लघु कथा. भिटामिनको सुई

0 69

– गोम बिक्रम

“कति साह्रै पातली ….! कहिल्यै जीउ लिन सकिनस् हगि ? जहिले पनि यस्तै देख्छु । कति छेस नि अहिले ? “
“३५ किलो”
“घर राम्ररी खान दिँदैनन् कि ? दुब्ली पनि कस्तो सुकेनासले छोए जस्तो । खाने बेलामा धपाए जस्तो । “
धेरै जसो सुस्मितालाई यस्तै भनेर जिस्काउँथे ।
धारा- कुवा, मेलापात, जता पनि उसकै दुब्लो र पातल‍ोपनबारे चर्चा चल्थ्यो ।

” साँच्चै भिटामीनको मोटाउने सुई पाए पनि लगाउँथे होला । जसले पनि सोधेरै हैरान पारे त बा । ” जवाफ हुन्थ्यो उसको ।
निकै फरासिली, रसिक स्वभावकी सुस्मीलाई आफ्ना साथीहरूले स्लिम सुन्दरी भनेर पनि भन्ने गर्दथे ।
केही बर्ष बित्यो । पहिले जति पातली भए पनि अहिले सुस्मीमा आकाश जमीनको अन्तर थियो । ऊ त्यस्ती पातली थिइनँ । उसको तौल ६५ किलो भन्दा कम थिएन । पुटुक्क गाला, ठमस्सको सुडौल जीउ, श्रृंगार र भेषभुषा हेर्दा निकै आकर्षक देखिन थालेकी थिई । कहिले कुन कहिले कुन व्युटीपार्लरमा भेटिन्थी । साथीहरू उस्तै तारिफ गरिरहन्थे । कुनै सिनेमाकी नायिका वा मोडलभन्दा कम थिइन । कहिले कोसित कहिले कोसित हिडिँरहन्थी ।
” तिम्रा बूढा कहाँ हुनुहुन्छ नि ? “
“कोरिया ।”
“कति बर्ष भो ?”
“पाँच”
“भनेसी कमाई राम्रो छ । घर पनि बनायौ कि ? ” जिज्ञासा हुन्थे साथीहरूका ।
“बनाएँ नि आऊ न ल मेरो घरमा ?” ऊ भन्थी । अचेल ऊ पूर्ण शहरिया भैसकेकी थिई । लवाई खवाई बेग्लै, चालचलन बेग्लै । एक दिन उसलाई मेडिकलबाट निस्कँदै गर्दा भेटियो, सोधेको त -“सञ्चै छु ।” भन्थी तर शंका लाग्यो ।
“म भिटामीनको सूई लगाउँछु नि !” उसले हाँसेर प्रष्ट्याउन खोजेकी थिई ।
“होइन अस्ति तिमीलाई पछाडी राखेर हिँडाउने चैं को नि ? मैले त हेल्मेटभित्र राम्ररी ठम्म्याउन सकिनँ र ? “
त्यतिखेर उसको जवाफ सजिलै खुलेन ।
“निकै बर्षदेखि मेरो नि तौल बढ्न नसकेकाले मलाई नि रहर थियो र सोधेकी नि ? कुन भिटामीनको राज रहेछ भनेर पो त नि ?”
“भिटामीनको सुई लिन थालेपछि त उसक‍ो जीउ मात्र होइन मन पनि फेरिएको रहेछ । उसले निर्धक्कले भनी-
“अचेल त म यति ढुक्क र आत्म-सन्तुष्ट छु । नत्र किन लाग्थ्यो र जीउ ? ” सायद उसले आफ्नो तौल र सौन्दर्यको राज खोल्दै थिई । मैले खुब सोचिरहेँ ।

– कल्लाबारी, पाल्पा ।

Comments
Loading...