सडक पेटी मिच्नेलाई कारवाही के होला ? (सम्पादकीय)

0 158

जिल्ला प्रशासन र प्रहरीको सहकार्यमा तानसेन नगरपालिकाले अहिले सडक पेटी खाली गराउने अभियान चलाइरहेको छ । यो प्रशंसनीय कार्य हो । तानसेनका सडक आफैमा पनि साघुरा छन् । त्यसमाथि मिचिएका छन् । जसले गर्दा सडक साघुरिदै छन् ब्यापारीहरुका पसलहरु फैलिदै छन् । मुख्य बजार मानिएका तेर्सोसडक, सिल्खान, बसपार्क आसपास, भिमसेनटोल, नारायण स्थान लगायतका स्थानका अधिकांश ब्यापारीहरुले सडक पेटी च्याएरै ब्यापार गरिरहेका छन् । यो तानसेनको पुरानो चलन हो । तानसेन नगरपालिकाका नगर प्रहरी सहितको टोलीले केही दिन अघि बजारमा पेटी र सडक कसरी मिचिएको अनुगमन गरेका छन् । उनीहरुले अटेर गर्ने ब्यापारीहरुका सामान समेत बरामद् गरेका छन् । नगरपालिकाले के के सामान बरामद् गरियो भन्नेबारे प्रेस बिज्ञप्ति नै जारी गरि जानकारी गराइसकेको छ ।

हुन त यस्ता अनुगमन र क्षणिक कारबाही पहिले पनि नभएका होइनन् । तर ब्यापारीले अनुगमनकारी फर्केपछि सडकमै सामान राख्छन् । पेटी मिच्छन् । बटुवालाई पैदल यात्रा गर्दा समेत ब्यापारीको सामानमा ठोक्किदै हिड्नुपर्छ । यसपटक प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा यो बैठक भएकोले केही आश गर्न सकिएला । तर हरेक पटक प्रमुख जिल्लाको कार्यालय पेरिफेरि तेर्सो आसपासका ब्यापारीहरुले यहाँको अनुगमनलाई सतही बनाइदिएका छन् । मुल्य सुची नराख्ने, म्याद गुज्रेर पनि बर्षौ बितिसकेका सामान बेच्न भन्दै राख्ने, अनावश्यक मुल्य बृद्धि गर्ने र सडक पेटी च्यापेर ब्यापार गर्नेहरु प्रमुख जिल्ला अधिकारी कार्यालय पेरिफेरिका ब्यापारीहरु रहेका छन् । यसअघिको बजार अनुगमनमा पनि कालो बजारी गर्ने, म्याद गुज्रेका सामान बेचेर उपभोक्ता ठग्दै यही आसपासका ब्यापारी नै थिए । प्रशासनले एकछिन कारबाहीको हल्ला चलायो पछि के कारवाही भयो कसैले पत्तो पाएनन् ।

यो सडक पेटी अनुगमन पनि त्यस्तै अल्छी नहोस् । अनुगमनका लागि अनुगमन मात्रै । सडक साझा सम्पत्ति हो । यसको दुरुपयोग ब्यक्तिले गर्न पाउदैनन् । यो बिषयमा प्रशासन र नगरपालिका आफन्ती, मतदाता र छिमेकी बिर्सेर कठोर भएर अनुगमन गर्नैपर्छ । अहिले पनि ब्यापारीहरुले अनुगमनलाई टेरेका छैनन् । सडक पेटीमा सामान राख्न छोडेका छैनन् । यसले एकातिर सुन्दर नगरीको गरिमा घटाएको छ । अर्कोतर्फ प्रशासन छ है अनुगमन र कारवाही हुन्छ भन्ने ब्यापारीहरुमा कत्ति पनि डर छैन । त्यसकारण कठोर अनुगमन चाहिन्छ । अनुगमनकारीले गल्ती गर्नेहरुलाई चिनेका आफन्ती र साथीभाईको ब्यवहार गर्न थाल्ने हो भने केही पनि परिवर्तन हुँदैन । त्यसैले तानसेनका सडक मिचिएका छन् । मिच्ने र पटक पटक सम्झाउदा पनि नटेर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनैपर्छ ।

Comments
Loading...