आहा पाल्पाः इतिहास र गौरव

0 434

–के.बि.मसाल
पर्यटन भित्र ऐतिहासिक सम्पदा पनि हुन्छ । पाल्पाको भैरवस्थान, रुरु र अर्गली क्षेत्र तीर्थाटन एवं ऐतिहासिक खोज अनुसन्धान गर्ने पर्यटकहरुको लागि महत्वपुर्ण स्थल भएको छ । प्रदेश नम्वर ५ मा पर्ने पाल्पाका ऐतिहासिक पुरातात्विक सम्पदाहरु अहिले पर्यटकिय स्थलको रुपमा विकास हुन थालेका छन । तानसेनको श्रीनगर, अग्रेजसंगको लडाइमा विजयको उत्सवमा उजीर शमसेरले निर्माण गर्न लगाएका भगवतीको मन्दिर, खडक शमसेरद्धारा हावाखान र सैनिकहरुको जमघट गराउन निर्माण गरिएको शितलपाटी, एशियाकै ठुलो मानिने काठबाट निर्मीत शितलपाटीको मुलढोका, अमरनारायणको मन्दिर, दरवार जस्ता ऐतिहासिक स्थलले पर्यटकहरुका लागि अध्ययन अनुसन्धान र दृष्यावलोकनका स्थलहरु वनेका छन ।

नेपालमा विभिन्न समयमा राज्यहरुको विस्तार र विलयको क्रममा सेनवंशको नाम आउँछ । भारतका चितौर र सिसौदियाका राजपुतहरुको सन्तानको रुपमा चिनिएका सेनवंशी राजाहरुले आफ्नो शासनको समयमा धार्मीक, राजनीति र कुटनीतिको परिचय दिएका थिए । जुन इतिहास पुरातात्विक सम्पदा पर्यटकहरुका लागि अध्यन अनुसंन्धान र अवलोकनस्थल भएको छ । विक्रम सम्वत् १५७५ देखि १६१० सम्म पाल्पामा मणिमुकुन्द सेनले शासन गरेका थिए । त्यस बेला पाल्पा राज्यको राजधानी भैरवस्थानमा थियो । राजा मणिमुकुन्द सेनले कालीगण्डकी नदीमा स्नान गर्दा ऋषिकेशको शिलाले निधारमा ठोकिन पुग्यो । त्यर्सै दिन राती सपनामा स्नान गर्दा ठोकिएको शिला मेरो हो । म विष्णु भगवान हो । मलाई कालीगण्डकी आसपासमै मन्दिर बनाएर राख र सेवा गर भने पछि मणिमुकुन्द सेनले भेटिएको शिलालाई कालिगण्डकी र रिडी खोलाको संगम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन ।

नेपालमा हिन्दुका चारधाम अर्थात चार मुख्य तीर्थस्थलमध्येको रुरु क्षेत्रको पौराणिक इतिहास र महत्व धेरै छ । पाल्पा, गुल्मी र स्याङजा जिल्ला सिमाक्षेत्रको विचमा पर्ने रुरुक्षेत्र तीर्थाटनको लागि मात्र नभएर इतिहास र पुरातात्विक अध्यनको लागि पर्यटकहरु पुग्ने गर्दछन् । रुरु क्षेत्रमा देवदत्तमुनिले तपस्या गरी शिवत्व अर्थात् अष्ठसिद्धि प्राप्त गरेका थिए । उनकी सुपुत्री रुरु कन्याले पनि यही तपस्या गरी भगवान् विष्णुको प्रत्यक्ष दर्शन गरेकी थिइन् । संस्कृत भाषामा मृगलाई रुरु भनिन्छ । मृगले दुध खुवाएर हुर्काएको कन्या भएको हुनाले उनै कन्याको नामबाट रुरु क्षेत्र नाम रहन गएको हो । ऋषिकेश मन्दिरको मूर्तिलाई भगवान् विष्णुले रुरु कन्यालाई प्रत्यक्ष दर्शन दिएको साक्षात स्वरुप मानेर पूजा गर्दै आएका छन् । रुरु क्षेत्रमा देवदत्त, और्ब, वशिष्ठलगायत धेरै ऋषिमुनीले आश्रम स्थापना गरी तपस्या गरेको शास्त्रीय प्रमाण छन् । रुरु क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको धरोहर मानिन्छ । रुरु अर्थात रिडीमा पितृमोक्षका लागि अन्तिम सस्कार, श्राद्धजस्ता कार्य मात्र होइन विवाह, ब्रतवन्ध जस्ता शुभ कार्य पनि हुने गर्दछ । रुरु क्षेत्रमा मृतकहरुको अस्तु सेलाउन पनि मानिसहरु पुग्दछन ।

मणिमुकुन्द सेनले रुरुमा ऋषिकेशको मन्दिर निर्माण गरेपछि पूजाआजाको लागि अक्षता आवश्यक भयो । अर्गलीमा त्यस समयमा सबै पाखो जमिन रहेछ । मणिमुकुन्द सेन कै निर्देशनमा धान उत्पादन गर्न र ऋषिकेशको मन्दिरमा अक्षता बनाउनका लागि जोर्ते खोलाको कुलुङबाट अर्गलीसम्म ३ किलोमिटर दुरीको कुलो निर्माण भएको छ । निर्माण भएको कुलोमा करिव १ किलोमिटर लम्वाईमा कुलोमा सुरुङ रहेको छ । जुन कुलोलाई राजकुलो र जेठी कुलोको नामबाट प्रचलित छ । बिभिन्न ठाउँमा सुरुङको भाग छुट्टाएर चट्टानको बीचबाट लगिएको कुलो हेर्न आजभोली ऐतिहासिक खोजअनुसन्धान गर्न पर्यटकहरु पुग्ने गर्दछन् । स्थानिय कालगिढले उत्पादन गरेका छिनो, कोदाला र गल जस्ता औजारबाट खनिएको अर्गलीको सुरुङ कुलो आज भन्दा ४६७ बर्ष अगाडी खनिएको हो ।

अर्गलीको जेठी कुलो ऐतिहासिक हो । अहिले ऐतिहासिक कुलो अध्यन अवलोकन गर्नका लागि धेरै पर्यटकहरु पुग्ने गर्दछन् । कुलोको सुरुङमा कतिपय पर्यटक फोटो खिच्ने र सुरुङ भित्र पसेर रमाउने गर्दछन् । सयौं वर्षअघि बनेका सम्पदाको मौलिकता जोगाउन पुरातत्व विभाग र स्थानिय तह सबै लाग्नु पर्दछ । सूरुङ कुलोको इतिहास खोज अनुसंन्धान गर्नु पर्दछ । कुलो निर्माण गर्न मणिमुकुन्द सेनको निर्देशन भए पनि यो कुलो निर्माण गर्न कति समय लाग्यो ? यो निर्माण गर्न कस्ता किसिमका औजारहरु प्रयोग भएको थियो । निर्माण गर्दा मानविय क्षति भयो भएन ? कुलाको डिजाइन अर्थात नक्सा त्यो समयमा कस्ले बनायो ? यस्ता कुराहरु खोज्न जरुरी छ ।

त्यतिबेला निर्माण गरिएको एउटा कुलोको पानीले अर्गली फाटको सिंचाई सम्भव नभएपछि स्थानीय बासिन्दाहरुले पछि माईली, साइली र कान्छी कुलोको निर्माण गरेका थिए । तर पनि सबै कुलोहरुको पानी बितरण प्रणाली एउटै छ । अर्गलीमा रहेका कुलोहरुका कारणले बाह्रै महिना सिंचाईका कारण किसानहरुले राम्रो उत्पादन लिदै आएका छन् । तानसेनबाट ३० किलोमिटर पश्चिम तानसेन नगरपालिका १४ अर्गलीमा अर्गली फाट सिंचाईका लागि जेठी, माइली, साइली र कान्छी नामका ४ वटा कुलोले अर्गली क्षेत्रको २ सय १५ हेक्टर क्षेत्रफलमा सिंचाई गरिन्छ । यी सबै कुलाहरुमा जमिनको क्षेत्रफलको आधारमा समान रुपले पानी बितरण गर्ने बैज्ञानिक साँचो रहेको छ । यही साँचोले गर्दा नै पानी बितरणमा कहिल्यै कसैलाई बढी र कसैलाई कम भएको छैन । जमिनको क्षेत्रफलको आधारमा बढी जमिन हुनेका लागि बढी र कम जमिन हुनेका लागि कम पानी लोकतान्त्रिक पद्धतिमार्फत बितरण हुदै आएको छ ।

इतिहास लुकेको सम्पदा सुरुङ कुलो तानसेन पुगेपछि सबैलाई हेर्न मन लाग्छ । तानसेन देखि ९ किलोमिटर पश्चिम भैरवस्थान पर्दछ । रमणिय पहाडको टुप्पोमा रहेको भैरवस्थानमा विशेष गरी मंगलबार र शनिबारका दिन तीर्थाटनका पर्यटकको भिड हुने गर्दछ । भैरव मन्दिरको मुख्य बिशेषता मन्दिरमा चढाउने रोट हो । तीर्थाटनका पर्यटकहरुले एक माना वा एक पाथी चामलको पिठोबाट बनेको रोट चढाउने गर्दछन । पिठोमा नरिवल, किसमिस, छोकडा, ल्वाङ, सुकुमेल जस्ता मसालाहरु मिसाएर घिउमा पकाउने गरिन्छ । यसरी बनाएको रोट बटुक भैरब तथा देवीलाई चढाउने प्रचलन रहेको छ । भैरवको पूजा गर्न जाने तीर्थाटनका पर्यटकहरुले आफ्नो इच्छा अनुसारका पनि रोट बनाउन लगाउछन् ।

मुकुन्द सेन प्रथमले आफ्नो राज्य विस्तार गर्ने क्रममा काठमाडौं आक्रमण गर्दा मच्छिन्द्रनाथको पटांगिनीमा रहेको भैरवको मूर्ति ल्याई स्थापना गरेका हुन । पर्यटकहरुले भैरवस्थानमा तले शैलीको मन्दिर, सेनकालीन प्रसाद ब्लाइन्ड विन्डो, राणाकालीन, मल्लकालीन स्थापत्य कलाहरु एकै ठाउँमा देख्न सक्दछन् । मन्दिरमा चारैतिर घेरिएको चोक छ । चोकमा एसियाकै ठूलो ऐतिहासिक १६ औं शताब्दी निर्माण गरिएको सुनौलो त्रिशूल र मल्लकालीन कलाले निर्माण गरिएको गजुर छ । मन्दिरको माथिल्लो तलामा भैरवको मूर्ति स्थापना गरिएको छ । मुख्य भैरवलाई हेर्न नहुने विश्वासले मूर्तिलाई मन्दिरको भुइँतलामा राखिएको छ । भुइँतलाको अर्को कोठामा कालीको मूर्ति छ । अखण्ड धुनी चल्ने भैरवको मन्दिरमा पूजा गोरक्षनाथ सम्प्रदायका योगीबाट हुन्छ ।

रिडीमा रिडी खोला र कालीगण्डकी मिसिएको छ । कालीगण्डकी र रिडी खोलाको दोभान नै रिडी अर्थात रुरु क्षेत्र भनिन्छ । रुरुक्षेत्रमा अर्घली, कुसेनी, सत्यवती, रुद्रवेणी, अस्लेवा र वेनी गाउँहरु पर्दछन । रिडी अथवा रुरुक्षेत्रको महिमा हिमवतखण्ड र वराह पुराणमा पाइन्छ । विष्णुको स्वरुप शालिग्राम पाइने हुनाले रुरुक्षेत्रको विशेष महत्व रहेको छ । रिडीमा भएका सबै मन्दिर मध्ये ऋषिकेशको मूर्ति सबैभन्दा महत्वपूर्ण मानिन्छ । ऋषिकेशको मन्दिरलाई वि.सं.१८१९ सालमा रणदत्त पाण्डेले पुनर्निर्माण गराएका हुन । त्यहा राधाकृष्ण, विष्णु, राम, हनुमान् लगायतका थुपै्र देवीदेवताका मूर्ति र मन्दिरहरु समेत छन् । रिडी क्षेत्रका बारेमा प्रचलित किंवदन्ती अनुसार, विष्णुले वृन्दाको सतित्व नष्ट गरेकाले स्वर्गमा तारकासुरको मृत्यु भएको थियो । त्यसबाट दुःखित भएकी वृन्दाले विष्णुलाई पत्थर भएर बस्नुपर्ने श्राप दिएपछि विष्णु शालिग्रामका रुपमा रुरुमा बसेका हुन् । त्यसै गरी देवदत्त ऋषिको तपस्याबाट डराएर इन्द्रले पठाएकी अप्सराको गर्भबाट जन्मेकी रुरुकन्याको कथा पनि यस क्षेत्रसँग जोडिएको छ । रुरुकन्याको मूर्ति ऋषिकेशको मूर्तिको सामुन्ने स्थापित छ ।

रुरु क्षेत्रमा कालिगण्डकीमा स्नान गर्ने र ऋषिकेश मन्दिर, देवदत्त ऋषि तथा रुरुकन्या मुर्तिमा पूजाआजा गरेमा मोक्ष प्राप्ति हुने विश्वासले तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । माघे संक्रान्तिमा मेला लाग्ने रुरु क्षेत्रमा देवदत्त ऋषिले तपस्या गरेर रुरु कन्याको जन्म भएको र ती कन्यालाई मृृगहरुले दुध खुवाई हुर्काएको र विष्णुले चतुर्वाहु रुप लिएका थिए । रुरु क्षेत्रमा प्राचीन ऋषिकेश मन्दिर, भृगुतुङ्गेश्वर महादेवको गुफा, अचम्मेश्वर, रुरु कन्या मन्दिर अर्थात गलफूल गुफा, यज्ञमुक्तेश्वर महादेव, रुद्रवेणी, मणिमुकुन्देश्वर महादेव, कञ्चनेश्वर महादेव, लक्ष्मीनारायण मन्दिर, राम जानकी मन्दिर, रुरु कन्याले तपस्या गरेको गुफा, भीमसेन थापाद्वारा आफ्नी आमाको स्मृतिमा बनाएको पौवालगायतका ऐतिहासिक धार्मीकस्थल रिडीमा रहेको छ ।

रिडी नजिकै उत्तर पट्टी भृगुतुंग नामक गुफा रहेको छ । भृगुतुंग गुफामा भगवान शिबले सतीदेविका शब बोकेर भ्रमण गर्दै जादा उपल्लो दांत पतन भएको मान्यता रहेको छ । जुन श्रीस्वस्थानी महात्यम्यमा ब्याख्या गरिएको छ । त्यस ठाउमा खासगरि माघे सक्रान्ती र शिबरात्रीमामा तीर्थाटन पर्यटकहरुको भिड हुने गर्दछ । भृगुतुंग नामक गुफा स्याङजा जिल्लामा पर्दछ । रिडीमा जाने तीर्थाटनका पर्यटक गुल्मी जिल्लाको थोर्गा तर्फको भागमा रहेको गलफूलगुफा पनि पुग्दछन । गलफूलगुफा रिडी बजारबाट पाचँसय मिटर माथि रहेको छ । रुरु क्षेत्रमा साना ठूला गरेर १ सय भन्दा बढि मन्दिर र केहि गुफा पनि छन । जंहा दैनिक पूजा आजा गरिन्छ । माघे संक्रान्तिको पाँच दिनसम्म संचालन हुने रिडी मेलामा विशेषगरी स्थानीय ग्रामीण क्षेत्रबाट उत्पादन गरिएको गुण किन्न पाइन्छ । रिडीको पहीचान बन्दै थोर्गेली चाकु (गुण) को लागि पनि प्रसिद्ध रहेको छ । रिडीको थोर्गामा बन्ने यो चाकु देश तथा बिदेशका बिभिन्न स्थानहरुमा निर्यात हुने गरेको छ ।

कालीगण्डकीको तटमा रहेको रिडी बजार २०१८ सालमा आएको भिषण बाढीले पुरै ध्वस्त बनाएको थियो । त्यस बेला रिडीका ऐतिहासिक धार्मिक महत्वका सम्पदाहरु र ठूलो धनजनको क्षती भएको थियो । बिनास पछी बनेको घरहरु, मन्दिर, पाटी, पौवा र बगैचाहरुले रिडीलाई सौन्र्दयता दिन थालेको छ । कालिगण्डकी जलविद्युत परियोजनाले मिर्मीबाट टनेल गराएर गण्डकीको पानीबाट विद्युत उत्पादन गर्न थालेपछि रिडीमा गण्डकीको पानी कम हुने र तीर्थाटन पर्यटकहरुलाई स्नान गर्न रुद्रवेनी देखि बग्दै आउने वेनी र रिडी खोलाको पानीले मात्र स्नान गर्न पर्दछ । अहिले रुरु गाउँपालिकाले कालिगण्डकीलाई जलाशय निर्माण गर्ने योजना ल्याएको छ । अर्को तर्फ स्याङजा,गुल्मी र पाल्पा जोडने पुल समेत बन्न लागेको छ । योजना सम्पन्न भए पछि रिडीमा तीर्थाटनका पर्यटक मात्र होइन जलाशयका रमाउने अन्य पर्यटकहरुको समेत गन्तब्य हुनेछ ।

अर्गलीमा लुकेको इतिहास
विक्रम संवत् १९९७ सालमा जुद्ध शमशेरको पालामा दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको पाशविक हत्या भएको थियो । हत्याको पाप, राप र तापमा जलेका राणा प्रधानमन्त्री जुद्ध शमशेर बि.स.२००२ मंसिर १४ गते सिंहदरबारको शासनसत्ता छाडेर जोगीको रुप धारण गरेर अर्गेली पुगे । जुद्ध शमशेरले अंग्रेजहरुले भारत छोडदा नेपाललाई दिन चाहेको भूमि स्वीकार गरेनन् । सन् १९४२ भारतमा अग्रेजको विरुद्ध आन्दोलन सुरु भएपछि दूत पठाएर जुद्धशमशेरलाई कलकत्ता बोलाई हामी भारत छाड्दै छौं, तिमीहरुको देशको पहुँच समुद्रसम्म छैन । त्यसैले पूर्वी नाकाबाट बंगाल खाडीसम्मको भू–भाग तिमीहरुलाई सुम्पिन चाहन्छौं’ भनेछन् । तर जुद्धशमशेर उक्त प्रस्ताव आँटै नगरी फर्किएछन् । खासमा अंग्रेजहरु भारतलाई घेर्न सकिने गरी टुक्राटुक्रा पारेर जान चाहेका रहेछन् । त्यसैले नेपाललाई समुद्रसम्मको पहुँच बनाउन भनेका रहेछन् ।

जुद्ध शमशेरले प्रधानमन्त्री पद त्याग गरी सन्यासी जीवन बिताउन रिडी बजारबाट पाँच किलोमिटर पूर्व अर्गलीमा दरबार बनाएका थिए । तानसेन–रिडी सडकखण्डको अर्गलीदेखि माथि टाकुरामा अर्गली दरबार छ । विक्रम संवत् १९९७ मा निर्माणकार्य शुरु भएको दरबारमा इँटा, फलाम, काठ, प्रस्तर एवं अन्य भौतिक सामग्री प्रयोग भएको थियो । अहिले पनि दरवारमा बाथरुम, बैठककक्ष, पल्टन राख्ने स्थान, राजाका सुसारेकक्ष देखिन्छ । दरबार निर्माणका क्रममा प्यूठान, अर्घाखाँची र पाल्पाका जनताको जनश्रमदान लगाइएको थियो । जुद्ध शमशेर अर्गलीमा रहदा कालीगण्डकीमा नित्य, स्नान गरी ऋषिकेश मन्दिरको दर्शन गर्दथिए । जुद्ध शमशेर अर्गली छाडेर भारत गएपछि ऐतिहासिक दरबार भग्नावशेषमा बदलिएको छ ।

Comments
Loading...