१९ बर्षमा १५ हजार छोरा–छोरीकी आमा इन्दिरा रानामगर

0 222

बीर बहादुर वली । काठमाडौ

एउटा यस्तो पात्र जसको सेवा बाहेक अर्को कर्म छैन । धर्म छैन । न कुनै नीजि जीवन नै । अहोरात्र बालबच्चा हुर्काउन, पढाउन र उनीहरुको अधिकारको पक्षमा वकालत गर्न मात्र दौडिरहन्छ । सन्तान धेरै भए हुर्काउन र बढाउन धौ–धौ पर्छ । तर उनै बालबालिकाका लागि आफ्नो सारा जीवन समर्पित गरेकी झापाकी इन्दिरा राना मगरका लागि सन्तान कहिलै धेर भएनन् ।

लाग्दैनन उनलाई अरुको कोखबाट जन्मिएका सन्तानको पालन पोषण र शिक्षा दिक्षा गराईरहेकी छु । छोरा–छोरीलाईपनि लाग्दैन की उनी आफ्नै आमा होइनन् । उनीहरु आफ्नै आमा ठान्छन् । त्यही माया पाएकापनि छन् । इन्दिराले यो कार्यमा आफ्नो जीवन समर्पण गरेको छ आढाई दशक नै भयो । तर आफ्नै संस्था स्थापना गरेर काम गरेको आज १९ बर्ष पुगेको छ । १९ बर्षमा झण्डै १५ हजार छोरा–छोरी उनको काखमा हुर्किएका छन् । पालन पोषण र शिक्षा दिक्षा पाएर कयौँले आफ्नो सुन्दर भविष्य बनाएका छन् ।

उनीहरु सबैले उनलाई आमा नै भन्छन् । आमा कै ब्यवहार गर्छन् । कतिका छोराछोरी भइसके उनीहरुका छोराछोरीलेपनि आफ्नै हजुरआमा ठान्छन् । न उनलाई अरुको सन्तान जस्तो लाग्छ न त उनको आश्रय स्थलमा पुगेका बालबालिकाहरुलाई अरुकी आमाको काखमा हुर्किरहेका छौ भन्ने नै लाग्छ ।

केही समय लिएर उनको नजिक रहने हो भने जो कोही मानिसलाईपनि यही लाग्न सक्छ । यी हज्जारौ सन्तान केबल इन्दिरा राना मगरका आफ्नै हुन् । जो कोहीको आत्मा आफै बोल्न सक्छ हो यी सयौँ बालबालिकाकी आफ्नै आमापनि इन्दिरा नै हुन् । हामी भावनामा बगेर यी शब्द लेखिरहेका छैनौँ । देखिएको वास्तविक चित्रण नै यही हो । आज यसरी नै कारागारमा कैदी–बन्दीको रुपमा रहेका आमा–बाबुका सन्तानहरु इन्दिराको काखमा हुर्किरहेका छन् ।

उनैको सक्रियतामा स्थापना भएको बन्दी सहायता नेपालको अभिभावकत्वमा उनीहरुले उज्जवल भविष्य बनाइरहेका छन् । यही संस्थापनि आज १९ औ बर्षमा पुगेको छ । संस्थाले यही हप्ता आफ्नो १ए औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौको साँखु स्थित आफ्नै होममा सामान्य औपचारिक र अनौपचारिक कार्यक्रम गरेर आश्रित बालबालिकाहरुसँग संस्थाको बार्षिक उत्सव मनाएको छ । कुनै झकिझकाउ भन्दापनि संस्थाप्रतिको गरिमा बालबच्चामा बढाउनका लागि औपचारिक कार्यक्रम गरिएको थियो । न्याय र अधिकारको क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

बन्दी सहायता नेपाल के हो ?
आफ्नो अस्तित्व गुमाउनै लागेका सयौँ शिशिहरु जहाँ आमाको न्यानो काखमा मातृत्व पाउँदै पूर्णचन्द्रकार जस्तै हुर्किरहेका हुन्छन् । विधताले अन्याय गरेर आफन्त, नातागोता गुमाएकाहरुले अभिभावक पाएका छन् । परिचय पाएका छन् । विपत्ति र विधताले संरक्षक खोसेर भविष्य नै अन्धकार भएका हज्जारौ बालबालिकाहरुले सुनौलो भविष्यको बाटो कोरिरहेका छन् ।

उनीहरुले पालन, पोषण र शिक्षा दिक्षा मात्र पाएका छैनन् । जीवनभरको साईनु पाएका छन् । आमा, बाबु र आफन्तले पुरा गरिदिने कर्तव्य पाएका छन् । त्यही हुर्किएर समाज र देशकै प्रतिष्ठित पदमा काम गर्न सक्ने क्षमतावान नागरिक बन्न पाउने भाग्यमानी बनेका छन् । त्यही घरमा बास छ, विश्वकै बालबालिकाकी आमा भनेर चिनिने, वल्ड्र चिल्ड्रेन अनररी अवार्डबाट सम्मानित इन्दिरा रानामगरको ।

उनी साइकल चढ्छिन । आफ्नो छुट्टै कोठा छैन, बालगृहकै बालबालिकासँगै सुत्छिन् । हरबखत एउटै कुरा मनमा खेलिराखेको हुन्छ–कसरी उनीहरुलाई सहझ वातावरणमा शिक्षा दिलाउने । पढाइसँगै अन्य सीप सिकाउनु पनि छ । इन्दिरा रानामगरको दैनिकीको अभिन्न पाटो बनिसकेका छन् आजकाल बालगृहका बालबालिकाहरु । उनको एउटी आफ्नै छोरी छन् । ‘तर’, भन्छिन्, ‘आफूले हुर्काएका कतिको त विहे भएर बच्चा पनि जन्मिसकेका छन् त्यसैले म त हजुरआमा पनि बनिसकेकी छु ।’ उनको त्यस्तै ठट्यौली गफबाट जोकोहीसँग सुरु हुन्छ कुराकानी एउटा दुःखदायी विगतबाट एउटी सफल सामाजिक कार्यकर्तासम्म लैजान्छ ।

झापाको सालबडिमा रहेको उनको परिवार सामान्य जीवनबाट हुर्किएको बाल्यकाल । तर असाधारण मेहनतले एउटा सफल बनेको विश्वकै सम्मानित मानिसको रुपमा इन्दिराको परिचय बनेको छ । हुनत विगत कोट्याउनु राम्रो हैन । तर इन्दिराको विगत निक्कै सकसपूर्ण छ । अन्य आधारभुत आवश्यकताको कमिसँगै लैंगिक विवेधको शिकार समेत बनेकी उनको जीवनमा बाल्यकालदेखि नै संघर्ष गरिरहनु परेको छ । हजुरबुवाले लिएको ऋण चुक्ता गर्न बुवा अर्काको घरमा काम गर्न बाध्य थिए । त्यसैले दाजुलाई मात्र स्कुल पठाएर उनलाई घरको काममा लगाइन्थ्यो ।

यद्यपि सानैदखि मनमा गडेको उनको पढ्ने इच्छा स्कुल नजाँदैमा रोकिएन । दाजु र उनकै किताबकै सहायताले इन्दिराले घरमै साँवा अक्षर चिन्नेदेखि लिएर प्रारम्भिक शिक्षासम्म लिइन् । सिधै कक्षा ५ मा भर्ना भएकी उनी सबैलाई पछि पार्दैै प्रथम पनि भइन् जसले उनलाई विद्यालयसँगको सुखद सामिप्यलाई बढायो । झापाकै शनिच्चरे माबिबाट एसएलसी सकेपछि उनी पुनः आफ्नै गाउ“ फर्किन् र त्यही“को स्थानिय प्राविमा पढाउन थालिन् । भन्छिन्, ‘स्थानिय राजनीतिक खिचातानीले गर्दा मैले त्यहाँ धेरै पढाउन पाइन् ।’ त्यही नै उनको काठमाण्डौं प्रवेशको कारण बन्यो । उनलाई यो भविष्यको ढोका त्यही दिनदेखि खुल्यो ।

काठमाण्डौंका शुरुवाती दिनहरु उनका लागि निकै कष्टकर बने । ज्यान पाल्न समेत धौधौ परेपछि म दिनभर जागीरकै लागि भौतारिन्थेँ । त्यसैबखत उनको चिनाजान साहित्यकार एवं मावनअधिकारवादी पारिजातसँग भयो र उनकै ‘बन्दी सहायता मिसन’मा काम गर्न थालिन् । जसले त्यसबखत जेलमा रहेका राजनीतिक बन्दीको पक्षमा वकालत गर्ने देखि लिएर उनीहरुका बालबच्चाको रेखदेखसम्म गथ्र्यो । त्यसरी जेलसँग बढेको उनको सामिप्यता राजनीतिक बन्दीतर्फ भन्दा पनि गरीब र बिपन्न बन्दीहरुतर्फ बढ्यो ।

जसको पक्षमा बोल्ने कोही हुँदैनथ्यो । धेरैजसो त कसैले फसाएर जेल परेका हुन्थे । उनीहरुका सन्तान बिना अपराध जेलजीवन बिताउन बिवश थिए । पछि पारिजातको निधन भएपछि उनले आफ्नै ‘बन्दी सहायता–नेपाल’ खोलिन् जसले अहिले काठमाण्डौंको नयाँबजार, साँखु, चपली हाईट, लोलाङ हाईट, भक्तपुर, तानसेन, झापा, इलाम र पाल्पामा गरेर २० वटा बालगृह र देशका विभिन्न स्थानमा दिवा संरक्षण केन्द्र संचालन गरिरहेको छ जहाँ अहिले ५०० भन्दा बढि बालबालिका आश्रित छन् । त्यस्तै ‘जुनकिरी स्कुल’ उनले बन्दि अभिभावकका छोराछोरीको लागि चलाएको स्कुल हो जसले बालबालिकालाई पढाइसँगै पनि समाजमा स्थापित हुन आवश्यक सीपहरु सिकाउँछ । यस्तो स्कुलपनि सरकारबाट इजाजत लिएर शिक्षकमा सरकारले दिएको कोटा सदुपयोग गर्दै सञ्चालनमा छ ।

काठमाडौ र झापामा रहेका २ स्कुलले शिक्षाको ज्योति भरिरहेको छ । त्यसो त उनी जेलभित्रै पनि बन्दिहरुलाई सीपमुलक काम सिकाउन ब्यस्त छिन् । बन्दि सहायता नेपालले नख्खु जेलमा बन्दिहरुलाई मौरीपालन गर्न सिकाइरहेको छ । ‘हस्तकला र सिलाईबुनाइ तालिम दिएर बन्दिमा नयाँ जीवन सिर्जना गर्न खोजेकी हुँ’, उनी भन्छिन्, ‘सुन्धारस्थित महिला बन्दि गृहमा साक्षरता कक्षा पनि चलिरहेको छ ।’ देशैभरीका कारागारहरुमा अधिकारका लागि वकालत गरिरहेको छ । बोल्न नजान्नेहरुलाई बोल्न सिकाई रहेको छ । निरपराध कारागारमा पुगेकाहरुलाई निर्दोषका प्रमाणहरु देखाउन सक्ने बनाउन थालेको छ ।

बन्दि सहायता नेपालकै पहलमा बालबालिकामा जीवनोपयोगी सीपहरुको बिकास गर्न भन्दै ‘अर्गानिक खेती’, ‘ब्यावसायिक कुकिङ’ जस्ता सीपहरु सानैदेखि सिकाइन्छ । इन्दिरा भन्छिन्, ‘हामी लर्निङ्ग बाइ डुइङ्ग मेथडबाट अघि बढिरहेका छौं ।’ उनका अनुसार बालगृहबाट बयस्क भएर गएका धेरैले अहिले आफ्नै ब्यावसाय संचालन गरिरहेका छन् । उनकै काखमा हुर्किएकाहरु कोही नर्सिङ पेसामा आवद्ध हुने बाटोमा अध्ययन गरिरहेका छन् । कोही अध्ययन सकेका छन् । कोही प्रतिष्ठित पदमा पुगिसकेका छन् । कोही व्यवसायीक रुपमा आफै व्यवसायी बन्न सकेका छन् । यो इन्दिराले समाज, देशका लागि मात्र हैन विश्व समुदायकै लागि दिएको अन्यन्तै ठूलो योगदान हो ।

त्यसो त उनलाई विदेशका धेरै संघसंस्थाले आकर्षक तलब र पदमा जागीरका लागि निम्ता नदिएकापनि हैनन् । भन्छिन्, ‘म ग्रासरुट तहमा रहेर काम गर्न रुचाउने मान्छे, यही नै मेरा लागि काफी छ ।’ उनको यही कामको मूल्याङकन स्वरुप सामाजिक कार्यकर्ताहरुको लागि दिइने अन्तर्राष्ट्रिय ‘अशोका फेलोसिप अवार्ड’ बाट सम्मानित गरिसकिएको छ भने आफ्नो अनुभव आदानप्रदानको लागि भन्दै अथिति मन्तव्य दिन ३५ बढि देशको यात्रा गरिसकेकी छिन् । सन् २००४ मा उनलाई नेपालको ५० प्ररणादायी महिलाको सूचिमा समेत राखिएको थियो । योसँगै उनी जुनियर नोबेल पुरस्कार भनेर चिनिने बालबालिका क्षेत्रको विश्वकै ठूलो अवार्ड वल्ड चिल्ड्रेन अनररी अवार्डबाटपनि सम्मानित भइसकेकी छिन् । राज्यको नाम विश्वभरी राख्न सफल देशको मात्र हैन । विश्वकै गहनाको रुपमा आज इन्दिरालाई लिन सकिन्छ ।

अहिले बिराटनगर जेलसँगै उनले ‘बिराटनगर डे केयर सेन्टर’ झापा जेलमा डे केयर सेन्टर, सप्तरीमा डे केयर सेन्टर खोलेकी छन् जहाँ निकै साना बालबालिकाहरु जसलाई आमाबाट अलग्याएर राख्न सकिदैँन, उनीहरुलाई दिउसो स्याहार गृहमा राखिन्छ । यस्ता डे कियर झाप, तानसेन लगायत देशका धेरै वटा जिल्लामा रहेका कारागारमा खोलिएको छ । ‘आमाबुवाले अपराध गरे भन्दैमा छोराछोरीलाई समेत त्यसको भागेदार बनाउनु हुँदैन’, उनी भन्छिन्, ‘जसका लागि सरकारले कानुनदेखि लिएर कार्ययोजना तहसम्म अग्रसरता देखाउनु पर्छ ।’

उनी भन्छिन् । यो त मैले उदाहरणका लागि मात्र क्रियाशिल छु । मेरो जिम्मेवारी राज्यले अंगाल्नुपर्छ । संरक्षक गुमाएका बालबालिकाको अभिभावक राज्य हो । राज्यकै नाममा उनीहरुको परिचय बन्नुपर्छ । यसैले राज्यले यसैगरी काम गर्न समय लाग्ने भएकाले उक्त अवधिसम्म इन्दिराको काममा राज्य, राज्यका निकाय, नागरिक समाज र विश्व समुदायले साथ र सहयोग गर्न जरुरी छ । किनकी आजको बालबालिका भोलीका कर्णधार हुन् ।

एउटा बालकलाई सही मार्ग दिन, संरक्षण, गर्नु र हुर्काउनु भनेको विश्व समुदायकै लागि ठूलो योगदान हो । १८ बर्ष पुगिसकेको बन्दी सहायता नेपालमा जन्मिएको केही घण्टामै मातृत्व, पितृत्वसँगै सबै संरक्षक गुमाएका देखि बाल्य अवस्थामै असाहाय बनेकाहरु आइपुगेका छन् । जन्मिएकै क्षणदेखिको नवजात शिशुलाई समेत इन्दिराले मातृत्व दिएर हुर्काएकी छिन् । यो अवधिमा हरेक बर्ष सयौँको संख्यामा बालबालिकाहरु बयस्क भएर आफै गरिखान सक्षम बन्दै समाजमा पुर्नस्थापित भइसकेका छन् । यसैले हज्जारौ सन्तानकी एक्ली आमा इन्दिरा रानामगरका निम्ति जति शब्द खर्च गरेपनि सायद अपुग नै हुनेछ ।
यो सामाग्री हामीलेwww.janaboli.com बाट साभर गरि प्रकाशन गरेका हौं ।

Comments
Loading...