सम्पूर्ण मजदुरहरुप्रति हार्दिक सम्मान गर्दै समसामयिक मजदुर बिषयक केही मुक्तकहरू
मुक्तक १
भोको पेटले काम कसरी गरिन्छ र मालिक
मै भोको छु परिवारको पेट कसरी भरिन्छ मालिक
थिचोमिचो गरी आफ्नो मात्र दुनो सोझ्याउन खोजेर
दिन्छु सुविधा भनी आँखामा धुलो छरिन्छ मालिक ।
✍के.बि. पारखी
स्याङ्जा, हाल जापान ।
मुक्तक २
उसमा जिन्दगी बनाउने आशा भरपुर थियो,
र त, परदेशिएको एउटा गाउँले मजदुर थियो,
कोरोनाले दुनियाँ ठप्प छ र आज श्रमिक दिवस
ऊ खाडीको मजदुर काम मा जान मजबुर थियो ।
✍संजय को सिर्जना
चितवन, पर्सा ।
मुक्तक ३
विकासको लागि फोडेर पहरा उत्सव मनाउनुछ
कर्मवीर नेपाली हुँ यसैगरी पहिचान जनाउनुछ
मजदुर हुँ हरेक दिन खेल्छ मालिक मेरो भावनासँग
तर मैले भने पसिनामा माटो मुछेर देश बनाउनुछ ।
✍मीना चौलागाई
काभ्रे पाँचखाल न.पा. ६
हाल काठमाण्डौ ।
मुक्तक ४
पूल बनाउने हैन सधैं उद्घाटन गर्नेलाई ठूलो गन्छौ
हामी यदि पढिनस् भने काम गरेर खानु पर्ला भन्छौ
कठै१ हामीले कहिले श्रमलाई भगवान मान्न सकेनौ
यस्तो दरिद्र सोचले विकासको जग कहिले खन्छौ ।
सूर्य खत्री घायल
हाल द. कोरिया ।
मुक्तक ५
दिनरात नभनी श्रम गर्यो, जिन्दगी कहिल्यै पार भएन
हुने खाने नै अगाडी बढे, हुँदा खानेको सार भएन
जनता सधै उहीँ हालमा, नेतृत्व सधै उहीँ तालमा
दुनियाँ छरिए आश्वासन, तर सक्कली व्यवहार भएन ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
मुक्तक ६
किन त्यसै रमाउँछौं हामी श्रमिक दिवस भनेर,
फगत झण्डा समाउँछौं हामी श्रमिक दिवस भनेर,
कहिले भारी नबोक्ने नेताहरू पसिनाको कुरा गर्छ,
सस्तो नाम कमाउँछौं हामी श्रमिक दिवस भनेर ।
✍पेमा टि लामा
दार्जिलिङ्ग, भारत ।
मुक्तक ७
कहाँ छन् ती सरसामानहरू जोर्न सक्छन्
अवरोध दिने हर चीजहरू फोर्न सक्छन्
मजदुरका पाखुराहरुमा दम हुन्छ त्यसैले
साहस झिक्छन् देशको भाग्य कोर्न सक्छन् ।
✍शारदा पौडेल निशा
चितवन नेपाल ।
संकलन गोम बिक्रम