१ सय ८ पिपलीको जल खान बराङ्दी जाऔं

28

कमल बस्याल । पाल्पा
बगनासकाली गाउँपालिका–८ बराङ्गदी घिउसिबासमा रहेको ऐतिहासिक धार्मिक पर्यटकिय स्थल सिद्धबाबा मन्दिरमा यो बर्ष बैशाखका प्रत्येक शनिबार बिबिध धार्मिक एवं सास्कृतिक कार्यक्रम हुने भएका छन ।

बैशाखका प्रत्येक शनिबार यहाँ बिगतदेखिनै भक्तजनहरुको ठुलो भिड लाग्दै आएपनी अहिले यसलाई अझ भब्य बनाउन बिबिध धार्मिक सास्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको श्री सिद्धबाबा मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । कार्यक्रम अन्तर्गत बैशाख ७ र ८ गते भगवान शिवको महिमा सम्बन्धी एकाह सप्ताह, बैशाख ८ गते बिशेश पुजा अर्चना तथा भजनकृतन, बैशाख १५ गते भागवत अलङ्कार श्री नेत्रप्रसाद पराजुलिको मुहारबिन्दुबाट १०८ पिपली र १०८ शिवलिंगको महत्त्व बारे कथा प्रवचन लगायतका कार्यक्रमहरु रहेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष मोतिलाल बस्यालले जानकारी दिए ।

त्यसैगरी उनले कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको र भक्तजनहरुलाई कुनैपनि बाधा र अप्ठ्यारो नहुनेगरी सम्पुर्ण ब्यवस्था आफुहरुले मिलाएको समेत बताए । सदरमुकामबाट अत्यन्त नजिक सुगम स्थानमा सहज तरिकाले भगवान शिवको पुजा सहित १०८ पिपल र ॐ आकारमा रहेको १०८ शिवलिंगमा जल चडाउन मिल्ने भएकाले पनि पछिल्लो समय भक्तजनको संख्यामा वृद्धि हुँदै गएको उनले बताए ।

साथै यस स्थानमा अन्यत्र बिरलैमात्र पाईने वर, पिपल, स्वामी, रुद्राक्ष र बेलपत्र एकैठाँउ रहेको पञ्चबृक्षको रहेको छ जसको हिन्दुधर्ममा बिशेश महत्त्व रहेको छ । १०८ पिपल र ॐ आकारमा १०८ शिवलिंग रहेको यसप्रकारको मन्दिर नेपालमै एकमात्र मन्दिर भएको समितिको दाबी छ ।

हिन्दुधर्म अनुसार पिपललाई भगवान बिष्णुको प्रतीकको रुपमा मानिन्छ भने शनिबारलाई भगवान बिष्णुको बार र बैशाखलाई बिष्णुको महिनाको रुपमा मानिन्छ । बैशाखको शनिबार पिपलमा जल चडाउदा परिवारमा खुसी मिल्ने र परिवारका सदस्यको आयु बढने बिश्वास रहि आएको पाईन्छ ।

Comments
Loading...