स्वास्थ्य पोषणका लागि आफ्नै पहल तालिम सम्पन्न

0 79

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका—२, फोक्सिङ्गकोटको विभिन्न वस्तीमा गुणस्तरीय स्वास्थ्य तथा पोषणका लागि आफ्नै पहल (साथ) तालिम सम्पन्न भएको छ ।

सुनौलो बिहानी स्वास्थ्य आमा समूह झर्लेङ्गका २४ जना हजार दिनका महिलाहरुलाई तालिम दिईएको हो । सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजर कुश्मानन्द पाण्डेले पोषण, सरसफाई, शिशु स्याहार लगायतका विषयमा सिकाएका थिए । गर्भाधारण भए देखि जन्म सम्म र जन्मे पछि २ वर्ष सम्मको एक हजार दिन बालविकासमा अत्यन्तै महत्वपूर्ण हुने भएकोले शिशुको विकासका लागि आमाले विशेष ध्यान दिनुपर्ने तालिममा सिकाईएको थियो ।

तालिममा महिलाले गर्भवती अवधिमा ४ पटक सम्म टिटानेस विरुद्धको सुई लिनुपर्ने, खानपानमा ध्यान दिनु पर्ने, शिशुलाई खोप लगाउनु पर्ने लगायतका विषयलाई मानक मानेर प्रत्येक हजार दिनका आमालाई टीकाले संकेत गरि स्तर निर्धारण गर्न सामाजिक नक्साङ्कन समेत गरिएको थियो ।

फोक्सिङ्गकोटको कतिपय बस्तीमा गर्भवती महिलाले टिटानस विरुद्धको सुइ नलिएको, गर्भ परिक्षण नगरेको, आईरन चक्की नखाएको, अस्पतालमा सुत्केरी हुन नगएकोले सचेतनाको लागि कार्यक्रम संचालन गरिएको फोक्सिङ्गकोट स्वास्थ्य चौकीका प्रमुख हजारीलाल पटेलले बताए ।

Comments
Loading...