कुसुमखोलाका युवाहरुले गाउँ फर्केर च्याउ खेती थाले

0 327

खेमराज पाण्डे (श्रीधर) । पाल्पा
धेरै युवाहरु रोजगारीको सिलसिलामा परदेशिएका छन् । अहिले पनि यो क्रम जारी छ । परदेश नगएकाहरु पनि रोजगारीको खोजीमा राजधानी सहित शहर केन्द्रीत हुने क्रम बढेको छ । तर यहाँको युवाहरु भने गाउँमै समृद्धि खोज्दैछन् ।

जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नं. ५ कुसुमखोला सईटोलाका युवाहरुले विदेश र शहरमा भन्दा गाउँमै पनि अवसर र सम्भावना देखेर गाउँमै फर्केर उद्यमशीलताको अभियान सुरु गरेका छन् । विदेशमा गएर राम्रो रोजगारी नपाएर सदेश फिर्ता भएका र गाउँमा रोजगारी गुमाएका युवाहरुलाई रोजगारी सिर्जना गर्न उनीहरुले युवा समुह नै बनाएर उद्यमशीलता तर्फ लागेका हुन् ।

स्थानीय २० जना भन्दा बढी युवाहरुको एक समुहले च्याउको ब्यवसायिक खेति सुरु गरेर त्यसमा गाउँका युवालाई रोजगारी दिने योजनामा छन । सइटोला गाउँका युवाहरुले १९ लाखको लगानीमा सिटाके च्याउको ब्यवासायिक उत्पादन थालेका छन् । स्वदेश देखि विदेशमा रहेका युवाहरुको सामुहिक लगानीमा सुरु गरिएको च्याउ फर्ममा अहिले गाउँ देखि तानसेन,बुटवल,काठमाण्डौं लगायतका विभिन्न ठाउँमा पेशा ब्यवासायमा आवद्ध गाउँका युवाहरु संगठित भएर च्याउ उद्यममा होमिएका हुन ।

घर नजिकैको खोरियामा खेरा गएका कटुस (धार्ने)को करिब ५ हजार काठको मुडामा सिताके च्याउ फल्न सुरु गरेको छ । डेढ वर्ष अघि देखि काम सुरु गरिएको च्याउ समुहमा गित संगितको क्षेत्रमा ख्याती कमाएका गायक विधान कार्की पनि यही समूह मार्फत च्याउ उत्पादनमा लागेका छन् । उनले यो अभियानले जिल्ला महत्व राख्ने बताए । यो समय उद्यमशीलताको समय भएकोले पनि आफुहरुले यो कार्यको शुभारम्भ गरेको उनको भनाई छ ।

यो समुहको अग्रसरता देखेर जिल्लामा च्याउ केशबको नामले परिचित केशव कार्कीले अप्रत्यक्ष अप्रत्यक्ष रुपमा प्राविधिक तथा ब्यवसायिक सिप सिकाउँदै आएका छन् । विगत १० वर्ष देखि ब्यवासयिक च्याउको उत्पादन गर्दै आएका च्याउ उद्यमी कार्कीले लुम्बिनी प्रदेशमा १ हजार युवालाई रोजगारी प्रदान गर्ने लक्ष्यका साथ आफु अगाडि बढेको बताए । आफ्नो गाउँ आफैं बनाउ भन्ने संकलपले युवाहरुले सुरु गरेको यो प्रयासले गतिलो उदाहारण प्रस्तुत गरेको छ नै युवाहरुमा बढ्दो वैदेशिक मोहलाई निरुत्साहित गर्न समेत महत्वपुर्ण भुमिका खेल्न सक्ने देखिन्छ ।

Comments
Loading...