सुकेतालमा महोत्सव हुँदै

0 88

भुवन कार्की । रूपन्देही
आन्तरिक पर्यटनको विकासको लागि पाल्पाको दोभानमा सुकेताल महोत्सव गरिनेभएको छ । रुपन्देहीको छिमेकी गाउपालिका पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित सुकेताल गाउँमा यही माघ ५ देखि ७ गतेसम्म चौंथो सुकेताल महोत्सव गरिने आयोजकले जनाएका छन् ।

सुकेताल विकास समितिले बुधबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष पदम गाहाले भने, ‘सुकेताल महोत्सवको मुख्य उद्देश्य आन्तरिक पर्यटनको विकास हो, महोत्सवमा विविध कार्यक्रमहरु समेटिएका छन् ।’ होमस्टे समेत सञ्चालन गरिएको सुकेताल ग्रामीण पर्यटनको केन्द्र बन्दै गएको गहाले बताए । यहाँ रहेको सानो तालबाट ३ किलोवाटको विद्युत निकालिएको छ । साविक दोभान गाविसको उच्च भेगमा अवस्थित सुकेताल गाउँका चारवटा घरमा होमस्टे सञ्चालन गरिएपछि यहाँ धेरैजासो आन्तरिक पर्यटक आउने समितिले जानकारी दिएको छ ।

पाल्पाको सदरमुकाम तानसेनदेखि ३४ किलोमिटर दक्षिण तथा रुपन्देहीको बुटवलदेखि ५ किलोमिटर उत्तरमा पर्ने दोभानको सुकेतालमा यसअघि पनि तीन पटक महोत्सव गरिएको तिनाउ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । वि.सं. २०६५, ६७ र ७३ सालमा पनि सुकेताल महोत्सव गरिएको थियो । यसपटक हुने महोत्सवमा दश हजार मानिसले अवलोकन गर्ने र बीस लाख रुपैयाँ बराबरको आर्थिक कारोबार समेत हुने अपेक्षा लिइएको श्रेष्ठले बताए । महोत्सव अवधिमा तालमा डुंगा सयर गर्न सकिने, लघुविद्युतको अवलोकन, स्थानीय सिद्ध गुफाको अवलोकन, स्थानीय उत्पादनका परिकार खान तथा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएकोले सबैलाई अवलोकनका लागि श्रेष्ठले आग्रह गरे ।

बिचभागमा शिव मन्दिर समेत रहेको आकर्षक ताल हेर्न र होमस्टेमा बसेर स्थानीय परिकार खान खासगरी तराईका मानिसहरु सुकेताल पुग्ने गरेको दोभान एकीकृत पर्यटन विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले उल्लेख गरे । उनका अनुसार गत आर्थिक वर्षमा मात्र २५ सय जना पर्यटकले यहाँको अवलोकन गरेका थिए । कार्यक्रममा दोभान वन समन्वय समितिका उपाध्यक्ष कृष्ण रेग्मी, होटल व्यवसायीहरु माधव नेपाल, समुद्र जीसी लगायतले बोल्दै महोत्सवले ग्रामीण पर्यटनको विकासमा सघाउ पुग्ने विश्वास ब्यक्त गरे । मगर समुदायको बस्ती रहेको यस सुकेताल गाउँमा करिव ६५ घरधुरी छन् । पर्यटनसंगै कृषि र उद्योगको समेत विकास गरी रोजगारी सृजान गर्न महोत्सवले सहयोग गर्ने आयोजकको अपेक्षा छ ।

Comments
Loading...