सामाजिक कार्यकर्ताको पहलमा खानीगाउँ माविका बिद्यार्थीलाई न्यानो स्वीटर बितरण

0 313

पाल्पा । चिसो मौसममा न्यानो स्वीटर पाउँदा बगनासकाली गाउँपालिका वडा नं. ७ खानीगाउँ रामबगैचाका बिद्यार्थीहरु खुशी भएका छन् ।

अमेरिकी नागरिक ६८ बर्षीय पउल थम्सनको सहयोगमा यो बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई एक कार्यक्रमका बीच न्यानो स्वीटर बितरण गरिएको छ । होम स्टे एसोसिएसनका केन्द्रीय उपाध्यक्ष तथा होराइजन होम स्टेका संचालक धनीश्वर बस्यालको पहलमा उक्त सहयोग प्राप्त भई स्वीटर बितरण गरिएको हो ।

थम्सनकै सहयोगमा बिद्यालयमा अध्ययनरत ४५ जना बिद्यार्थीहरुलाई अघिल्लो बर्ष न्यानो स्वीटर बितरण गरिएको थियो भने बाँकी ७७ जना बिद्यार्थीहरुलाई अहिले न्यानो स्वीटर बितरण गरिएको हो ।

बिद्यालयका बिद्यार्थीहरुलाई होम स्टे ब्यवसायी धनीश्वर बस्याल, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रेश्मीराज गैरे, बिद्यालयकी प्रधानाध्यापक कल्पनाकुमारी भुसाल, इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना लगायतले स्वीटर बितरण गरे ।

कार्यक्रममा होम स्टे ब्यवसायी बस्यालले अमेरिकाबाट नेपाल घुम्न आएका थम्सनले आफ्नो देश फर्केर पनि पाल्पाको गाउँका यी बालबालिकाहरुलाई सम्झेर सहयोग पठाउनु ज्यादै सराहनीय कार्य भएको बताए । उनले उक्त सहयोगबाट बिद्यार्थीहरुमा अझ मेहनत गरेर पढ्ने जागर बढ्नुपर्ने बताए ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रेश्मीराज गैरेले बिदेशमा रहेर पनि गरिव तथा बिपन्न समुदायका बालबालिकाहरुलाई सम्झेर सहयोग पठाउने सहयोगी ब्यक्तित्व थम्सनप्रति हार्दिक धन्यवाद ज्ञापन गरे । कार्यक्रमकै अवसरमा सहभागी सबै बिद्यार्थीहरुलाई थम्सनकै सहयोगमा दिवा खाजाको समेत ब्यवस्था गरिएको थियो ।

करिव देढ बर्ष अघि नेपाल घुम्न आएका थम्सन पाल्पा पनि आएका थिए र सोही क्रममा उनले पाल्पाको कुनै बिद्यालयमा पुग्न इच्छा ब्यक्त गरेपछि होमस्टे ब्यवसायी धनीश्वर बस्यालसँगै उनी खानीगाउँ माविमा पुगेका थिए । सोही क्रममा बिद्यालय र बिद्यार्थीहरुको आर्थिक सामाजिक अवस्थाबारे समेत थम्सनले जानकारी लिएका थिए ।

Comments
Loading...