लाज पचाएरै बाल दिवस

0 268

गोपालप्रसाद वश्याल
“विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको साझा प्रतिवद्धता” भन्ने मूल नाराको ब्यानरमा आज राष्ट्रिय बाल दिवस मनाइरहेका दृश्यहरू फेसबुकमा देखेपछि मनमा तरङ्ग पैदा भयो । भर्खरै एउटा विद्यालयका प्रधानाध्यापकसँग कुरा भयो । उहाँको विद्यालय रहेको पालिका लगायत नेपालका १० वटा पालिकामा वालवालिकालाई फोन सन्देश (एस्एम्एस्) मार्फत गणित शिक्षणको कार्यक्रम शुरू भएको रहेछ । उहाँहरू विद्यार्थीको घरघरमा पुगेर मोबाइल फोनको उपलब्धताको अभिलेख तयार गर्नु भएको रहेछ । लौ, मैले जान्दिन । हेरेर लेख्नुस् भन्दै मोबाइल थमाइदिने अभिभावक धेरै हुनुहुन्छ । उहाँहरूमध्ये अत्यन्त कम अभिभावकसँग स्मार्ट फोन छ । घरमा एउटा मात्र मोबाइल हुन्छ र अभिभावकले मोबाइल बोक्ने भएकोले बालबालिकाले मोबाइल चलाउन पाएका हुदैनन् । अभिभावकसँग मोबाइल किन्ने क्षमता पनि छैन ।

नेपालमा करिव तिन प्रतिशत बालबालिकामात्र इन्टरनेटको पहुँच र डिटिजल प्रविधिको प्रयोग गरेर अध्ययन गर्न सक्ने क्षमता राख्ने अनुसन्धानले बताएको छ । काठमाण्डौंका सिमित संख्याका निजि विद्यालयमा बाहेक अन्य विद्यालयमा अनलाइन कक्षाशिक्षण नियमित हुन नसकेको तीतो यथार्थता छ । अहिले निजि विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका र सामुदायिकले कुनैपनि कार्य नगरेको भनेर प्रचार गरिएको छ । तथापि केही थोरै निजि वा सामुदायिक विद्यालयमा बाहेक सामान्यतया १०–१५ प्रतिशतमात्र विद्यार्थी अनलाइन शिक्षणमा सहभागि भएको पाइन्छ । सरकारले वैकल्पिक शिक्षाको नाममा अनलाइन, रेडियो, टेलिभिजनबाट शिक्षण, टोल तथा घरघरमा शिक्षणजस्ता विकल्प दिएको छ । कोरोनाभाइरसको संक्रमण बढिरहेको र सुरक्षाका वैकल्पिक उपाय विस्तार नभैरहेको वर्तमान अवस्थामा विद्यार्थी र शिक्षकमा भाइरस संक्रमण भै महामारी फैलने र ठूलो क्षति ब्यहोर्नुपर्ने भएकोले सरकार, सरोकारवाला, शिक्षक, अभिभावक र विद्यार्थीहरूसमेत विद्यालय पुनः सञ्चालन गर्ने वा घर वा टोल शिक्षण गर्ने जस्ता कार्यप्रति तयार देखिएका छैनन् । स्थानीय प्रशासनसमेतले भेटघाटमुलक शिक्षण प्रक्रियालाई अनुमति दिइरहेका छैनन् । हुन पनि एउटा बिरामीमा संक्रमण पुष्टि भएको आधारमा अस्पताल सिल भएका छन् । कुनै पालिकाको सदस्यलाई संक्रमण पुष्टि भएको आधारमा कार्यपालिका र वडा कार्यालयहरूसमेत बन्द गरिएका छन् । बालबालिका र शिक्षकको पनि जीवनरक्षाको चासो हुनु अस्वाभाविक होइन । यसले गर्दा अधिकांश विद्यालयका बालबालिकाहरू घरमै बेकामी भैरहेको अवस्था छ । विद्यालयमात्र नभै उच्च शिक्षा र विश्वविद्यालयीय शिक्षा र शिक्षणसमेत ठप्प छ ।

यसप्रकारको विषम परिस्थितिमा अनलाइन शिक्षण नै सुरक्षित वैकल्पिक शिक्षण विधि हो । तर अनलाइन शिक्षणका लागि आवश्यक साधनहरूको अभाव, विद्युत तथा इन्टरनेट अभाव, र यी विद्युतीय विधि प्रयोग गर्ने सिप शिक्षक, विद्यार्थी र अभिभावकसँग नभैरहेको सत्यतथ्य सबैलाई थाहा छ । विडम्बना अघिल्लो आर्थिक वर्षमै कोरोनाभाइरसबाट बन्दाबन्दी शुरू भएको हो । त्यसपछि संघीय, प्रदेश र स्थानीय तिनवटै तहहरूका बजेट अधिवेशन भैसके र नयाँ आर्थिक वर्ष सञ्चालनमा आएको पनि दुई महिना नाघिसक्यो । तर कुनैपनि तहका सरकारहरूबाट शिक्षण प्रक्रियालाई पुनःसञ्चालन गर्न कुनैपनि बजेट छुट्याइएको छैन । शिक्षामा कोभिड–१९बाट पर्ने असरको व्यवस्थापनका लागि कुनै बजेट विनियोजन नगर्ने सरकारहरूले सिमित संख्याका लागि उठेको भर्ना, शुल्क र शिक्षणको मान्यता दिने कार्यविधिहरू जारी गरिरहँदा ९० प्रतिशत बढि बालबालिकालाई यो कार्यविधिले छुदैन भन्ने हेक्का गर्नुपर्ने थियो । कार्यविधि राम्रो छ । विद्यालयहरू सल्बलाएका छन् । स्थानीय तहहरू कार्यविधि अनुसार जसो मिल्छ त्यसै गर्नुस् भनेर विद्यालयहरूलाई बोझ सारिरहेको गुनासो प्रधानाध्यापकहरूको छ । ओछ्यान ला ओछ्यान ला, दौरा आँफैसँग भन्न थालेका छन् विद्यालयहरूले ।

यसै वीच राष्ट्रिय बाल दिवस मनाइएको छ । यस पटकको बालदिवस ती तमाम बालबालिकाकोमा पुग्न सकेन । अनलाईन पहुँच हुने बालबालिकामात्र कविता लेखे, गीत गाए, वक्तृत्वमा भाग लिए । लाखौं बालबालिका अन्योल र अपहेलित भैरहेको वर्तमान समयमा लाजै पचाएर बाल दिवस मनाइएको छ । सरकारी तथा गैरसरकारी संस्था र हिमचिम मिलाउन सक्ने बुद्धिजिवीहरूका लागि बाल दिवस भब्य नै भयो होला । तर डिजिटल वर्ग विभाजनको शिकारमा परेका आम बालबालिकाहरूका लागि दूर्भाग्यपूर्ण नै रह्यो । हामी प्राप्त गरेको संबिधानले शिक्षा प्राप्त गर्ने मौलिक अधिकार लेखेको यी कमजोर आर्थिक, सामाजिक र प्राविधिका अवस्थाको बालबालिकालाई पनि शिक्षाबाट बञ्चित गर्नुहुदैन भनेर हुनुपर्दछ । तर अप्ठेरो घडीमा पीठ फर्काउनेहरू लाज पचाउँदै भाषण गरिरहेका छन् । यी छुटाइएका र अलग पारिएका बालबालिकाहरूले पनि राहत महसूस गर्ने गरी मनाउन पाइने बाल दिवस आए हुन्थ्यो । मेरो यो अपील भालुलाई पुराण जस्तो नभैदिए हुन्थ्यो । 

(माथिको तस्बिरका रहेका बालक बगनासकाली ७ दैलातुङका बुद्ध बोटे हुन् । उनका बावु आमाको निधन भएपछि उनी र उनकी दिदी हेमा बेसाहारा भएका थिए । उनीहरु बिद्यालय समेत नियमित जादैनथे । यस बिषयको समाचार सामाग्री पाल्पा समाचारपत्रमा प्रकाशन भएपछि पाल्पाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालको सहयोगमा उनीहरुलाई तानसेन स्थित सिलोम बाल गृहमा राखेर पठनपाठनको ब्यवस्था मिलाइएको छ । जिल्लामा गरिबीका कारण बिद्यालय नियमित नजाने र अपांगता भएकै कारण बिद्यालय समेत टेक्न नपाएका बालबालिका पनि छन् ।बाल दिवसले यी बालबालिकाहरुलाई पनि सम्बोधन गर्नुपर्छ । )

Comments
Loading...