उपचार अभावमा खोरमा थुनिएका पाल्पा तेल्घाका तुलारामको दुखद दैनिकी

0 1,509

यज्ञमूर्ति तिमिल्सिना । पाल्पा
उचित उपचारको अभावमा तानसेन नगरपालिका–१० तेल्घा बाझोबारीका ३४ बर्षीय तुलाराम कामीले घरभित्रै थुनिएर दैनिकी बिताउँदै आउनुभएको छ । उहाँलाई घरको पिढीमा बनाइएको बाँसको खोरमा थुनेर राख्ने गरिएको छ ।

तुलाराम मानसिक बिरामी भएकोले आफुहरु घरमा नभएको अवस्थामा थुनेर राख्ने गरिएको उहाँकी आमा मनसरी कामीले बताउनुभयो । उहाँ जन्मदै शारिरीक, मानसिक रुपमा अपांगता सहित जन्मनुभएको थियो । आफुहरु दिनभरि काममा हिड्नुपर्ने र छोरालाई घरमा एक्लै बाहिर छोड्दा हराउँने, कतै ढिकबाट लड्ने, गाउँमा पुगेर अरुलाई दुःख दिने डरले आफुहरुले खोरमा थुनेर राख्ने गरेको तुलारामकी आमा मनसरी कामीले बताउनुभयो ।

मनसरीका पति तेज बहादुर कामी पनि बोल्न सक्नुहुन्न । तर उहाँले अरुले भनेको कुरा बुझ्ने र सोही अनुसार काम गर्ने गर्नुहुन्छ । तेज बहादुर मेलापात र मिस्त्री काम गर्नुहुन्छ । फुर्सदको समयमा डोको बुन्ने काम पनि गर्नुहुन्छ । त्यसैको पैसाबाट उहाँहरुको घर गुजारा चलेको छ । उहाँहरुका २ छोरी र २ छोरी हुन् । छोरीहरुमा कुनै पनि समस्या छैन । त्यसैले उहाँहरुको बिहे पनि भइसकेको छ । तर दुबै जना छोरा भने अपांग छन् । कान्छा छोरा शिव कामी २८ बर्षको पुग्नुभयो । उहाँ पनि बोल्न सक्नुहुन्न । घरमा दुबै जना बोल्न नसक्ने भएकोले निकै दुःख भएको मनसरीको दुखेसो छ ।

आफु्हरु बुढाबुढी बाचुञ्जेल छोराहरुको रेखदेख जसो तसो गरेपनि आफुहरुको शेषपछि छोराहरुलाई कसले हेरबिचार गर्ला, कसले खान देला भन्ने पिरलोले सताउने गरेको मनसरीले बताउनुभयो । दिउँसोको समयमा छोरालाई पिढीको खोरमा थुनेर राख्ने गरेको र रातिको समयमा कहिलेकाँहि घर भित्र लैजाने गरेको मनसरीले बताउनुभयो । आफुहरु सबै घरमा रहेका बेला कहिलेकाँहि खोर बाट बाहिर निकाल्ने गरेको उहाँले बताउनुभयो । तुलारामलाई हिड्डुल गर्न सक्ने अवस्था देखि नै यसरी राख्ने गरिएको उहाँले बताउनुभयो । “हामी काममा हिडिरहनुपर्छ, उसैलाई कुरेर बस्न सम्भव पनि भएन त्यसैले उसलाई थुनेरै राख्छौं ।” उहाँले भन्नुभयो । तुलाराम जन्मदै फरक क्षमता लिएर जन्मिनुभएको उहाँले बताउनुभयो । “जन्मदा पनि सानो पुड्को थियो, अहिले पनि होचै छ, पछि बोल्छ कि भन्ने लाग्याथियो तर बोल्न पनि सकेन, आखिरमा मानसिक समस्या पनि देखियो ।” तुलारामकी आमा मनसरीले भन्नुभयो ।

छोराको उपचार र नियमित फिजियोथेरापी गराउने हो भने निको हुन्छ भनेर धेरैले भन्ने गरेपनि आर्थिक अवस्था कमजोर भएकै कारण उहाँको उचित उपचार र फिजियोथेरापी गर्ने ठाउँसम्म लैजान नसकिएको उहाँले बताउनुभयो । यो परिवारले दैनिक गुजारा निमेक गरेरै चलाउँदै आउनुभएको छ । घर नजिकै सानो पाटो बारी छ तर त्यहाँ फलेको मकैले १ महिना पनि पुग्दैन । सानो बारीमा लगाएको सबै मकै पनि भित्र्याउन नपाएको मनसरीले बताउनुभयो । “बाँदरले हैरान बनाउँछ, यसपटक पनि कलिकता मकै बाँदरले खाईदियो, बचेको घरमा ल्यायौ, त्यो मकैले एक महिना पनि चल्दैन ।”

तानसेन नगरपालिका–१० का वडाध्यक्ष लोचनप्रसाद तिमिल्सिनाले आफु निर्वाचित भएलगत्तै तुलारामको अवस्था थाहा पाएपछि आफ्नै नीजि गाडीमा राखेर सदरमुकाम लगि २०७६ सालमा तुलारामको नागरिकता बनाइदिएको बताउनुभयो । पछि जिल्ला स्तरीय टोली नै घरमै ल्याई २०७६ माघ महिनामा तुलारामलाई पुर्ण अपांगताको परिचयपत्र उपलब्ध गराई सरकारको तर्फबाट मासिक ३ हजार रुपैयाँ अपांगता भत्ता उपलब्ध गराउँदै आएको तिमिल्सिनाले बताउनुभयो । उपचार गर्न सक्ने हो भने निको हुन सक्ने भएकोले सहयोगी ब्यक्तिहरुको खोजीमा तुलारामको परिवार रहेका छन् ।

Comments
Loading...