समुदाय समक्ष अदालत

0 689

पाल्पा । जिल्ला अदालतका न्यायाधीशसहितको टोली आफ्नै गाउँघरमा आएर न्याय लिन अदालत आउन आग्रह गरेपछि माथगढी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय उत्साहित भएका छन् ।

गाउँमा ‘समुदाय समक्ष अदालत’ कार्यक्रम लिएर जिल्ला न्यायाधीश शंकरराज बराल पुग्दा स्थानीयवासी र जनप्रतिनिधिले प्रश्न राखेका हुन् । अदालतले प्रदान गर्ने सबै सेवा सुविधा र कानुनी ज्ञानबारे जानकारी दिन न्यायाधीश बराल सहितको टोली गाउँ पुगेको हो ।जिल्ला अदालत, सरकारी वकिल कार्यालय र माथागढी गाउँपालिकाले समुदायलाई अदालतको ज्ञान दिने कार्यक्रम आयोजना गरेका हुन् । अदालतका स्रेस्तेदार कृष्ण मुरारी सिग्देलले जनतासँग निकट हुँदै जनतामा अदालतप्रतिको आस्था र विश्वास बढाउन जनताको घरदैलो आएको बताए । कार्यक्रममा न्यायाधीश बरालले अदालतलाई हाउगुजी हो भन्ने र न्यायाधीशप्रति डर, त्रास रहेकाले यसलाई हटाउन गाउँका जनतासमक्ष आफैं सहभागी हुन आएको बताए ।

पहिलोपटक गाउँ आएका न्यायाधीशको टोलीलाई स्थानीयवासीले न्याय र कानुनसम्बन्धी विभिन्न जिज्ञासा राखेको माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । सर्वसाधारणले अझै जनता अदालत जान डराउने गरेको न्यायाधीशसमक्ष गुनासो गरेको माथागढीकी न्यायिक समितिका संयोजक तथा उपाध्यक्ष निर्मला भट्टराईले बताईन् । धेरैले बालविवाह, बहुविवाह, नाताप्रमाणित, मोहीको समस्या, ऐलानी जग्गामा सुरक्षित बासस्थानलगायत विषयमा जिज्ञासा राखेका थिए । सर्वसाधारणले राखेका सवालको न्यायाधीश बरालले जवाफ दिँदै अदालतप्रति लाग्ने आरोप सुधार गर्न गाउँमा आएको बताए । स्रेस्तेदार सिग्देल, तहसिलदार भेषराज खनाल, जिल्ला बार एकाइका नारायण ज्ञवाली, गीता शर्मा, पत्रकार माधव अर्याल समेतको टोली गाउँ पुगेको हो ।

Comments
Loading...