शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका सवालमा अन्र्तक्रिया सम्पन्न

0 141

पाल्पा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राही बीच अन्र्तक्रिया कार्यक्रम बगनासकाली गाउँपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक पोखराकी कार्यक्रम अधिकृत सवनम शर्माले इन्सेकले संचालन गरेको इएलपि कार्यक्रमबारे जानकारी गराउँदै बगनासकाली ७ खानीगाउँ र ९ चापपानीका शिक्षा, स्वास्थ्य तथा खाद्यअधिकारको अवस्था र समस्याहरुबारे जानकारी गराइन् । उनले यसप्रकारको कार्यक्रमले सेवाप्रदायक र सेवाग्राही बीचको काममा समेत सहयोग पुग्ने बताइन् ।

कार्यक्रमका सहभागीहरुले गाउँपालिकाको शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका सवालमा रहेका सवल पक्ष र सुधार गर्नुपर्ने पक्षहरु प्रस्तुत गरेका थिए । सेवाग्राहीहरुको जिज्ञाशाको जवाफ दिँदै बगनासकाली गाउँपालिकाका शिक्षा संयोजक मणि खनाल, स्वास्थ्य संयोजक मणिराज अधिकारी, कृषि संयोजक सन्तोष जिसी, पशु सेवा केन्द्र चापपानीका प्रमुख अमर कार्कीले सेवाग्राहीहरुको सुझाव अनुसार आगामी कार्यक्रमहरुलाई अगाडि बढाइने बताए ।

कार्यक्तमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले अव स्थानीय तहमा धेरै अधिकारहरु आएकोले स्थानीय तहहरुले लक्षित समुदायमैत्री कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए । सो अवसरमा बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीमगर, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्याल, बरिष्ठ पत्रकार मेघराज शर्मा, गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सिना लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रम मानवअधिकार निगरानी समूह पाल्पाका संयोजक भगवान भण्डारीको अध्यक्षता र इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।

Comments
Loading...