स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी जेष्ठ नागरिकको घर घरमा जाने

0 73

पाल्पा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजना, बगनासकाली गाउँपालिका स्वास्थ्य शाखाको सहयोगमा बगनासकाली ७ खानीगाउँमा स्थानीय तह संवाद बैठक सम्पन्न भएको छ ।

वडा सदस्य रितादेवी भट्टराइको अध्यक्षता र बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीको प्रमुख आतिथ्यतामा संचालित संवादमा जनप्रतिनिधि, स्वास्थय चौकीका कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका, मानवअधिकार निगरानी समूहका सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले स्थानीय तहमा रहेका समस्याहरुलाई पहिचान गर्दै समाधानतर्फ उन्मुख गराउन यसप्रकारको संवादले सहयोग पुर्याउने बताए । कार्यक्रममा वडा स्तरमा रहेका स्वास्थ्य समस्या, समस्याहरुको समाधानमा महिला स्वास्थ्य स्वयम्सेविका सहित सरोकारवालाहरुको भूमिकाको विषयमा स्वास्थ्य चौकीका प्रमुख जीवलाल बस्याल र पत्रकार दयाराज न्यौपानेले सहजीकरण गरेका थिए । महिला स्वास्थ्य स्वयम्सेविका इन्दिरा भट्टराई लगायतले स्वयम्सेविकाहरुलाई सामाजिक स्वास्थ्यका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीले गाउँपालिकाले स्वास्थ्यक्षेत्रको विकासको लागि योजनाबद्ध रुपमा कामहरु अगाडि बढाइरहेको बताए । संवाद बैठकले आगामी माघको दोस्रो साता स्थानीय तह, स्वास्थ्य चौकी र मानवअधिकार निगरानी समूहको पहलमा स्वास्थ्यकर्मीहरु खानीगाउँका साविकका वडा नं. १ र २ का घर घरमा पुगेर जेष्ठ नागरिक तथा अपांगता भएका ब्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्ने, उपचार सहित परामर्श दिने बिस्तारै यो अभियानलाई बिस्तारै वडाभरि नै निरन्तरता दिने निर्णय गरेको छ । यसका लागि प्रारम्भिक प्रतिबेदन स्वास्थ्य चौकीले तयार पार्ने र आवश्यक समन्वय गाउँपालिका स्तरीय स्वास्थ्य शाखाले गर्ने निर्णय समेत भएको छ ।

Comments
Loading...