पुर्वखोलाले असार १ गतेबाट टोल शिक्षा चलाउँदै

0 161

पाल्पा । पूर्वखोला गाउँपालिकाले असार १ गते देखि विद्यार्थीहरुलाई पठन पाठन शुरु गर्ने भएको छ । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाको अध्यक्षतामा शिक्षा शाखाको जेठ २७ गते बसेको बैठकले टोल टोलमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।


गाउँपालिका अध्यक्ष थापाले एउटा टोलमा १० देखि १२ जना सम्म राख्ने र एक शिक्षकले दैनिक ३ घण्टा शिक्षण सिकाइका व्यवहारिक सीपहरु सिकाउने गरी मोडल तयार भएको बताए । “एउटा माध्यमिक विद्यालय सेवा भित्र ३०,४० वटा समुह पनि हुन सक्छन । ति समुहमा शिक्षकले स्थानीय तह, प्रदेश र संघीय संरचनाको ज्ञान, नैतिक मुल्य र मान्यता, सामाजिकीकरण, सामान्य ज्ञान, पेशा व्यवसाय, सूचना प्रविधि र मनोरञ्जनका साथै विषयगत ज्ञान सीपहरु सिकाउनु पर्ने गरी पाठ्यक्रम तयार गरेका छौं ।”–थापाले भने ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर पछाइले शिक्षक, विद्यार्थी र अभिभावकको सामाजिक सम्बन्धलाई निरन्तरता राख्न र लकडाउनका बेला परेको मानसिक असरलाई कम गर्न यो कार्यक्रमले सहयोग गर्ने बताए । उनले कोरोनाका कारण बाहिर रहेका शिक्षक भने टोलमा गएर पढाउन नमिल्ने बताए ।


गाउँपालिका शिक्षा शाखा अधिकृत डिल्लीराम ढुंगानाले गाउँपालिकाले कोरोनाबाट जोगिदै शिक्षा दिनका लागि टोलमै रहेका शिक्षकहरुलाई परिचालन गर्ने र टोलमा शिक्षकको अभाव भएमा टोलका शिक्षित व्यक्तिलाई स्वयंसेवकको रुपमा परिचालन गरेर पढाउन लगाउने बताए ।


उद्बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकहरी देवकोटाले शिक्षकले आ–आफ्नो घर, टोलका विद्यार्थीहरुलाई उपयुक्त स्थानमा बोलाउने, सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग गराउने, साबुनपानीले हात धुन लगाई सिकाइ कार्यमा लगाउने, सञ्चालित कक्षाको रेकर्ड राख्न लगाउने गरी योजना तयार भएको जानकारी दिए । स्थानीय विद्यार्थी तथा शिक्षकको अनुकुलता तथा सहमतीका आधारमा कक्षा सञ्चालन हुने उनको भनाई छ । देवकोटाले गाउँपालिकाको वडा नं ३ मा ३१ वटा टोल बनाइ शिक्षकको कार्यविभाजन भइसकेको र अरु टोलको टोल शिक्षा संख्या समेत कायम गरी कक्षा सञ्चान गर्न लागेको बताए ।

-झविन्द्र देवकोटाबाट

Comments
Loading...