सुन्दर बन्यो रामपुरको तालपोखरा

0 145

सिर्जना घिमिरे
रामपुर(पाल्पा) । पूर्वी पाल्पाको रामपुर नगरपालिका–६ मा रहेको तालपोखराका कारण रामपुरको सुन्दरता थप बढेको छ ।
पोखरा फेवातालको झल्को दिने गरि निर्माण गरिएको तालपोखरा निर्माण कार्य पुरा त भएको छैन र तर यसको आकर्षण भने सबैतिर बढेको छ । पहिले बर्षातको समय पानी जम्मा भएर ताल बन्ने क्षेत्रबाटै तालपोखरा नामाकरण भएको तालपोखरामा अहिले त्यसलाई विकसित गरि पानी जम्मा गरि तालको बीचमा मन्दिर निर्माण भएपछि पर्यटकहरुलाई आकर्षण गरेको छ ।

पानीले भरिएको पोखरीको बीच भागमा प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको र अवको केहि समयमा नै मन्दिर भित्र भगवान शिवको मुर्ति प्रतिस्थापन गरिने तथा तालमा डुङगा सयर गराउने योजना रहेको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले बताए । समितिका अध्यक्ष देवराज देवकोटाले फेवातालजस्तै पर्यटकलाई भित्र्याउने योजनाका साथमा तालपोखरामा महायज्ञ गरेर आर्थिक जुटाउने परिकल्पना गरेर यसको विकासमा लागेको बताए । २०६६ पुष ११ गते श्रीमद्भागवत् ज्ञान महायज्ञ तथा धनधान्याञ्चल महायज्ञको आयोजना गरी आर्थिक संकलन गरेर तालपोखराको विकासमा लागेको हो । करिव १ करोड ५० लाखको हाराहारीमा आम्दानी समेत भएको संरक्षण समितिका सल्लाहकार सागरप्रसाद देवकोटाले बताए ।

तालपोखरामा अहिलेपनि ताल, तालको विचमा रहेको मन्दिर, ताल नजिकै रहेको पार्क, शिव भगवानको मुर्तिमा फोटो खिच्ने तथा फर्कनेको अहिले पनि उत्साह उस्तै छ । तालपोखराको तालकोे पानी फ्याकेर तालको तल्लो भागको व्यवस्थापन गरी कालीगण्डकीबाट पानी लिफ्टीङ गरी तालमा पानी भरिने, तालमा डुङगाबाट मन्दिरको दर्शन गर्न सकिने तालको किनारमा चौविसै घण्टा उज्यालोको लागि विद्युतको व्यवथापन, तत्काल मन्दिरमा मूर्ति प्रतिस्थापन गरिने समितिले जनाएको छ । पाल्पाको श्रीनगर डा“डा, रानीमहल, ऋषिकेश, सत्यवती मन्दिर, लगायत थुप्रै धार्मिक एवम् पर्यटकीय स्थल रहेकोमा पाल्पाको रामपुरमा तालपोखराले पनि पर्यटक भित्र्याउन सहयोग पु¥याउने स्थानीयको बिश्वास छ ।

Comments
Loading...