मारुनी नाच एक परिचय

0 814

एवत सारु

विषय प्रवेशः
मारुनी नाच मगर समुदायमा नाचिने मौलिक नाच हो । यो नाच ऐतिहासिक तथा साँस्कृतिक दृष्टिले महत्वपूर्ण छ । पाल्पा जिल्लाको विभिन्न स्थानमा मारुनी नाच नाच्ने गरिन्छ । पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङ्गकोटको रानीबास गाउँमा हरेक वर्ष ४ पटक यो नाच नाच्ने गरिन्छ । हरेक वर्ष आश्विन शुक्ल अष्टमी कालरात्री (महाष्टमी) को रातमा दुर्गा भवानीको पूजा अराधना गरि यो नाच शुरु गरिन्छ । बडा दशैं टीकाको भोली पल्ट, भाई टिकाको भोली पल्ट, हरिबोधनी एकादशी र मंसिरे पूजाको भोली पल्ट मारुनी नाच रानीबास गाउँमा नाच्ने गरिन्छ । मारुनी नाचमा विशेषगरि पुरुषहरुले गीत गाउने, नाच्ने, मादल बजाउने गरेता पनि महिलाहरुले नाच सम्बन्धी अन्य व्यवस्थापकीय कार्य गर्छन । मारुनी नाचको मुखियालाई रौरा भनिन्छ । मारुनी गीत गाउनेहरु दुई समूहमा विभाजन भई उभिएर पालै पालो गीत गाउने गर्छन । नाचमा रामायण, कृष्ण चरित्र, डाँडी, झुमरी, ख्याली, आशिक, सरस्वती गीतहरु गाउने गरिन्छ ।

मझौटे गीत र ख्याली गीत रमाईलो केन्द्रित गीत हुन् । ख्याली गीतमा एकजना मादले, एक जना पुर्छुङ्गे र एक जना मारुनी नाच्ने गर्छन भने अन्य सबै गीत समूहमा नाच्ने, गाउने गरिन्छ । समूहमा नाच्दा कम्तिमा २ जना मादले, ३ जना मारुनी र ३ जना पुर्छुङ्गे गरि ८ जना नाच्छन् । गीत गाउनेहरु एकातिर कम्तीमा ५, ६ जना र अर्को तर्फ पनि ५, ६ जना बसी बढीमा एकातिर १५,२० जना र अर्को तिर पनि १५, २० जना उभिएर गाउने चलन छ । आशिक गीतमा नाच्ने आँगन र घरबेटीको भलो चिताउँदै गाउने गरिन्छ । भर्खरका किशोरहरुलाई महिलाको परम्परागत भेषभुषा चोली, पटुकी, सारी, फरिया, कण्ठ, टिकीया आदिले सिंगारपटार गरि तयार गरिएको नाच्ने मानिसलाई मारुनी भनिन्छ । त्यसै गरि मारुनी संग नाच्ने पुरुषलाई पुर्छुङ्गे भनिन्छ । पुर्छुङ्गेलाई धुन, टोपी तथा पटुकीले सिंगारेर तयार गरिन्छ ।

मारुनी नाचमा प्रयोग गरिएका शब्द मैथली र भोजपुरी भाषाको झलक दिने शब्दहरु भएता पनि परम्परा देखि गाउँदै आएकोले यसको जगेर्ना गर्नुपर्ने रौरा नरबहादुर सिंजाली बताउछन् । कतिपयले यस्ता शब्दहरु हामी मगरहरुका मौलिक शब्द होईन समेत भन्ने गर्छन । फोक्सिङ्गकोटको रानीबास गाउँमा चारटोलले पालैपालो नाच्ने व्यवस्थापन गर्ने गर्छन । मारुनी कोष समेत स्थापना गरिएको छ । यस वर्षमात्र गाउँमा चार पटक मारुनी नाच नाच्दा ८८ हजार १२३ रुपिया संकलन भएको छ । रानीबासको मारुनी नाच विभिन्न स्थानमा गरिने सभा समारोहमा प्रस्तुती समेत गरिन्छ । मारुनी कोषबाट कयनखोला लिफ्टििङ्ग खानेपानी मरम्मत, गाउँको मोटरबाटो मरम्मत, सामुदायिक भवन निर्माण, लम्भार दी मा रम्भादेवी मन्दिर निर्माण गरिएको छ । सिद्ध मन्दिर (चुर्की थान) निर्माणाधीन अवस्थामा छ । यहाँको मारुनी नाचबारे अध्ययन गर्न विभिन्न अध्यताहरुले अनुसन्धान र अध्ययनको विषय बनाएका छन् ।

पाल्पाको तानसेन बहुमुखी क्याम्पस तथा त्रिभुवन बहुमुखी क्याम्पसका स्नातोकोत्तर विद्यार्थीले मगर संस्कृति मारुनी नाचमा अनुसन्धान गरेका छन् । गतवर्ष पद्मकन्या बहुमुखी क्याम्पस काठमाण्डौका प्राध्यापक मुकुन्द शर्माले यहाँको कृष्ण चरित्र विषयमा विद्यावारिधी गरेका छन् । मारुनी नाच छोरा जन्मेको खुशियालीमा, नयाँ घर बनाउँदाको खुशियालीमा तथा लाहुरेहरु घर छुट्टी आउँदा नाच्ने गरिन्छ । मारुनी नाचको शुरुवात र अन्त्यमा ठोकन राख्ने चलन छ । नाच रमाईलो पार्न मादलेको विशेष भुमिका हुन्छ । गाउने र नाच्नेलाई मादलको ताल दिई उत्तेजित र उत्साहित गर्न मादलेको भुमिका हुन्छ । जोशिला मादलेहरुले नाच नचाउँदा भाले जुद्धा जस्तै तालमा उफ्रेर नाच रमाईलो पार्छन् । मारुनी नाचमा प्रयोग गरिने मादल झाम्रे नाचमा प्रयोग हुने मादलको तुलनामा ठूलो र बलियो हुन्छ । गीतको लय र ताल मिलाउन पित्तल तथा काँसको मजुरा समेत प्रयोग गरिन्छ । मारुनी नाच नाच्नको लागि रानीबास गाउँ छोडी अन्यन्त्र गएकाहरु नाच्नको लागि गाउँ भित्रिने गर्छन । छिमेकी गाउँबाट समेत नाच हेर्न रानीबास गाउँ पुग्ने गर्छन् । नयाँ पुस्ताका युवाहरुको गाउँमा कमी हुनु र भएकाहरुको कम चाँसोले गर्दा मारुनी नाच संरक्षणमा चुनौति थपिएको छ ।

ठोकन राख्नुः
मारुनी नाच शुरु गर्न भन्दा पहिला कम्तिामा २ जना मादलेले विशेष तालमा मादल बजाउनुलाई ठोकन राख्नु भनिन्छ । नाचको शुरुमा र अन्त्यमा ठोकन राख्ने गरिन्छ । मादल बजाउन माहिर व्यक्तिलाई मात्र ठोकन राख्न दिईन्छ । मादलेहरु उभिएर करिब ६, ७ मिनेट सम्म विशेष तालमा कहिले छिटो छिटो, कहिले ढिलो, कहिले सानो र कहिले ठूलो आवाजमा मादल बजाउने काम हुन्छ । ठोकन राख्दा कुनै प्रकारको गीत गाउनु पर्दैन अथवा नाच नाचिंदैन । यो बेला लामा, झाँक्री, धामी, तन्त्रमन्त्र गर्नेहरुलाई झाक आउने गर्छ । झाक आउनुलाई जीउ हल्लिने पनि भनिन्छ । देवी लाग्ने मानिसलाई जीउ काम्ने भए पछि ठोकनको माध्यमबाट बसाल्ने काम हुन्छ ।

देवी बाँध्ने गीत
देवी बाँध्ने गीत मारुनी नाचको शुरुमा गाईने गीत हो । यो गीत गाउँदा नाच्न पर्दैन । गीत गाउने र मादल बजाउनेहरु बसेर नै यो गीत गाउँछन । तर कालारात्रीमा दुर्गादेवीको मन्दिरमा गीत गाउँदा उभिएर गाउने गरिन्छ । गाउनेहरु दुई समुहमा विभक्त भई पालैपालो यो गीत गाउने गरिन्छ । देवी बाँध्ने गीत ३३ चरणको हुन्छ । यो गीत गाउँदा सबै चरण गाउनु पर्ने हुन्छ । यो गीत गाउन करिब ५० मिनेट लाग्छ । गीत गाउँदा मारुनी र पुर्छुङ्गेलाई सबैको माझमा राखेर गाउने गरिन्छ । जुनसुकै नाचमा यो गीत गाउनै पर्छ, अन्य गीत गाउनको लागि ढोका खोल्ने गीतको रुपमा यो गीतलाइ लिईन्छ । तर स्टेजमा प्रदर्शन गरिने औपचारिक कार्यक्रममा यो गीत गाउनु पर्दैन । मारुनी गीतको पहिलो चरण यस्तो छ ।

हा हा सरस्वती माया हो शरण तुमारा
हे हे पहले ज समझौला गुरुजी हमारा
हा हा सरस्वती माया हो शरण तुमारा
बाधैला गीत
बाधैला गीत देवी बाँध्ने गीतको झुमरी हो । देवी बाँध्ने गीत गाएर सके पछि बाधैला गीत गाउने गरिन्छ । देवी गीत गाउँदा नाच्ने नगरिए पनि यो गीत गाउँदा नाच्नु पर्छ । गीत पालैपालो समूहमा गाउने गरिन्छ । गीतको पहिलो चरण यस प्रकार छ ।

हा हा बाधैला हो सखी बिर हनुमान हो बाधैला
हे हे पुर्वै बाधौं पश्चिम बाधौं बाधौं चारै ओर
हा हा बाधैला हो सखी बाधैला
यो गीतमा कम्तिमा २ जना मादले, ३ जना मारुनी र ३ जना पुर्छुङ्गे नाच्ने गर्छन । बाधैला गीत नाचेर सके पछि बल्ल जुन सुकै अन्य गीत नाच्न गाउन हुने मान्यता रही आएको छ ।
रामायणका गीतहरु
यो गीत भगवान रामको लीलामा आधारित गीत हो । गीतमा भगवान राम जन्मनु भन्दा अगाडी देखि रावणलाई मारेको कथालाई श्रृङ्खलाबद्ध रुपमा प्रस्तुत गरिन्छ । यसरी श्रृङखलाबद्ध रुपमा रामायण गीत गाउँदा सिङ्गो दिन लाग्ने रौरा नरबहादुर सिंजाली बताउनु हुन्छ । गीत गाउँदा गीतको लय र ताल कहिले ढिलो र कहिले छिटो हुने भएकोले हेर्ने दर्शकलाई मजा पनि आउने र नाच्ने गाउनेलाई पनि आनन्द हुने गर्छ । रामायण गीतका केही चरणहरु यस्ता छन् ।

१. वशिष्ठ गुरुजी लाई बोलाई पो ल्यायो घोराई–२, चिनो हेरन
हे हे पहले ज लेखौ श्री मा श्री श्री माथी दुवो अक्षेता
२. ह हा बिते काल भई पो सक्यो छैन हामीलाई पुत्र फल
हा हा साठी बरिष पुगीमा सक्यो, छैन हामुलाई पुत्रफल
३. ह हा हुन्छ पुत्र–२, दशरथ राजालाई हुन्छ पुत्र
हे हे सुमेरु पर्वतमा गाई, पुत्रफल ओखती खोजी ल्याई
४. हा हा देउन गुरुजी –२, पुत्रफल ओखती देउन गुरुजी
हे हे जेठी रानी कौशिला कान्छी पियारी कैकेयालाई देउन गुरुजी
५. हा हा यिनैको दासी भईमा बस्यो हामी रानी सुमित्रा
हे हे दोनो भाग तीनैमा लगाई देउन गुरुजी पुत्रफल ओखती
६. हा हा देउन गुरुजी–२ यिनै तीनै रानी लाई देउन
हे हे देउन गुरजी पुत्रफल ओखती देउन गुरुजी
७. गर्भ रहयो आज–२, यिनै तिनै रानीलाई गर्भ रह्यो
हे हे एकै र मास दुवै र महिना गर्भ रह्यो–२

कृष्ण चरित्र

रामायण जस्तै भगवान कृष्णको लीलालाई बखान गरि गाइने गीत कृष्ण चरित्र हो । यो गीत पनि लामो छ । गीत लामो भए पनि केही चरण गाएर बीचैमा छोड्ने र अर्को पटक नाच्दा क्रमबद्ध रुपमा अगाडी बढाउने गरिन्छ । यो गीत गाउँदा मुख्य गरि दुई भाखामा गाउने चलन छ । रामायणको तुलनामा कृष्ण चरित्र गीत गाउँदा बढी रमाईलो हुने गर्छ । मादलको ताल पनि केही भिन्न हुने गर्छ ।

१. हा हा नचरी लैजाउ–२, हरी जीको दुवारैमा नचरी लैजाउ
हेहे कंशको घरमा यशोभन जगे नचरी लैजाउ बालै नचरी
२. हा हा किन आयो रिखी–२, तुमै्र घर बासुदेव किन आयो
हे हे पुर्वै दिशाको सोह्रमा रिखी, देवकी र चेलीलाई हेर्न आयो
३. हा हा ओ कामधेनु गाईको रुपैमा गरी बरु हेरन पो आयो
हे हे शिरै हेरम लट्टामा दारी, पावै हेरम बदमको फूल
४. हा हा देवकालार्य बासुदेव मागन पो आयो देवकीलाई वासुदेव
हे हे गोकुलै देशको सोह्रमा रिखी मथुरैमा जाई
५. हाहा ओ हाँसी हाँसी चिठी र पत्र लेखि दिउँ बरिमानलाई
हे हे गुदरीमा खेलीमा खेली रोवैला सबै जना
६. हाहो एकहात कंगिया ज एकहात डोरिया
हे हे एकहात दरिपन हेरी एक हात टिकीया
७. हा ओ आओ—२ धोबिनी लुगै धुन पो आयो
हे हे मलमल कपडा लुगै, धोवैला धोबिनी
८. हा ओ खोलै बसी यशोदा, लुगै धुन पो आवैला खोलै
हे हे खोलै बसी, यशोदा, धुरुमा धुरु रोवैला
९. हा हो केश ही ज नुहाई धुवाई पो आयो
हे हे सुनैझरी गंगा जल पानी, ढुङ्गै माथि वरको
१०. हा हा निमती बोलाउ आज—२ सबै देवताहरुलाई निमती बोलाउ
हे हे निमती बोलाउ आज—२ कलशेउली र मधेउलीलाई निमती बोलाउ

डाँडी गीतहरु
मारुनी नाचको मेरुदण्ड डाँडी गीत हो । यो गीतमा गाउन, बजाउन र नाच्न विशेष सीप चाहिन्छ । लामो भाखा, फरक फरक ताल, ढिलो नाच डाँडी गीतका विशेषता हुन् । रानीबास गाउँमा नाच नाच्दा कम्तिमा एउटा डाँडी नाच नाच्ने चलन छ । आम दर्शकलाई यो गीत सुन्न र नाच हेर्न त्यति मजा आउदैन । नाच ढिलो हुने, भाखा गाह्रो र असजिलो हुने हुँदा मादल बजाउन पनि त्यतिकै गाह्रो हुन्छ । प्रायः दर्शक नहुँदा वा समय बिताउन डाँडी नाच नाच्ने गरिन्छ । तालमेल नमिलेमा नाच्नेलाई पनि पट्यार लाग्न सक्छ । तर जब गीत गाउने, मादल बजाउने र नाच नाच्ने बिच तालमेल मिल्न जान्छ, तब समग्र नाचको बेग्लै प्रभाव र मज्जा हुने गर्छ । यो नाचले सही गति लिएमा गीत गाउने, बजाउने र नाच्नेलाई असाध्यै मजा आउने गर्छ । नाचमा रमाउँदा नाच्नेलाई देवीले समात्ने बुढापाका बताउँछन् । देवीले समात्नुको अर्थ मोहित हुनु वा बेथाहा हुनु हुन सक्छ । यस्तो बेला नाच्ने, बजाउने वा गाउने व्यक्तिहरु रमाईलोमा चुर्लुम्म डुब्ने गर्दछन् । आफु नाच्दा वा गाउँदा कसले के गर्दैछ, कसलाई दर्शकले हेर्दैछ भन्ने हेक्का समेत हुँदैन ।

रक्सीले मातेर लट्ठीएको अनुभुति गर्छन । रानीबासमा १० वटा डाँडीगीत गाउने गरिन्छ । एउटा डाँडी गीत गाउन कम्तीमा १ घण्टा लाग्ने गर्छ । हरेक वर्ष दुर्गा भवानीको मन्दिरमा ढलदेवी डाँडी गीत गाउने गरिन्छ । हरेक डाँडी गीतको एउटा झुमरी हुन्छ । युवा पुस्ताले डाँडी गीतमा त्यति चाँसो राखेको पाईदैन । गीत गाउने क्रममा डाँडी गीत शुरु हुने बित्तिकै युवाहरु नाच छोड्न थाल्छन । नगेनी डाँडी, ढल देवी डाँडी, गुरु डाँडी, शिशुपाल डाँडी, निम्तो डाँडी, गर्भ डाँडी, विहे डाँडी, महस्तीको फूल डाँडी आदि डाँडीगीतहरु गाउँमा गाउने गरिन्छ । एक वर्षमा एक पटक मात्र नाचिने ढलदेवी गीत कालारात्रीको दिन कोटघरमा नाच्ने गरिन्छ । ढलदेवी गीतको सम्पूर्ण शब्दहरु यस प्रकार छ ।
१. तुमारैमा ढलदेवी तुमारैमा ढलदेवी—२
येसुरान सुहाय तुमारैमा
२. हारे तुमदेवी कालिका हाय पुजैला
तुमारैमा ढलदेवी—२ येसुरान सुहाय तुमारैमा
३. हारे यहिला हो कालिका शरण गनझिर
तुमारैमा ढलदेवी—२ येसुरान सुहाय तुमारैमा
४. हारे ईरगावोन्त लिलादेवी मिरगावोन्त छाईजा
जता हेरौ गंगाजल—२ निरमलु राजै जताहेरौ
५. हारे मारी हालौं येसुरान साढी हालौं सुहाये
जता हेरौ गंगाजल—२ निरमलु राजै जताहेरौ
६. हारे उचै हो रे घर घर निचे हो दुवार
नही र सुनी राजै—२ बोलियाको नहि र सुनी
७. हारे घर घर कुयाँली बन्धन बरु छाईजा
पर जाओ लोग—२ सबै दुखदास पर जाओ
८. हारे बरिमाले यसो भन्यो सुनी लियो राजै
हरसिर खन्दैज—२ सबै रङ्ग पायो

झुमरी गीत
हरेक डाँडी गीतको एउटा झुमरी हुन्छ । एउटा झुमरी गीत गाउन सामान्यतयाः १ घण्टा लाग्ने गर्दछ । डाँडी गीत गाएर सकिए पछि झुमरी गीत गाउनु पर्ने हुन्छ । डाँडी गीत नगाईकन झुमरी गीत गाउन नहुने प्रचलन छ । डाँडी गीतको तुलनामा झुमरी गीत रमाईलो हुन्छ । डाँडी गीतमा अल्छी भई बसेकाहरु झुमरी नाच्न थाले पछि फेरी तरंगित हुन थाल्छन् । एउटै शब्द र वाक्यलाई बारम्बार दोहो¥याउँदै गाउने गरिन्छ । ढलदेवी गीतको झुमरी यस प्रकार छ ।

ऐसा न हो कि र मन मेरो—२
हा हा कवोन कि गुन पिया हो हामु तेज गयेला एसा न हो कि र मन मेरो
१. हे हो तीने युग भैले
हा हा कवोन कि गुन पिया हो हामु तेज गयेला एसा न हो कि र मन मेरो हा हा मै मरेकी एसा न हो कि र मन मेरो
२. हे हो उनै युग भैले
हा हो बारह बरिषको पिया हो हामु तेज गयेला एसा न हो कि र मन मेरो हा हा मै मरेकी एसा न हो कि र मन मेरो
३. हे हो ईरख ईरख भैले
हा हा कवोन कि गुन पिया हो हामु तेज गयेला एसा न हो कि र मन मेरो हा हा मै मरेकी एसा न हो कि र मन मेरो
४. हे हो ईनै ईरख भैले
हा हो बारह बरिषको पिया हो हामु तेज गयेला एसा न हो कि र मन मेरो हा हा मै मरेकी एसा न हो कि र मन मेरो
मझौटे गीतहरु
मझौटे गीतहरु समूहमा नाच्ने रमाईलो केन्द्रित गीतहरु हुन् । यो नाचमा दुईजना मादले, कम्तीमा तीन जना मारुनी र ३ जना पुर्छुङ्गे नाच्ने गरिन्छ । प्रहर अनुसारको बखान, फुलको बखान, दिशाहरुको बखान आदिको आधारमा मझौटे गीतहरु गाउने गरिन्छ । दर्शकको माझ मादलेहरु भाले जुद्धा झैं बुरुक्क बुरुक्क उफ्रेर खुट्टा ठोक्काई नाचलाई रमाईलो गर्छन् । नाच्नेहरुलाई हौंस्याउन गाउने समूहबाट चर्को स्वरमा सांकेतिक आवाज समेत दिने गरिन्छ । एउटा मझौटे गीत गाउन सामान्यतया ४५ मिनेट लाग्छ । बिहानी प्रहरमा बिहानी मझौटे, अपरान्हमा दोपहरे मझौटे र बेलुकी पख सन्ध्याकालिन मझौटै नाच्ने गरिन्छ । यहाँ छोरीको माया मझौटे गीत दिईएको छ ।

हा हा छोरीको माया लाग्दैन आमालाई धुरुमा धुरु रुवाई पो छोडी जान
हे हे पूर्वै दिशाको झुलुमुले घाम के यति नरिमाईलो झुलमुले घाम
हा हा छोरीको माया लाग्दैन आमालाई धुरुमा धुरु रुवाई पो छोडी जान
हे हे पश्चिमै दिशाको झुलुमुले घाम के यति नरिमाईलो झुलमुले घाम
हा हा छोरीको माया लाग्दैन आमालाई धुरुमा धुरु रुवाई पो छोडी जान
हे हे उत्तरै दिशाको झुलुमुले घाम के यति नरिमाईलो झुलमुले घाम
हा हा छोरीको माया लाग्दैन आमालाई धुरुमा धुरु रुवाई पो छोडी जान
हे हे दक्षिणै दिशाको झुलुमुले घाम के यति नरिमाईलो झुलमुले घाम
हा हा छोरीको माया लाग्दैन आमालाई धुरुमा धुरु रुवाई पो छोडी जान

ख्याली गीतहरु

ख्याली गीत रमाईलो केन्द्रित गीत हो । यो गीत गाउँदा बढीमा १० मिनेट समय लाग्छ । अन्य गीतमा जस्तै ख्याली गीतमा नाच्न धेरै मारुनी र पुर्छुङ्गे चाहिंदैन । ख्याली गीतमा नाच्न एकजना पुर्छुङ्गे, एक जना मारुनी र एक जना मादले भए पुग्छ । यस्ता गीतको एक चरण मात्र हुन्छ । माया पिरती, राजा महाराजाको बखान, युद्धको वर्णन, युवायुवतीका ख्याल ठट्टा तथा रीति संस्कारलाई एक चरणमा सकिने गरि गीत गाउने गरिन्छ । दर्शकलाई यस्ता ख्याली गीतहरु मन पर्छ । मारुनी र पुर्छुङ्गे फनफनी घुमेको हेर्न तथा मादलेको नाच्ने बजाउने सीप ख्याली गीतमा हेर्न पाईन्छ । मारुनी कोषमा रकम जुटाउन ख्याली गीतको प्रयोग गरिन्छ । ख्याली गीतमा पैसा झार्ने, टिपाउने र रकम दिने मानिसलाई धन्यवाद दिने गरिन्छ । ख्याली गीत पनि फरक फरक खालका हुन्छन् । दग्गा ख्याली, रामायण ख्याली, झाम्रे ख्याली, श्रृंगार रस ख्याली, बीररस ख्याली, बिदा ख्याली, चरित्र ख्याली आदि फरक फरक खालका ख्याली हुन् । केही ख्याली गीतहरु यस प्रकार छन् ।
१. देखो महारानी चाँदीको ढोका के यति रमाईलो दरबार
हा हा राजाको हुकुम हे दुनियाको सास्ती झिंगटीले छायो दरबार
२. जान्न र भन्थे आबै पल्लाघरे ठिटाले भुल्लै पा¥यो
हा हा पुरबै दिशाको मादले हे पश्चिमैको मारुनी आज मलाई भुल्लै पा¥यो
३. सल्लेनीको बाँगे पिपल खस्यो है बुलाकी
हा हा ऐना हेरी टिकी लाउँदा हे खस्यो बुलाकी
आशिक दिने गीत

आशिक दिने गीत नाचन समूहको तर्फबाट घरबेटीलाई आशिक दिंदा गाउने गरिन्छ । मुखियाको नामै र सुनी हामी आयौ खेलन भनि गीत शुरु गरिन्छ । यो गीत करिब ५५ मिनेट लामो हुन्छ । गाउँमा मारुनी नाच्दा नाचनेहरुलाई दान दक्षिणा दिन तयार भए पछि यो गीत गाउन शुरु हुन्छ । गीत गाउन थाले पछि घर नजिकका सबै नाच हेर्न बस्छन । गीतको दौरान कन्या तथा आमा समूहले रौरा तथा नाचन समूहलाई फूलमाला तथा टिका लगाउने गरिन्छ । नाचनमा उपस्थितजनले आमा समूह तथा कन्याहरुलाई पनि आफ्नो तर्फबाट टिका लगाई पैसा दिने गर्छन । यसै गरि घरबेटी पक्षबाट दान दक्षिणा दिई आँगनमा राख्ने गरिन्छ । औपचारिक नाचमा आशिक दिने गीत नाच्ने चलन छैन । छोरा जन्मेको खुशीयालीमा, पास्नीमा, नयाँ घर बनाउने खुशीमा वा यस्तै अन्य खुशीको अवसरमा आशिक गीत गाउन गरिन्छ । यो गीतको केही अंश यस प्रकार छ ।
मुखियाको नामै र सुनी हामी आयौं खेलन
मधेशको काँस र तामा–२, भरी भराउ हवैला
पर्वतैको सुन र नून–२, भरी भराउ हवैला
तीन र कन्या पाचै र पुत्र–२ लाखौ वरिष जिवैला
मुखियाले दिएको दान–२, कुमै चढाएम
मुखियाले दिएको दान–२, शिरै चढाएम
यी यस्ता शब्दले भरिएको गीत गाउँदै आशिक दिने गीत सकिन्छ ।
मारुनी फुकाउने
श्रृंगार गरिएका मारुनीका पहिरन सिर देखि पाईताला तर्फका कपडाहरु क्रमशः फुकाउँदै जाने गरिन्छ । पहिरन फुकाउँदा ठोकनको तालमा फुकाउने गरिन्छ । मारुनीले लगाउने कण्ठ, पाउजु, तिलहरी, चोली, पटुकी, फरिया, टिकीया आदि ठोकनको तालमा पालै पालो फुकाउने गरिन्छ । रम्भा गापा–२, फोक्सिङ्गकोट

Comments
Loading...