।
२ सामाजिक रूपान्तरणका अभियान्ताहरूलाई सहिद घोषणा गर ।
३ बेपत्ताहरूको तत्काल खोजी गरी घाईतेहरूको उचित उपचारको व्यवस्था गर ।
४ आश्रीत परीवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर ।

बोधार्थ ः
मुख्यमन्त्रीको कार्यालय
प्रदेश नं ५ रूपन्देही नेपाल

मुख्यमन्त्रीको कार्यालय
कर्णाली प्रदेशको कार्यालय

प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासनको कार्यालय जाजरकोट

प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासनको कार्यालय रूकुम पश्चिम

ऐक्यवद्धता गर्ने संघसंस्थाहरू ः
१. जिल्ला अदालत बार इकाइ पाल्पा (अध्यक्ष) जोगबहादुर बिक
२. जातीय भेदभाव तथा दलित अधिकार प्रवद्र्धन समिति पाल्पा (सदस्य) ठाकुरप्रसाद लोहागुन
३. दलित अधिकारका लागि साभा अभियान, पाल्पा
४. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दलित विभाग पाल्पा (प्रमुख) तीर्थ गौतम
५. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दलित विभाग पाल्पा (उपप्रमुख) खुमबहादुर बिक
६. नेपाली काँग्रेस दलित विभाग पाल्पा (प्रमुख) दलबहादुर राजपुत
७. दलित संगठन प्रजातान्त्रिक (अध्यक्ष) मानबहादुर नेपाली
८. दलित महिला संघ पाल्पा (अध्यक्ष) शान्ति गहतराज
९. राष्ट्रिय दलित पत्रकार संघ प्रदेश ५ (कोषाध्यक्ष) कृष्ण दर्नाल
१०. राष्ट्रिय दलित पत्रकार संघ पाल्पा (अध्यक्ष) मिलन विश्वकर्मा
११. ट्रेड युनियन काँग्रेस पाल्पा (उपाध्यक्ष) सुनिल बुढाथोकी
१२. परियार समाज गुठी (अध्यक्ष) ताराबहादुर गौतम
१३. नेपाली समाज कल्याण कोष (सदस्य) रामबहादुर नेपाली
१४. गन्र्दभ सुधार समाज
१५. विश्वकर्मा समाज
१६. न्यू विश्वकर्मा समाज
१७. परियार सेवा समाज (अध्यक्ष) सुजन कार्की
१८. दलित महिला अधिकारकर्मी इन्द्रा गहतराज

Comments
Loading...