लोक गायनबाट सफलतातर्फ पाल्पाली चेली ममता

0 192

यज्ञमूर्ति तिमिल्सिना । पाल्पा
आमा बिष्णु र बावु उमेश कोइरालाको जेठी छोरीको रुपमा तत्कालीन पोखराथोक गाविस पाल्पा (हाल बगनासकाली २) मा जन्मिएकी ममता कोइराला नेपाली लोक दोहोरी गायनमा स्थापित् हुँदै गरेको एउटा नाम हो । आजकल ममताको दैनिकी घरायसी कामसँगै लोक तथा दोहोरीका बिभिन्न कार्यक्रमहरुमा बित्ने गरेको छ । पाल्पामा जन्मेर ममताले गीत संगीत क्षेत्रमा अहिले आफ्नो राम्रो छवि बनाएकी छन् ।

लक्ष्मीको रुपमा कोइराला परिवारमा जन्मेकी पहिलो छोरी थिइन् ममता, त्यसैमा पनि सानैदेखि नै नाच्ने गाउने रमाइलो गर्थिन् । ममताका बावु आमा औधी खुशी थिए । पछि ममताका २ भाई र दुई बहिनी पनि जन्मिए । बिष्णु माध्यमिक बिद्यालयमा कक्षा ४ मा पढ्दा बिद्यालयको तीज गित प्रतियोगितामा ममताको समूहले दोस्रो स्थान हासिल गर्यो । त्यसपछि ममताका बिद्यालयका शिक्षक शिक्षिकाहरुले पनि ममतालाई उत्साह दिन थाले । ममताले राम्रो गीत गाउँछिन् भनेर बिद्यालयमा पनि प्रशंसा हुन्थ्यो । त्यसपछि बिद्यालयमा हुने हरेक कार्यक्रममा ममताले गीत गाउन थालिन्, हरेक प्रतियोगितामा उनले पुरस्कार पाउथिन् ।

त्यतिबेला अहिलेजस्तो गीत सुन्न सहज थिएन । अहिले हरेकको हात हातमा मोवाइल छन्, इन्टरनेट सुविधा छ । एफएम रेडियोमा गीत बजिरहेका हुन्छन् । तर त्यतिबेला घरमा एउटा मात्रै रेडियो थियो रेडियोमा दोहोरी गीत बज्थ्यो । पछि ममताका बावुले टेप रेकर्डर पनि ल्याउनुभयो, क्यासेटमा नयाँ नयाँ गीत सुन्ने क्रम सुरु भयो । रेडियोमा गीत सुन्दा ममतालाई पनि म पछि यस्तै गीत गाउने मान्छे बन्छु भन्ने लाग्थ्यो । घरकी जेठी छोरी भएकोले घरमा खेती किसानीमा, खाना पकाउन, सरसफाई गर्न ममताले सघाउँथिन् । घरायसी काम गर्दा पनि उनी गीत गुन्गुनाइरहन्थिन् ।

ममतालाई सबैभन्दा मन पर्ने गायिका बिष्णु माझी हुन् । बिष्णुका सबै गीत उनलाई खुबै मन पर्छ । पाल्पामै जन्मेका गायक पुष्कल शर्माका गीत पनि ममतालाई मनैदेखि मन पर्छन् । ममताले भनिन् ‘उहाँहरुका गीत सुन्दा मलाई गायिका बन्न, गीत गाउन बढी उत्साह मिलेको हो ।’

२०६१ सालमा ममताको पाल्पाको मुझुंगमा बिहे भयो । श्रीमान बैदेशिक रोजगारीका लागि जाने आउने भएकोले उनको पारिवारिक जिम्मेवारी पनि बढी भयो । उनी असल गृहणीको रुपमा काम गरिन् । त्यतिबेला उनलाई कार्यक्रमहरुमा सहभागी हुने र गीत गाउने संयोग मिलेन । २०६३ सालमा छोरा किरण पनि जन्मिए । २०६५ सालमा छोरालाई पढाउन उनी तानसेनमा बस्न थालिन् । छोरालाई स्कुल ल्याउने लैजाने समय बाहेक दिउँसो समय ढाकाका पर्स र दौरासुरुवाल बनाउने काम गरिन् । उनीमा इन्स्योरेन्समा पनि कामको अनुभव छ । तानसेन बस्न थालेपछि उनी फेरि बिभिन्न कार्यक्रमहरुमा सहभागी हुने, गीत गाउन गर्न थालिन् । यो बीचमा उनी धेरै कार्यक्रमहरुमा सहभागी भइन् । श्रीमानको मेहनत र ममताको लगनशीलताले तानसेनमा उनीहरुले घर पनि जोडेका छन् ।

‘सरले पनि राम्रा गीत गाउन र महत्वपुर्ण कार्यक्रमहरुमा सहभागी हुन रोक्नुहुन्न, उहाँले पनि राम्रो कामका लागि सधै उत्प्रेरणा दिनुहुन्छ, त्यसैले पनि सहज भएको छ ।’ ममताले भनिन् । २०७५ साल जेठ महिनामा पाल्पाको हुमिनमा भएको बस दुर्घटनाको बिषयलाई समेटेर ममताले पहिलो गीति एल्वम् हुमिन दुर्घटना बजारमा ल्याइन् । त्यसपछि बुटवल तानसेन सडक खण्ड अन्र्तगतको सिद्धबाबा सडकको दुर्घटनाग्रस्त क्षेत्रलाई समेटेर कमल भट्टराईसित अर्को गीत गाइन् । २०७५ सालमै बाँसुरी र काँल नामका गीत पनि बजारमा ल्याइन् । त्यस्तै २०७६ सालको तीज पर्वमा दुई वटा तीज गीत गाइन् । यी सबै गीतहरु युट्युव मार्फत सार्वजनिक भएका छन् । सिद्धबाबा सडक सम्वन्धी गीत धेरैले मन पराए ।

उनी गीत गाउँनकै लागि नेपालका बिभिन्न ठाउँहरुमा पुगेकी छन् । भारतको कर्नाल र पञ्जावको पटियालामा भएका कार्यक्रमहरुमा पनि गीत गाउन पुगेकी छन् । ‘अहिले यो संघर्षको समय भएकोले पनि गीत गाएर पैसा कमाउने भन्दा पनि इज्जत र प्रतिष्ठा प्राप्त भएको छ, जसले आगामी दिनमा पनि अझ राम्रा गीतहरु गाउने र अनुशासित भएर यो पेशालाई निरन्तरता दिने योजनामा छु ।’ उनले भनिन् । ममता लोक तथा दोहोरी गीत प्रतिष्ठान, चारतारे युवा क्लव लगायतका बिभिन्न संघ संस्थाहरुमा पनि आवद्ध छन् । आफु थोरै संस्थामा बस्ने र राम्रोसित काम गर्ने ममताको भनाई छ ।

ममताका छोरा किरण अहिले १३ वर्षका भएका छन् । किरण पनि नाच्न खप्पिस छन् । उनी जिल्ला र जिल्ला बाहिरका धेरै कार्यक्रमहरुमा नाच्नकै लागि पुगेका छन् । हालैमात्र चान्समा डान्स कार्यक्रममा ग्रान्ड फाइनल पर्न सफल भए । केही दिन अघि भारतको लखनउमा भएको बिद्यालय प्रस्तुतीकरणमा उनी दोस्रो भएका छन् ।

निकट भविष्यमा चर्चित गायक बिक्रम परियारसितको सहकार्यमा पञ्चेबाजा गीत र बिरेन्द्र कटराईसितको सहार्यमा टिकटक सम्वन्धी गीत बजारमा आउने ममताले बताइन् । पछिल्लो समय लोक तथा दोहोरी क्षेत्रमा धेरै बिकृतिहरु भित्रिएको गुनासो आइरहँदा ममताले भने आफूले संस्कृति झल्किने गीत मात्रै बजारमा ल्याउने बताइन् । ‘जति गीत गाइन्छ, ती गीतले हाम्रो संस्कृतिको संरक्षण र सम्बर्धन गर्न सकुन्, समाजका बिकृति ल्याउने खालेका गीत कहिल्यै गाउँदिन ।’ ममताले भनिन् ।

Comments
Loading...