अध्यक्षमा सरस्वतीको उम्मेदवारीपछि बगनासकालीबासी उत्साही

0 2,923

पाल्पा । सरल स्वभावकी महिला नेतृ सरस्वती चिदीले गाउँपालिका अध्यक्षमा उम्मेद्वारी दिएपछि गाउँपालिकाबासी उत्साही भएका छन् ।
बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष चिदीलाई यसपटक नेकपा एमालेले अध्यक्षको रुपमा अगाडि सारेको छ । यसअघि उपाध्यक्षमा निर्वाचित चिदीले जिल्लामै लोकप्रिय महिला नेतृको परिचय बनाउनुभएको छ ।

नेपाली कांग्रेस सहित पाँच दलिय गठबन्धन एकातिर र नेकपा एमाले एक्लै चुनावी मैदानमा छ । ठुला दल नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत माओवादी मध्ये जनजाति समुदायबाट एमालेले मात्रै महिला प्रमुख पदमा जनजाति समुदायकी महिलालाई अगाडि सारेको हो । यसकारण पनि बगनासकालीका जनजाति समुदाय खुशी भएका छन् । एमालेले जिल्लामै पहिलो पटक प्रमुख पदमा महिलाको उम्मेदवारी घोषणा गरेको थियो । उहाँको उम्मेद्वारी घोषणासँगै अन्य केही दलले पनि महिलालाई अगाडि सारेका छन् ।

को हुन् सरस्वती ?

सरस्वती चिदी मगर बगनासकाली गाउँपालिकाका लागि २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्षको रुपमा निर्वाचित हुनुभएको थियो । उहाँले नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी बीचको चुनावी गठबन्धनका साझा उम्मेद्वारलाई समेत भारी मत मतले पराजित गर्नुभएको थियो ।

त्यतिबेला उपाध्यक्ष निर्वाचित भएपछि चिदीको चर्चा जिल्लभर चुलियो । उहाँले हरेक दिन समय आफ्नो जिम्मेवारी गम्भीरतापुर्वक पुरा गर्नुभयो । त्यसकारण पनि उहाँले आफ्नो राम्रो छवि बनाउनुभयो । बिहान ५ बजे उठेर घरधन्दा सकिएपछि ९ बजे गाउँपालिका कार्यालय हिडेपछि अधिकांश दिन घर फर्कदा राति अबेर भइसक्थ्यो । परिवारको साथ सहयोग लिँदै उहाँले जनताको सेवामा ५ वर्ष बिताउनुभयो । मानिसहरु पद प्रतिष्ठामा पुगेपछि स्थानीय जनसमुदायको कुरामा खासै ध्यान नदिने गरेका धेरै उदाहरण छन् तर उहाँ सदाबहार रुपमा बगानसकालीको सेवामा लागिपर्नुभयो । न्यायिक संयोजकको रुपमा रही देवानी प्रकृतिका मुद्धाहरुमा सही छलफल र समन्वय गराउनेमा चिदीको नाम जिल्लामै अग्रपंक्तिमा छ । अनुगमन समिति लगायत बिभिन्न समितिहरुमा रही उहाँले सफलतापुर्वक काम गर्नुभयो ।

अर्घाखाँची जिल्लामा जन्मनुभएकी चिदीको सानै उमेरदेखि नै समाजसेवामा इच्छा थियो । कलेज पढ्दा देखि नै नेकपा एमाले निकट अनेरास्ववियुमा आवद्ध हुनुभएको थियो । २० वर्षको उमेरमा बिवाह भयो, बालबच्चा जन्माउँदै हुर्काउँदै गर्दा पनि उहाँ सामाजिक कार्यहरुमा सक्रिय रुपमा लाग्नुभयो । उहाँको सरल स्वभावबाट प्रभावित भएर नै नेकपा एमालेले उहाँलाई उपाध्यक्षको रुपमा अगाडि सारेको थियो । उपाध्यक्षको रुपमा निर्वाचित भएपछि उहाँले समय नै जनताको सेवा दिनुभयो ।

उपाध्यक्षको रुपमा आएपछि महिलाको हक हित, एकल महिला, अपाङ्गता, भएका नागरिक लगायत आर्थिक सामाजिक रुपमा पछाडि परेका समुदायलाई बिभिन्न सञ्जालहरु मार्फत शसक्तिकरण गर्दै अगाडि बढाउन चिदीको महत्वपुर्ण भूमिका छ । लक्षित बर्गलाई आयआर्जनको पाटोमा माथि उकास्ने, किशोरी क्लवहरुको समुह बनाउने, महिला हिंसा, दुव्र्यवहार, बलात्कार, बालविबाह लगायतका क्षेत्रमा चिदीले सक्रियतापुर्वक काम गर्नुभयो । हरेक कार्यक्रममा समयमा पुग्ने, आमनागरिकका कुराहरु गम्भीरतापुर्वक सुन्ने र समाधानका पहल गर्ने उहाँको बिशेषता नै बन्यो ।

गाउँपालिकाको बिकास र हितका लागि पालिका अध्यक्ष सहित सरोकारवालाहरुसँग सहकार्य गर्दै उहाँ सहित नेकपा एमलेबाट निर्वाचित जनप्रतिनिधिहरुले निर्वाह गर्नुभएको भूमिका सराहनीय रहेको नेकपा एमालेका नेताहरु बताउँछन् । नेकपा एमाले प्रदेश सदस्य देबीप्रसाद बस्यालले लोकपिय महिला नेतृको रुपमा परिचय बनाउनुभएकी चिदीलाई एमालेबाट सर्वसम्मत रुपमा अध्यक्षको उम्मेद्वार बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो ‘उहाँको लोकप्रियताकै एमालेबाट मात्रै हैन आम जनसमुदायबाट पनि उहाँलाई नै अध्यक्ष बनाउनुपर्ने माग रहेकोले पनि उहाँ सर्वसम्मत अध्यक्षको उम्मेद्वार बन्नुभयो ।’

के छन् अवका योजनाः
नेकपा एमालेले बगनासकाली गाउँपालिका सहित सबै वडाहरुमा सर्वसम्मत् रुपमा उम्मेद्वार छनौट गरि मनोनयन गरेको छ । अहिले उम्मेद्वारहरु घरदैलो अभियानमा ब्यस्त छन् । एमालेले बगनासकाली गाउँपालिकाका लागि अध्यक्षमा सरस्वती चिदी र उपाध्यक्षमा हरि पाठकलाई अगाडि सारेको छ ।

उहाँको नेतृत्वमा रहनुभएका उम्मेदवारहरुले मतदाता सामु बिभिन्न प्रतिबद्धताहरु समेत गर्नुभएको छ । बगनासकालीलाई भ्रष्टचार मुक्त सुशासन युक्त गाउँपालिकाको रुपमा बिकास गर्ने, शुसासन आर्थिक पारदर्शिता र जवाफदेहितामा बिशेष जोड दिने, गाउँपालिकाको भवन निर्माण यथासिघ्र सम्पन्न गर्ने र प्रत्येक वडामा सुविधायुक्त कार्यालय भवन निर्माण गरि सेवा प्रवाहमा सहजता ल्याउने र प्रभावकारी बनाउने, सहभागितामुलक योजना तर्जुमा पद्धतिबाट ५ वर्षे आवधिक र २० वर्षे रणनीतिक योजना निर्माण गरि ९ वटै वडाको योजनाबद्ध बिकास गर्ने प्रतिबद्धता रहेको उहाँले बताउनुभयो ।

त्यस्तै बिकास निर्माणमा प्रभावकारीता अभिबृद्धि गर्न पुर्व जनप्रतिनिधि, बुद्धिजीवि, कृषक, उद्यमी, ब्यवसायी, समाजसेवी, एवम् सरोकारवाला समेतको सहभागिता सुनिश्चित गर्ने, बालबालिका जेष्ठ नागरिक, अल्पसंख्यक बोटे, कुमाल, दलित समुदायको साथै बिपन्न बर्गको कल्याणमा बिशेष कार्यक्रम सञ्चालन गर्ने, युवाहरुको क्षमता बिकास, रोजगारी सृजना तथा खेल क्षेत्रको बिकास गर्ने एमालेको प्रतिबद्धता रहेको छ ।
सीप बिकासका बिभिन्न तालिम सञ्चालन गरि युवा तथा महिलाहरुलाई आत्मनिर्भर गराउने, स्वास्थ्य चौकीहरुको स्तरोन्नती गर्ने र स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन गर्ने, दिगो कृषि बिकासको योजना बनाई कार्यान्वयन गर्ने साथै सिंचाई सुविधा बिस्तार गर्ने, कृषि क्षेत्रको व्यवसायिक विकास र बजारीकरणमा योजनाबद्ध काम गर्ने, बाँदर लगायत बन्यजस्तु नियन्त्रण र व्यवस्थापनमा ठोस पहल गर्ने, बन पैदावार तथा जडीबुटी उत्पादन तथा बजारीकरणमा जोड दिने, सामुदायिक बिद्यालयलाई सवलीकरण गरि शिक्षालाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउने साथै प्राविधिक एवम् व्यवसायिक शिक्षामा बिशेष जोड दिने प्रतिबद्धता रहेको उहाँले बताउनुभयो ।

खानेपानी आयोजना बिस्तार गरि एक घर एक धारा कार्यक्रम पुर्ण रुपमा लागू गर्ने, खानेपानीमा लाग्ने बिद्युत महसुलमा अनुदानको व्यवस्था गर्ने, आवधिक गुरुयोजना बनाई धार्मिक तथा पर्यटन बिकासमा जोड दिने, विद्यतुीकरण टेलिफोन तथा इन्टरनेट, सेवा विस्तारमा जोड दिने, सडक विस्तार, स्तरोन्नती तथा कालोपत्रे गर्ने, बगनासकाली चक्रपथ एवम् धार्मिक साँस्कृतिक केन्द्रहरुलाई जोड्ने मार्ग निर्माणको गुरुयोजना बनाई लागू गर्ने योजना रहेको चिदीले बताउनुभयो ।

Comments
Loading...