२ सय १ औं वर्षको भगवती रथयात्राको भव्य तयारी, यस्तो छ जान्नैपर्ने किंवदन्ती

0 136

पाल्पा । बीरताको प्रतिकको रुपमा रहेको रणउजीरेश्वरी भगवतीको रथयात्रा यही भदौ ७ गते २ सय १ औं वर्षको रुपमा निकालिदैछ । यस क्षेत्रमा भगवती जात्राको रुपमा परिचित रथयात्रालाई बिजयको खुशीयालीको सम्झनामा निकालिने भएकोले अबिर जात्राको रुपमा चिनिन्छ ।

नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्णजन्माष्टमीको अर्को दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथजात्रा निकाल्ने प्रचलन रहँदै आएको छ । विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा २ सय १ वर्ष अघिदेखि बिजय उत्सब स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्ब र जात्राको रुपमा परिचित भएको छ । कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै अहिलेसम्म बिजय जात्राको रुपमा संचालन गरिदै आइएको हो ।

अंग्रेज संगको युद्धमा जानु अघि तत्कालीन प्रशासक उजिर सिंह थापाले आफूले युद्धमा विजयी प्राप्त गरेमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष बिजय जात्रा संचालन गरेर भगवतीको महिमा फैलाउने भाकल गरेको इतिहासमा उल्लेख छ राष्ट्रको जित भएको अबसरमा यस जात्रालाई राष्ट्रिय जात्राको रुपमा पनि लिइन्छ । जात्रा अवलोकन गर्न पाल्पा सहित छिमेकी बिभिन्न जिल्लाका हजारौ सर्वसाधारणहरु आउने गर्छन् ।

लडाइ चलिरहेको समयमै अमर सिंह थापाको मृत्यु भएपछि गोर्खाली प्रशासकको रुपमा पाल्पामा उजिर सिंह थापा नियुक्त भएका थिए । थापाले अग्रेज संगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा बिजय हासिल गरेको स्वरुप पाल्पामा भगवती जात्रा मनाउन थालिएको किंम्वदन्तीमा उल्लेख छ । यो दिनलाई पाल्पाको एउटा महत्वपूर्ण पर्वको रुपमा समेत लिइन्छ । रथलाईं स्थानीय सिद्धेश्वरका कुमाल युवाहरुले बोकेर बजार परिक्रमा गराउने गर्दछन् ।

रणउजीरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले यस वर्षको रथयात्रा बिशेष बनाउने गरि तयारी भइरहेको बताए । उनले यस वर्षको रथयात्रा भब्य हुने समेत बताए । रथ दिउंसो १२ बजेर ४५ मिनेटमा मन्दिरबाट उठाइने समेत उनले बताए । रथलाई बजार परिक्रमा पछि पुनः मन्दिरमै भित्र्याइनेछ ।

फोटोः फाइल

Comments
Loading...