शिवासनमा महायज्ञको तयारी, रिडीमा मेला चल्दै

0 133

पाल्पा । बगनासकाली गाउपालिका–८ बराङ्दीमा रहेको शिवासन धाममा यही माघ २१ गतेदेखि फागुन २ गतेसम्म संचालन हुने शिवपुराण तात्विक ज्ञान महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ ।

महायज्ञका लागि अहिले कर्ता बनाउने र निमन्त्रणा बाड्ने काम भइरहेको मुल आयोजक समितिका संयोजक पण्डित बिष्णु प्रसाद बस्यालले बताए । महायज्ञमा प्रखर बाचक पण्डित श्री नेत्र प्रसाद पराजुलीले शिवपुराण बाचन गर्ने कार्यक्रम रहेको समेत उनले बताए । “अहिले मन्दिरमा महायज्ञका लागि आवश्यक विभिन्न भौतिक निर्माणको काम भइरहेको छ । महायज्ञका लागि मन्दिर र मुल आयोजक समितिका तर्फबाट हुने तयारीहरु तीव्र रुपमा भइरहेका छन् ।” बस्यालले भने ।

महायज्ञमा भागवत बाचनसगै पितृमोक्ष र राष्ट्रशान्तिको कामना सहित ११ करोड दिप प्रज्वलन, ११ लाख महामृत्युञ्जय मन्त्रजप तथा हवन कार्यक्रम, सवालाख गायत्री मन्त्रजप तथा हवन कार्यक्रम, शत् रुद्री पाठ र हवन कार्यक्रम, गोदान बिशेष कार्यक्रम, नवग्रह शान्ति, काल सर्पयोग शान्ति, पितृ दोष शान्ति कार्यक्रम, दैनिक योग प्रशिक्षण, ज्योतिष तथा बास्तु परामर्श, राष्ट्रिय तथा अन्तराष्ट्रिय गुरुबर्गद्वारा ज्ञान प्रवाह तथा समाधान कार्यक्रम, सामुहिक बर्तबन्ध बिवाह, चौरासी, आदि कार्यक्रम समेत रहने धामका अध्यक्ष माधब बस्यालले बताए । यो महायज्ञबाट संकलित रकम धामको गुरुयोजना अनुसारका विकास निर्माणका लागि लगानी गरिने बताउदै अध्यक्ष बस्यालले धामलाई नेपालकै नमुना धार्मिक स्थलको रुपमा अगाडि बढाउने योजना रहेको समेत बताए ।

यता माघे संक्रान्तिको अवसरमा पाल्पा, स्याङ्जा र गुल्मीके संगमस्थल रिडी सहित राम्दी, सेतीबेनी त्रिवेणी लगायतका धार्मिक स्थलहरु र गण्डकी किनारहरुमा मेला लागेको छ । संक्रान्तिको दिन भक्तजनहरुले गण्डकीमा नुहाउने र पुजाआजा गर्ने गर्दछन् । माघे संक्रान्तिकै अवसरमा रिडीमा यस वर्ष ५ दिने बिविध कार्यक्रमको समेत आयोजना गरिएको छ । सोही अवसरमा रिडीमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना भएका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले दैनिक प्रस्तुती समेत राख्दै आएका छन् । यस प्रकारको कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धि भएको र ब्यापार समेत बढेको स्थानीयको भनाई छ ।

Comments
Loading...