३ वर्ष हुँदा पनि तानसेनको हरित बसपार्क बन्ने सुर देखिएन

0 223

पाल्पा । आधुनिक बसपार्क निर्माण गरिने भन्दै जंगल फडानी गरिएपनि तानसेनको बसपार्क निर्माण कार्य अलपत्र भएको छ । सामुदायिक बन क्षेत्र मासेर बसपार्क निर्माणको तयारी गरिएको भएपनि ३ बर्षको समय पार हुँदा समेत बसपार्कको काम अघि बढन सकेको छैन । आधुनिक बसपार्क निर्माण गर्ने भन्दै तानसेन ५ मा रहेको करिव १०० रोपनी बन क्षेत्रका करिव १३०० रुख काटियो र बिक्री पनि गरियो तर बसपार्कको काम अघि बढेको छैन ।

नगरपालिकाले वन तथा भु संरक्षण विभागसँग २०७६÷३÷१० मा दुइ बर्ष भित्रमा बसपार्कको काम सक्ने गरी सम्झौता गरेको थियो । त्यसैगरी सम्झौता गरेको मितिले २ महिना भित्र कार्य प्रारम्भ गरी सो को बिवरण बन कार्यालयमा उपलब्ध गराउनु पर्ने सम्झौता भएको थियो । तर नगरपालिकाबाट कुनै पनि काम अघि बढेको छैन ।

नगरपालिकाबाट वन कार्यालयलाई १०० रोपनी जग्गा सट्टा भर्ना हुनु पर्नेमा जम्मा २० रोपनी मात्र प्राप्त भएको छ । एक रुख काटे बापत २५ वटाका दरले २ बर्ष भित्रमा ३० हजार रुख रोप्नु पर्ने भए पनि हालसम्म एक वटा पनि रुख रोप्ने काम भएको डिभिजन बन कार्यालय पाल्पाले जनाएको छ ।

अहिले संचालनमा रहेको साँघुरो बसपार्कका कारण यात्रु, सवारी चालक र ट्राफिक प्रहरीले समेत बर्षौ देखी सास्ती भोग्दै आएका छन । डिभिजन वन कार्यालयले पटक पटक ताकेता गर्दा पनि नगरपालिकाले अटेरी गरेको वन कार्यालयले जनाएको छ । अब अन्तिम पटक लिखित निबेदन पेश गरिने र सो समय भित्र कार्य प्रारम्भ नभए कारवाही प्रक्रियाबाट वन क्षेत्रको जग्गा फिर्ता गरिने डिभिजन वन कार्यालयका प्रमुख दिपक ज्ञवालीले बताउनुभयो ।

विश्व वैंकको ८ करोड रुपैयाँ र आन्तरिक ४ करोड रुपैया गरी जम्मा १२ करोडमा बसपार्कको पहिलो चरणको काम हुने नगरपालिकाले जनाएको छ । अघिल्लो स्थानिय सरकारले काम नगरेका कारण समस्या आएको बताउँदै अव छिट्टै काम शुरू हुने नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

Comments
Loading...