स्वः गैरेको परिवारलाई पाल्पाली सेवा समाज कतारले सहयोग रकम पठायो

0 1,521

पाल्पा । तानसेन नगरपालिका वडा नं ६ बर्तुङका स्वःनारायणप्रसाद गैरेको परिवारलाई पाल्पाली सेवा समाज दोहा कतारले सहयोग रकम पठाएको छ ।

१ महिना अघि गैरेको दुबै मृर्गौला फेल भएपछि उनको उपचारका लागि आर्थिक अभाव भएको खबर थाहा पाएपछि समाजले कतारमा उनको उपचार सहयोगार्थ रकम संकलन अभियान चलाएको थियो । उनको उपचारकै क्रममा यही कात्तिक १८ गतेको निधन भएको थियो ।
कतारमा रही सामाजिक अभियानको नेतृत्व गर्दै आएका सफल ब्यवसायी तथा समाजका अध्यक्ष महल बहादुर केसीको नेतृत्वमा रकम संकलन अभियान चलाइएको थियो । जुन अभियानमा समाजका सल्लाहकार, पदाधिकारी, सदस्य,सहित सहयोगी ब्यक्तिहरुको साथ रहेको थियो ।

समाजले कतारमा रहेका बिभिन्न ब्यक्तिहरुबाट संकलन गरि पठाएको ६० हजार ५ सय रुपैयाँ उनका परिवारलाई हस्तान्तरण गरिएको छ । उपचारकै क्रममा उनको निधन भएपछि सहयोग संकलन अभियानलाई स्थगित गरि उनको नाममा संकलित रकम उनका छोरीहरुको शिक्षादिक्षाका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रदान गरिएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै पाल्पाली सेवा समाज दोहा कतारका निर्वतमान अध्यक्ष तथा प्रमुख सल्लाहकार, युवा समाजसेबी इश्वर काफ्लेले समाज मार्फत पाल्पालीहरुको दुखसुखमा बिभिन्न सहयोग रहँदै आएको बताए । तानसेन नगरपालिकाकी कार्यपालिका सदस्य मैयादेबी घिमिरे, इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमुर्ति तिमिल्सिना, नेपाल टेलिभिजनका पाल्पा समाचारदाता कमल अधिकारी, श्रीनागर टेलिभिजनका बिष्णु प्रसाद घिमिरे, दयाराज न्यौपाने, मेचीकाली दैनिकका समाचारदाता नेत्र गैरे लगायतले सो रकम स्व गैरेका परिवारलाई हस्तान्तरण गरे ।

सन् २००७ मा स्थापित पाल्पाली सेवा समाज दोहा कतारले बिभिन्न रचनात्मक कार्यक्रमहरुका साथै अप्ठेरोका परेका, रकम अभावमा उपचार गराउन नसकेका ब्यक्तिहरुका लागि सहयोग गर्दै आएको छ ।

Comments
Loading...