८५ बर्ष उमेर पुगेकाहरुलाई तानसेनमा कोसेली सहित सम्मान

0 247

पाल्पा । तानसेन नगरपालिकाभित्रका ८५ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकहरुलाई नगरपालिकाले सम्मान गरेको छ । जेष्ठ नागरिकहरुलाई कोसेली स्वरुप कपडा, पोष्टिक खाना र स्वास्थ परीक्षण सहित सम्मान गरिएको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताए ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत तानसेन नगरपालिकाका २ सय ६७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको समितिका सदस्य गुराँस आत्रेयले बताए । जीवनको क्रियाशिल समय समुदायको बिकासमा उल्लेखनिय भुमिका खेल्दै आएको र जेष्ठ नागरिकहरुको अनुभव अहिलेको पुस्ता सम्म पुर्याउनका लागि पनि यसप्रकारको सम्मान गरिएको बताइएको छ ।

तानसेन नगरपालिकाको वडा न. १४ अर्गली र वडा नं ११ बन्दिपोखरामा आईतबार भएको कार्यक्रममा ब्लाङ्केट, ज्याकेट, जुत्ता, मोजा, टोपी, लाईभभिटा राखिएको झोला जेष्ठ नागरिकलाई प्रदान गरिएको हो । कार्यक्रममा तानसेन नगरपालिकाका उपमेयर लक्ष्मीदेवी पाठक, प्रशासकिय अधिकृत पिताम्बर पाण्डे, कार्यक्रम फोकल अधिकृत दुर्गा थापा, सामाजिक परिचालक नारायण कुमाल लगायतले सामाग्री हस्तान्तरण गर्दै जेष्ठ नागरिकलाई सम्मान गरेका थिए । कार्यक्रममा नगरपालिकाका स्वास्थ शाखा प्रमुख झविन्द्र न्यौपानेको समुहले सहभागीको सुगर, प्रेसर परिक्षण सहित सामान्य औषधी वितरण गरेका थिए ।

नगरपालिकाको बाँकी वडामा जेष्ठ नागरिकलाई कार्यक्रममा बोलाएर वितरण गर्न नमिलेमा घरघरै लगेर वा प्रतिनिधी बोलाएर हस्तान्तरण गर्नेगरि सामाग्री प्रत्येक वडा कार्यालयमा पठाईएको बरिष्ठ अधिकृत दुर्गा थापाले बताए ।
कार्यक्रमबाट तानसेन नगरपालिका वडा नं १ मा १३ जना, वडा नं २ मा १५ जना, वडा नं ३ मा १० जना, वडा नं ४ मा ८ जना, वडा नं ५ मा १० जना, वडा नं ६ मा २१ जना, वडा नं ७ मा ३१ जना, वडा नं ८ मा १६ जना, वडा नं ९ मा २० जना, वडा नं १० मा १९ जना, वडा नं ११ मा १८ जना, वडा नं १२ मा १४ जना, वडा नं १३ मा ३० जना र वडा नं १४ मा ४२ जना जेष्ठ नागरिकहरु सम्मानित हुने कार्यक्रम सिफारिस समितिका सदस्य गुराँस आत्रेयले बताए ।

Comments
Loading...