सामुहिक तरकारी खेतीले चम्कियो हेक्लाङको खुमडाँडा

0 35

यादवराज पोखरेल । पाल्पा
पूर्वी पाल्पाको पूर्वखोला गाउँपालिका ६ हेक्लाङ खुमडाँडाका किसान मकै खेती छोडेर सामुहिक खेतीबाट जिविकोपार्जन गर्न सुरु गरेका छन् । निर्वाहमुखी खेती किसानी छाडेर उनीहरू सामूहिक तरकारी खेती तर्फ उन्मुख भएका हुन् ।

पछिल्लो समय पुर्वी क्षेत्रका कृषक बर्षौदेखि गर्दै आएको मकै खेती गर्न छाडेर सामूहिक रुपमा बेमौसमी तरकारी खेती बन्दा, काउली, गोलभेडा, खुर्सानी, अदुवा खेती गर्दै आएका छन् । हेक्लाङ खुमडाडाका स्थानीय २८ घरधुरीले पन्ध्र हजार बन्दाको बिरुवा रोपेर सामूहिक रुपमा व्यवसायिक तरकारी खेती सुरु गरेका थिए । अहिले १५ रोपनीमा बिभिन्न तरकारीहरु लगाएको समूहका अध्यक्ष जित बहादुर रानामगरले बताए ।

मलेसियामा १० बर्ष बसेर आएका जित बहादुर रानाको योजनामा सामुहिक कृषि गर्ने कार्य सुरुवात भएको हो । उनलाई वडा अध्यक्ष मन बहादुर सारु, कुवेत बसेर आएका बिरेन्द्र घर्ती, मलेसिया बसेर आएका डम्बरसिं घर्ती, मलेसिया बसेर आएका शेरजंग सारुले साथ दिएका छन् ।

१५ रोपनी क्षेत्रफलमा खुमडाडाका २८ घर परिवारका २८ जनाले सुरुमा प्रति घर १ हजार ५ का दरले रकम संकलन गरि कानुङ खुमडा“डा कृषि समूह सुरु गरेका हुन् । बार्षिक १ लाख ८० हजार तिरेर जग्गा लिजमा लिएर ब्यावसाय शुरु गरिएको हो ।

मलेसियामा १० बर्ष कृषि क्षेत्रमै काम गरेका रानाले आफुले त्यहाँ सिकेको सिपलाई आफ्नो गाउँमा प्रयोग गर्न सकेकोमा खुशी ब्यक्त गरे । “म १० बर्ष बिदेशमा काम गरि मासिक जम्मा पच्चिस हजार कमाउथे मेरो पसिनाले मालिक अर्वपति बन्यो तर मैले त्यहा कमाएको पैसाले केहि गर्न सकिन” रानाले भने, । हामी त्यहाँ कम्पनीमा २५ जना थियौं यहा झन २८ जना छौ, सबै मिलेर गर्दा हामीले प्रति ब्यतिm ५० हजार आराम सग घरको खाएर कमाउन सक्छौं । उनले एक बालीबाट कम्तिमा ४० लाख आम्दानी हुने बताए । बर्षमा कम्तीमा ३ देखि ४ बाली हुन्छ त्यसबाट एक करोड भन्दा धरै आम्दानी हुन्छ,उनले भने ।

अहिले सिर्जना जातको टमाटरको खेती छ । यो बाली भन्दा पहिला बन्दा गोवी लगाइएको थियो । २८ घरका कृषक बिहान १० देखि बेलुकी ५ बजे सम्म दैनिक काम गर्ने गरेका छन । दैनिक हाजिर गर्ने ब्यवस्था छ । कसले कति समय काम गरेको छ भनेर दैनिक हाजिरी गरिन्छ । २८ जना मध्यका एक तोमान सिंह सारुले घण्टा घण्टाको रेकर्डनै राखेर हिसाव किताव र नाफा घाटा बिनियोजन गर्ने बताए ।

समुहले बजारमा बेच्न लैजाने, बिउ विजन उत्पादन गर्ने, सिंचाइ गर्ने, ब्यवस्थापकीय काम गर्ने, लगायतका जिम्मा पनि छुट्याएको छ । उत्पादित तरकारी रामपुर तानसेन आर्यभञ्ज्याङ र बुटवल निर्यात गरिन्छ । आर्थिक वर्ष २०७५,०७६ मा १० लाख बरावरको कारोवार भएको अध्यक्ष रानाले बताए ।

पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले समुहगत रुपमा खुमडाँडा निवासी कृषकले गरेको तरकारी खतीले आफुहरु प्रभावित भएको बताए । यो खेतीका लागि गाउँपालिकाले पनि आवश्यक सहयोग गरेको छ । जिल्ला बन कार्यालयको १ गाउ १ पोखरी कार्यक्रम अन्र्तगत ४ लाख रुपैया र पूर्वखोला गाउँपालिकाको थप २ लाख गरि ६ लाखको पोखरी समेत बनेको छ । कृषि ज्ञान केन्द्रबाट प्राप्त ६ लाख रुपैयाँले टनेल बनाइएको छ । वडा र गाउँपालिकाबाट गरि १६ लाखको लगानीमा संरचना बनेको छ । वडाअध्यक्ष मन बहादुर सारुले सामुहिक खेती मार्फत सामुहिक भावनाको विकास भएको बताए । यो सामुहिक तरकारी खेतीले देशमै एउटा सामुहिकताको रचनात्मक सन्देश दिने भएकोले पनि यसको महत्व रहेको स्थानीय समाजसेवी गंगा बहादुर सारुले बताए ।

Comments
Loading...