शहिदहरूप्रति श्रद्धासुमन सहित समर्पित केही मुक्तकहरू

0 104

मुक्तक – १

देश संस्कृति अस्तित्वमा, संकट ल्याउने भूतसँगै
लड्दै जीवन अर्पने वीर, समृद्धिका दूतसँगै
देशले फड्को मार्न सकोस्, सपना साकार पार्न सकोस्
मरे पनि बाँचिरहेका, अमर ती सपूतसँगै ।

गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

मुक्तक – २

शहिदका सपना कुल्चदै तिमी, शहिद दिवश मनाउँछौ किन
देशको लागि मर्ने शहिदका, सपना अधुरै बनाउँछौ किन
शहिदको आत्मा रुवाई यहाँ, शालिकमा फूल माला लगाएर
बर्षमा एकदिन स्वाङ पारि, राष्ट्रभक्ति जनाउँछौ किन ?

– निर्मल रमण पराजुली
सामाखुशी, काठमाण्डौ ।

मुक्तक – ३

अाकाशमा परेवाहरू डराएको देखिन्छ
सहिदहरू सालिकबाट कराएको देखिन्छ
धरामा अझै ताजा छ सहिदको बलिदान
सपनाहरू तुँवालोभित्र हराएको देखिन्छ ।

– शारदा घिमिरे भैल
काठमाण्डौ ।

मुक्तक – ४

आफ्नो परिचय अनि पहिचान देशलाई सम्झियो
सारा इज्जत, प्रतिष्ठा र सम्मान देशलाई सम्झियो
हार्दिक श्रद्धासुमन ती महान शहिद आत्माहरूलाई
जसले बा, आमा शाखा सन्तान देशलाई सम्झियो ।

– कृष्ण असफल

मुक्तक -५

सच्चा राष्ट्रभक्त शहीद हरुमा स-सम्मान सलाम छ ।
हुल्मुलमा ज्यान गएका सहिदलाई राम ! राम छ ।।
कति त गृह कलह दुर्घटना भवितव्यमा पनि परे-
सम्मान गर्न नसकेका सहितलाई दशलाख इनाम छ ।

– भरत आचार्य
पोखरा ।

मुक्तक -६

सहिद दिवस मनाउने भिडलाई सलाम छ
आफू मर्यौ तर जित्यौ जीतलाई सलाम छ
देशको निम्ति ज्यानै आहुति दिने तिनै सपूत
ज्ञात अज्ञात सबै सबै सहिदलाई सलाम छ।

– असन्तुष्ट जलन, दाङ ।

मुक्तक -७

जनताको भावनामा किन ? बारम्बार चोट मात्र दिनुहुन्छ ?
शहिदलाई सम्झिन पनि माघ सोह्र गतेलाई पर्खिनुहुन्छ
तपाईले बुझाउन सक्नु भएन या मैले बुझ्न सकिन,
नेताज्यु,तपाई सहिदको बलिदानलाई कसरी सम्झिनुहुन्छ ?

– कविता घर्ती मगर

मुक्तक -८

अाफ्नो देशको लागि मरेर सहिद भएका हुन्
ज्यानकै बाजी थाप्दै लडेर सहिद भएका हुन्
ताजै छ इतिहास रगतका खाल बगेको अझै
हाँसी खुसी शूलिमा चढेर सहिद भएका हुन् ।

– गणेश बिष्ट बर्षात
अछाम, नेपाल ।

वीर सहिद हरु प्रति श्रद्धा सुमन

मुक्तक -९

अाफू मरे पनि देशकाे स्वाभिमान गुम्न दिएनन्
चार जात छत्तीस बर्णकाे पहिचान गुम्न दिएनन्
त्यसैले त विश्व प्रख्यात छन प्रत्येक नेपालीहरू
अाफ्नै ज्यान फाले तर नेपालकाे सान गुम्न दिएनन्

– दिल भण्डारि दिलिप
शूदूर पश्चिम बैतडी

संकलन : गोम बिक्रम

(तस्विर : बासु क्षितिज अन्नपूर्णपोष्ट)

Comments
Loading...