सत्यवतीमा चिच्याएर बर लाग्ने मेला लाग्ने

0 19

पाल्पा । चिच्चाएर सत्यवती बज्यैसग बर माग्ने मेला यही कार्तिक १६ गते देखि १८ गते लाग्ने भएको छ । जिल्लाको तिनाउ गाउपालिका वडा नंं.४ कोलडाडा साविकको कोलडाडा गाविस वडा नं. १ र ४ को बीच जंगलमा रहेको सत्यवती तालमा विगतका वर्षमा जस्तै यस बर्षपनि मेलाको तयारी गरिएको छ ।

कार्तिक शुक्ल पुर्णिमा कार्तिक महिनामै परेमात्र यो मन्दिरमा पुजाआजा गर्ने र यहा मेला लाग्ने परम्परा छ । प्रत्येक बर्ष कार्तिक शुल्क त्रियोदशीदेखी पुर्णिमाका दिनसम्म सत्वयती तालमा धार्मिक मेला लाग्ने मंगलवार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सत्वयती बजैको दर्शन गर्न जानेहरु अध्यारो भएपछि तालमा पुग्ने र विहान झिसमिसे उज्यालो नहदै मन्दिर परिसर छोड्नुपर्ने परम्परागत मान्यता रहेको सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिका अध्यक्ष सुनविर गाहाले बताए ।

किंवदन्ती अनुसार सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्चाएर वर माग्ने चलन रहेको हो । जहा पुग्ने हजारौंले एकैपटक चिच्चाएर वर माग्दा जंगलको सुनसान रात गुञ्जँयमान हुने गरेको अध्यक्ष गाहाले बताए । किंवदन्ती अनुसार वर्षौ पहिले एक जना स्थानीय केटो सोही सत्यवती ताल वरपर खेल्दै रहेछ । बिहान पख सोही स्थानमा एक्कासी सत्यवती बज्यै प्रकट भइछन् । एकाबिहानै कहिल्यै नदेखेकी बुढी आईमाई देखेपछि केटो डराएछ र अत्तालिएछ । पछि सत्यवती बज्यैले केटोलाई नआत्तनु भन्दै अगाडि भनिछिन् “म सत्यवती बज्यै हुँ प्रत्येक वर्ष यसै समयमा म यही स्थानमा आउँनेछु । तिमी र मेरो यसरी भेट भएको भन्ने कुरा कसैलाई नबताउनु यदि तिमीले मैले भनेको मान्यौ भने तिमीले आटेका जति सबै इच्छा मैले पूरा गरिदिनेछु । यदि झुक्किएर पनि कसैलाई यो कुरा बतायौं भने तिम्रो मृत्यु हुनेछ ।”

पछि सोही केटोले सत्यवती बज्यैसगको भेटको कुरा घरमा पुगेर बेलीबिस्तार लगाएछ र लगत्तै उक्त केटोको मृत्यु भएछ । यही किंवदन्तीको आधारमा प्रत्येक वर्ष सोही स्थानमा मेला लाग्दै आएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक खण्डको चर्चरेबाट २ घण्टाको पैदलबाट पुग्न सकिने सत्यवती मेलामा यस वर्ष पनि पाल्पा लगायत गुल्मी, रुपन्देही, अर्घाखाची लगायतका जिल्लाका दशनार्थीहरु आउने गर्दछन् । खासगरि पहिले बर मागेर आफ्नो भाकल पूरा भएकाहरुले खुशीयालीमा पाठो, कुखुरो काट्ने र परेवा उडाउने प्रचलन छ भने नया बर माग्नेहरुले सत्यवती ताल परिक्रमा गर्दै चिच्याएर बर माग्ने प्रचलन रहदै आएको छ । जानकारहरुका अनुसार सम्भवत चिच्चाएर वर माग्ने यो नेपालकै एकमात्र धार्मिक मेला हो । यद्यपी यसवारे यथेष्ट प्रमाण भने भेटिएको छैन । दर्शन गर्न जाने भक्तजनहरुले सत्यवती वजैको लागि परेवा र बोकाको वली दिने परम्परा छ तालमा दर्शन गर्न पाल्पा सहित छिमेकी जिल्लाहरु गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, काठमाडौ, पोखरा लगायत जिल्ला र लगायत भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट पनि भक्तजन आउने तिनाउ गाउपालिका प्रमुख ओम बहादुर घर्तीले बताए । उनले यसलाई यस क्षेत्रकै ठूलो धार्मिक मेला मान्न सकिने बताए ।

सत्यवती ताल तथा मन्दिरमा पुग्नका लागि साघुरो मोटरबाटो भएकाले यसवर्ष सडक निर्माण गर्न ३० लाख बजेट विनियोजन गरेको घर्तीले बताए । प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले यस प्रकारको मेलाका कारण जिल्लाको प्रचार प्रसार भई धार्मिक पर्यटन समेत बृद्वि हुने भएकोले यस्ता मेलाहरुलाई अझ व्यवस्थित रुपमा संचालन गर्नुपर्ने बताए ।

Comments
Loading...