सबैका घर टल्किने बनाउने अभियानमा तिनाउँ

0 217

पाल्पा । तिनाउँ गाउँपालिकाले फुसको छानो विस्थापन गर्ने कार्यक्रम अन्तर्गत गाउँका विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको छ ।
गाउँपालिकाका विपन्न परिवारको आर्थिक अवस्था हेरेर फुसको छानोमा आगोलागी तथा हावाहुरीको समस्या हुने भएकाले उनीहरुलाई कर्कट पाताको घर छाउनको लागि गाउँपालिकाको फुसको छानो हटाउने कार्यक्रम अन्तर्गत जस्तापाता वितरण गरिएको गाउँपलिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।

गाउँपालिका भित्रका ५६ घर परिवारलाई ३ वण्डलका दरले जस्तापाता वितरण गरिएको हो । यस वर्ष २० लाख बजेट विनियोजन गरेका थियौ, अध्यक्ष घर्तीले भने हाम्रो गाउँपालिकामा करिब ४ सय घर फुसका छाना भएका छन्, उनीहरुलाई पनि अर्को वर्षको बजेटबाट फुसको छानो विस्थापनको लागि सहयोग गरेर फुसको छानो रहित गाउँपालिका बनाउने अभियानमा लागेका छौं ।

गाउँपालिकामा रहेका विपन्न परिवारलाई आर्थिक स्तर उकास्ने कार्यक्रम सहित प्रदेशबाट समेत विभिन्न खालका कामको सुरुवात गरिएको प्रदेश सांसद तुलाराम घर्तीले बताए । उनले आफ्नो निर्वाचन क्षेत्रभित्रका गाउँहरुमा आयस्तर वृद्धि, सडक, खानेपानी लगायतका क्षेत्रमा आफूले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रम अगाडि बढाएको बताए ।

यस वर्ष गाउँपालिकाले दलीत तथा विपन्न परिवारलाई छनौट गरेर वितरण गरेको र आगामी वर्षमा समेत यस्तो कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष घर्तीले बताए । कार्यक्रममा वडा अध्यक्ष राजेश श्रेष्ठ, प्रेम पाण्डे, प्रशासकीय अधिकृत ज्ञानु पनेरु, पत्रकार महासंघ पाल्पाका सहसचिव कृष्ण कार्की लगायतको सहभागिता रहेको थियो ।

Comments
Loading...