१ दशक यताकै भव्य भयो भगवती जात्रा, जात्रालु बढे व्यवस्थापन भएन

0 71

पाल्पा । बीरताको प्रतिकको रुपमा रहेको रणउजीरेश्वरी भगवतीको रथयात्रा सोमवार २०० औं वर्षको रुपमा भव्य रुपमा निस्केको छ । यस क्षेत्रमा भगवती जात्राको रुपमा परिचित रथयात्रालाई बिजयको खुशीयालीको सम्झनामा निकालिने भएकोले अबिर जात्राको रुपमा चिनिन्छ ।

नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्णजन्माष्टमीको अर्को दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथजात्रा निकाल्ने प्रचलन रहँदै आएको छ । विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा २ सय वर्ष अघिदेखि बिजय उत्सब स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्ब र जात्राको रुपमा परिचित भएको छ । कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै अहिलेसम्म बिजय जात्राको रुपमा संचालन गरिदै आइएको हो ।

अंग्रेज संगको युद्धमा जानु अघि तत्कालीन प्रशासक उजिर सिंह थापाले आफूले युद्धमा विजयी प्राप्त गरेमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष बिजय जात्रा संचालन गरेर भगवतीको महिमा फैलाउने भाकल गरेको इतिहासमा उल्लेख छ राष्ट्रको जित भएको अबसरमा यस जात्रालाई राष्ट्रिय जात्राको रुपमा पनि लिइन्छ । जात्रा अवलोकन गर्न पाल्पा सहित छिमेकी बिभिन्न जिल्लाका हजारौ सर्वसाधारणहरु आएका छन् । यस वर्षको जात्रा १ दशक यताकै भव्य भएको स्थानीयले बताएका छन् । यद्यपी आन्तरिक व्यवस्थापन, र्यालीको व्यवस्थापन भने निकै कमजोर भएको देखिन्थ्यो । नगरपालिकाले आफ्नो क्षेत्र भित्रका टोल विकास संस्थाहरुलाई रथयात्रामा सहभागी हुन उर्दी नै जारी गरेको बताइएको छ ।

लडाइ चलिरहेको समयमै अमर सिंह थापाको मृत्यु भएपछि गोर्खाली प्रशासकको रुपमा पाल्पामा उजिर सिंह थापा नियुक्त भएका थिए । थापाले अग्रेज संगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा बिजय हासिल गरेको स्वरुप पाल्पामा भगवती जात्रा मनाउन थालिएको किंम्वदन्तीमा उल्लेख छ । यो दिनलाई पाल्पाको एउटा महत्वपूर्ण पर्वको रुपमा समेत लिइन्छ । रथलाईं स्थानीय सिद्धेश्वरका कुमाल युवाहरुले बोकेर बजार परिक्रमा गराएका थिए ।
रथयात्रामा नेपाली सेनाका कामु प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रतिनिधि सभा सदस्य सोम प्रसाद पाण्डेय सहित प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री लिला गिरी, प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्ती जिल्लाबाट निर्वाचित प्रदेश सांसद, जनप्रतिनिधि लगायतको सहभागिता थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार, निजामती कर्मचारी, विद्यार्थी विभिन्न संघ सस्थाका प्रतिनिधि लगायत सर्वसाधारणहरुको बाक्लो उपस्थित रहेको थियो । जात्राको ५० हजार बढी मानिसहरुले प्रत्यक्ष अवलोकन गरेको अनुमान गरिएको छ । आजै तानसेनको अमरनारायण रथयात्रा पनि निकालिएको छ ।

Comments
Loading...