उपचार खर्च तिर्न नसकेपछि मृतकको दाहसंस्कार हुन सकेन

0 610

पाल्पा । कोरोना संक्रमण भई उपचारको क्रममा खर्च भएको रकम तिर्न नसक्दा पाल्पाका एक जना पुरुषको दाहसंस्कार हुन सकेको छैन ।

लुम्बिनी मेडिकल कलेज तानसेनले उपचार खर्च बापतको रकम नतिरुञ्जेल आफन्तलाई शव दिन इन्कार गरेपछि तानसेन नगरपालिका जमानी बसी शव लैजान सक्ने बातावरण मिलाएको छ । तर कसले कहाँ शवको दाहसंस्कार गर्ने भन्नेमै दिनभर छलफल चलिरहेपनि यो समाचार तयार पार्दासम्म कुनै टुंगो लागेको छैन ।

तानसेन ९ डाँडाडुमका ५८ बर्षीय एक पुरुषको कोरोनाका कारण बुधवार निधन भएको थियो । उपचार खर्च तिर्न नसकेपछि मृतकका ज्वाई गुहारका लागि वडा कार्यालय पुगेका थिए । मृतक ४ दिन देखी सोही अस्पतालमा उपचाररत थिए ।

तानसेन नगरपालिका ९ का वडा अध्यक्ष हरिसमर रेग्मीले मृतकको आर्थिक अवस्था निकै कमजोर भएको बताउदै उपचार खर्च मिनाहाका लागि वडा कार्यालयले सिफारिस समेत गरिएको बताए । मेडिकल कलेजले मिनाहा तथा छुट गर्न नसकेको कुरा बिरामीका आफन्तलाई बताएपपछि तानसेन नगरपालिका मेयर अशोक कुमार शाहीले अस्पतालमा टेलिफोन सम्पर्क गरि उपचारमा लागेको पैसा तिर्ने गरि आफु जमानी बसेका हुन् ।

नगरपालिकाले मेडिकल कलेजलाई शव दिन र वक्यौता रकमका लागि नगरपालिका जमानी रहेको बताएपछि मेडिकल कलेज शव दिन राजी भएको हो । उनको उपचारका लागि १ लाख ७५ हजार खर्च भएको र त्यसमध्ये २० हजार धरौटी थियो ।

नगरपालिका जमानी बसेपछि मेडिकल कलेजले शव उठाउन दिएपनि आफुसंग अस्पतालबाट शव लैजाने पैसा नभएको मृतकका ज्वाई राजु बिकले बताए । ‘ससुरा घरजग्गा बिहिन हो, आफ्नो कोही छैन, मसंग पनि १०० रुपैयाँ छैन, छोराहरु छैनन, अब कसरी शव लाने ? कहाँ को संग गुहार माग्ने ? लौन तपाँइले कहिँ केहि भनेर हुन्छकी ।’ छिमेकी बुद्दिबहादुर बिकले चरम आर्थिक संकट भएकाले दाहसंस्कार गर्ने क्षमता पनि नभएको बताए ।

लुम्बिनी मेडिकल कलेज प्रभासका निर्देशक निर्दोष खनालले कलेजले सबै रकम छुट दिन नसक्ने अवस्था भएपछि नगरपालिकासित समन्वय गरि नगरपालिकाले तिर्ने प्रतिबद्धता गरेको बताए । “हामीले २० हजार मात्रै धरौटी लिएर बिचमा पैसा नमागी सरासर उपचार गरेका हौं ।” उनले भने ।

Comments
Loading...