सानाहुँगी माविमा आगामी वर्षदेखि ११ कक्षा संचालन हुने
एवत कुमार सारु । (रम्भा) पाल्पा
सानाहुँगी माध्यमिक विद्यालयमा आगामी वर्ष देखि कक्षा ११ संचालन हुने भएको छ । रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटमा अवस्थित सानाहुँगी माध्यमिक विद्यालयमा कक्षा ११ संचालन भए पछि यस भेगका विद्यार्थीलाई सजिलो हुने भएको छ । हिजो भएको बालमैत्री विद्यालय घोषणा कार्यक्रममा सहभागीहरु बाट ११ कक्षा संचालन गर्ने विषयमा एकमत भई प्रक्रिया अघि बढाउने आम सहमति भएको छ ।
रम्भा गाउँपालिकाको बालमैत्री विद्यालय बनाउने अभियान अन्तर्गत विद्यालयले तोकेको मापदण्ड पूरा गरेकोले विद्यालयलाई बाल मैत्री विद्यालय घोषणा गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा अध्यक्ष उमानसिं सारु, श्रोत व्यक्ति काशीराम बस्यालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सारु, प्रधानाध्यापक एवत सारु तथा बालक्लब अध्यक्ष तीर्थबहादुर पाडेलाई बालमैत्री विद्यालयको प्रमाण पत्र प्रदान गरे ।
कार्यक्रममा प्रमुख अतिथि विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, श्रोत व्यक्ति काशीराम बस्यालले बालमैत्री व्यवाहार, बाल सहभागीता, बाल अधिकार, बाल संरक्षण जस्ता विषयमा विद्यालयले सदैव बालमैत्री व्यवहार गर्नु पर्ने कुरामा जोड दिए । श्रोत व्यक्ति काशीराम बस्यालले कक्षा ११ संचालनका विधि, तरिका, पूर्वाधार, तयारी, नियमकको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सारुले आफ्ना स्वर्गीय पिता लालबहादुर सारुको स्मृतिमा कक्षा ११ संचालनको लागि ५० हजार रुपिया सहयोग गर्ने घोषणा गरे । सोही कार्यक्रममा शंकर नरेश प्राथमिक विद्यालयलाई समेत बालमैत्री विद्यालय घोषणा गरिएको थियो । रम्भा गाउँपालिकामा रहेका ४२ वटा विद्यालय मध्ये २७ वटा विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थाप समितिका भूतपूर्व अध्यक्ष जीतबहादुर गाहा, टेकबहादुर राना, शोभा सारु लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रम शिक्षक कृष्ण पन्थीको संचालन तथा बाल क्लब अध्यक्ष तिर्थबहादुर पाडेको अध्यक्षतामा चलेको थियो ।