सधैका ओके लोकप्रिय छन् ओकेबाजी

0 52

पाल्पा । एउटा जापानी ब्यक्ति आफ्नो गाउँमा आइपुग्दा २० वर्षअघि पूर्वी पाल्पाको जल्पा गाविसका सर्वसाधारणहरु आश्चर्यमा परेका थिए । मगर समुदायको मात्रै बसोवास रहेको गाउँमा मोटर थिएन । स्कुल जानुपर्छ भन्ने चेतना समेत राम्रो गरि सर्वसाधारणलाई थाहा थिएन । त्यसैले अधिकांश बालबालिकाहरुले गाईबाख्रा चराएर घरायसी काम गरेर र हिलो धुलोमा खेलेर समय बिताउँथे ।

जापानको टोकियो स्थित एक उच्च माविमा २३ वर्ष अध्यापन गराएपछि आफ्नी श्रीमतिसित पारपाचुके गरि २०५० सालमा नेपाल आएका काजुमासा काकिमी नेपाल आएका बेला स्थानीय युवा तिलक आलेको सहयोगमा सदरमुकाम तानसेनबाट झण्डै ५० किलोमिटर पूर्वको जल्पा गाविसको ढोलीमारा गाउँमा पुगेका थिए । नेपाली भाषा फिटिक्कै नजान्ने कासुमासालाई ढोलीमारा गाउँको परिवेश बिल्कुलै फरक लाग्यो । गाउँमा पहिलोपटक नौलो मान्छे दखेका गाउँलेहरुमा पनि नौलो पनको महशुस भएको थियो ।

काजुमासाले तिलककै घर छेउमा पाल टाँगेर बस्न थाले । उनी पैदलबाटै गाउँ गाउँमा पुग्नुभयो त्यतिबेला गाउँलेहरुले उनलाई कतै जासुस त हैन भनेर अड्कल काट्न समेत भ्याए । काजुमासाले गाउँ बस्तीमा उनले समस्यैं समस्या देखे र मूख्य मूख्य समस्यालाई समावेश गरि चिठ्ठी लेखेर जापानका आफ्ना साथीहरुलाई पठाए । जापानमा रहेका काजुमासाका साथीहरुले केही रकम पठाइदिए र उनले समाजसेवाको काम सुरु गरे । पछि उनको कामको देश बिदेशमा चर्चा हुन थालेपछि जापानका धेरै सामाजिक संस्थाहरुले आर्थिक सहयोग पठाइदिन थाले र ओकेबाजीले आवश्यकता हेरी सहयोग गर्न थाले । जुन काम अहिले पनि उही गतिमा जारी छ ।

गाउँलेहरुले जे भन्दा पनि ओके ओके भन्ने भएकोले नै पछि गाउँलेहरुले उनको नाम ओकेबाजी राखिदिए । उनी गाउँमा पुग्दा गाउँलेहरुले मगर भाषामा बाजीराहा अर्थात् बाजी आउनुभयो भन्न थाले । अहिले ओकेबाजीको समाजसेवाको जालो जिल्लाभर फैलिएको छ । ओकेबाजीले पाल्पाको शैक्षिक, सामाजिक, खेलकुद, स्वास्थ्य क्षेत्रको बिकास बिकासका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । पाल्पाका बिभिन्न गाउँ बिकास समितिहरुका बिद्यालयहरुको भवन निर्माण, क्लवहरुको भवन निर्माण, गरिव तथा बिपन्न समुदायका बालबालिकाहरुको शैक्षिक बिकास र खेलकुद क्षेत्रको बिकास र स्वास्थ्य क्षेत्रको बिकासका लागि ओकेबाजीको महत्वपूर्ण सहयोग रहँदै आएको छ ।

उनकै सहयोगमा अहिले जिल्लाका २ सय बढी बिद्यालयहरुमा पक्की भवन बनेका छन् । सयौ बालक्लवहरुले क्लवको भवन बनाई रचनात्मक काम गर्दै आएका छन् भने पढाईप्रति रुचि भएर पनि आर्थिक अभावले पढ्न नपाएका बालबालिकाहरुले समेत ओकेबाजीकै सहयोगमा उच्च शिक्षा हासिल गरेका छन् । त्यस्तै गरिव तथा विपन्न समुदायका ब्यक्तिहरुले सहज रुपमा स्वास्थ्य सुविधा लिएका छन् । सुरु सुरुमा ओकेबाजी गाउँमा आएर बस्दा जासुस आयो भनेर शंका गर्नेहरुले समेत यतिबेला ओकेबाजीलाई भगवान सावित मान्दै आएका छन् ।
उनले जापानमा रहेका सामाजिक तथा युवा क्लवहरुले थोरै थोरै गरि संकलन गरेको रकम नेपाल ल्याएर समाजसेवाको क्षेत्रमा लगानी गर्दै आएका छन् ।

Comments
Loading...