के तपाई जन्तीलुङ र मरामकोट पुग्नु भयो त ?

0 1,005

–के.बि..मसाल
गर्मीको समय तपाई बुटवल, भैरवा अथवा कतै हुनुहुन्छ ? तपाई केहिदिन घुमफिरको लागि सितल र रमणिय ठाउको खोजी गर्दै हुनुहुन्छ भने पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा पर्ने जन्तीलुङग र मरामकोट जानुहोस । गर्मीको समयमा शीतल हुने हुँदा फागुन, चैत्र, वैशाख महिनामा तराईका जिल्लाबाट बढी पर्यटकहरु जन्तीलुङग र मरामकोटमा घुमफिर गर्न पुग्दछन् । यी गाउँमा पुगेपछि उत्तरतर्फ सेतै टल्किएका धवलागिरि देखि अन्नपूर्ण, माछापुच्छ्रे र गणेश हिमाल समेत पर्यटकहरुले अवलोकन गर्न सक्दछन् । जन्तीलुङग र मरामकोट गाउँबाट दक्षिणतर्फ रुपन्देहीको बुटवल, भैरहवा, सालझन्डी,दाउन्ने र बर्दघाट पनि देखिन्छ ।

बुटवल देखि सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक हुदै अगाडी लागेपछि सुरुहुन्छ महाभारत पर्वत । चिडिया खोलामा रहेको सिद्ध बाबाको मन्दिर र रुपन्देही र पाल्पाको सिमानामा निर्माण गरिएको स्वागतद्धारले सबैलाई स्वागत गर्दछ । त्यस पछि तिनाउ नदी किनारमा पुरातात्विक खोज अनुसन्धानले मानव सभ्यता विकास क्रमका अवशेषहरु प्राप्त गरेको स्थान आउछ । जहा वि.सं.२०३७ सालमा पुरातात्विक उत्खनन् गर्दा डा.जे.एच.हचिन्सनले एक करोड दस लाख वर्ष पुरानो रामापिथेकस अर्थात बाँदरभन्दा पछि र मानवभन्दा अघिको प्रजातिको अगाडिको दाँत प्राप्त गरेका थिए । आदिम मानवको दात फेला परेको ठाउ रामापिथेकस पार्क इतिहासका बिद्यार्थीहरुका लागि खोज अनुसन्धान गर्ने स्थल मानिन्छ ।
गर्मीको समयमा त्यसपछि अगाडी लागेपछि सुरुहुन्छ शितलताको अनुभूती । झुम्साको पुल तरेपछि जती पहाड चढदै जानुहुन्छ अर्कै आनन्द । यात्रामा देख्नुहुन्छ नागवेली डाडाकाडा तल तिनाउ नदी, प्राकृतिक झरना र महाभारत पर्वतका श्रृखला । केरावारीमा पुगेपछि गर्मी समयमा अर्कै आनन्द चिसो पानी मौसम अनुसार पहाडका फलफुल, खाना खानको लागि होटलहरुले गर्ने सत्कार । बुटवलको गर्मीबाट एकैछिनको यात्रामा मौसमनै परिवर्तन भए झै लाग्ने चिसोको अनुभूती ।

जन्तीलुङग पुग्नको लागि सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डको डूभ्रे देखि मस्याम हुदै नौ किलोमिटर यात्रामा जन्तीलुङग पुग्न सकिन्छ भने जोरधारा र चरचरे बिचको नयाँ बजारबाट करिव ५ कि.मी उकालो यात्रा गर्दै मरामकोट भएर पनि जन्तीलुङग पुग्न सकिन्छ । तपाई बुटवल देखि जन्तीलुङग जादै हुनुहुन्छ भने मरामकोट भएर पनि जादा हुन्छ ।
महाभारत पर्वतको डाडाबाट हिमाल, पहाड र तराईका सुन्दर फाँट प्राय कमै स्थानबाट अवलोकन गर्न पाइन्छ । त्यो विशेषता जन्तीलुङग र मराकोटमा पाइन्छ । जन्तीलुङग र मराकोटबाट बिहानको सूर्योदय र बेलुकीको सूर्यास्त हेर्न पनि सकिन्छ । सूर्योदयको जुन दृष्य देख्न पाउदा ग्रामीण पर्यटकहरु रमाउछन् । गाउँमा सञ्चालन भएको होमस्टेले जन्तीलुङगमा जाने पर्यटकहरुलाई खान बस्न सजिलो भएको छ । बेलुका गाउँमा पुगेका पर्यटकलाई स्थानीयवासीले न्यानो आतिथ्यता सहित शुरुमा मकै, भट्ट जस्ता स्थानीय उत्पादनका परिकारको खाजा खुवाउने गर्दछन् । मगर जातीको परम्परागत मौलिक खानाको स्वाद लिन्छन् । मूलाको अचार, कोदोको सेलरोटी, फापर र मकैको ढिडो स्थानीय कुखुराको मासु, इच्छा हुनेले लोकल रक्सीको स्वाद समेत लिन्छन् । पर्यटकहरुको चाहना भए बारा अर्थात बटुक,चुकाउनी, वन तरुल र गन्जीको समेत स्वाद लिन पाइन्छ ।

बेलुकाको खाना पछि मगर जातिका विभिन्न सांस्कृतिक प्रस्तुतिबाट पर्यटकहरुलाई मनोरञ्जन दिने गर्दछन् । जन्तीलुङग गाउँमा १५ घरमा अहिले होमस्टे सञ्चालित छ । गाउँमा पुग्ने पर्यटकलाई सयपत्रीको मालाले स्वागत गर्छन् । साँझको समयमा पर्पटकहरुलाई मगर समुदायको पुरानो संस्कृतिको झाम्रे, ठूलोनाच र सालैजो गीतसहितको सांस्कृतिक मनोरञ्जन पनि प्रदान गरिन्छ । पर्यटक नाचगान र मगर संस्कृति अनुसार स्वागत पाउँदा दंग पर्दछन् । बिहानको चिया, खाजा खुवायर होमस्टेमा बस्ने पर्यटकहरुलाई बिदावारी गर्ने गर्दछन् । जन्तीलुङग गाउँको डाडामा टेलिकम, एनसेललगायत विभिन्न इन्टरनेट कम्पनीले टावर राखेका छन् । टावर वरपर गएर पर्यटकहरुले फोटो समेत खिच्ने गर्दछन् ।

डुभ्रेमा जन्तीलुङग जाने सडकमा प्रवेशद्वार समेत स्थापना गरिएको छ । प्रवेशद्वारबाट उकालो लागेपछि बाटोमा पर्ने तारीडाडा, कुटेडाडा, बेलचौतारी, जगतडाडा, समबारी र देउराली हटिया मस्याम हुदै जन्तीलुङग पुग्न सकिन्छ । जन्तीलुङमा मगर जातीको मात्र बस्ती भएको गाउँ हो । जन्तीलुङग गाउँ सामुन्द्रिक सतह देखि १ हजार ६०० मिटरको उचाईमा पर्दछ । यात्रामा जती माथी डाँडामा चढदै गयो त्यहाबाट देखिने डाडाकाडा र गाउँबस्तीको सुन्दरताको दृष्य अवलोकन गर्न पाउदा पर्यटकहरु रमाउछन् । जन्तीलुङगको नाम मगर भाषाबाट राखिएको हो । मगर भाषामा ढुङगालाई लुङग भनिन्छ । पहाडको चुचुरोमा प्राकृतिक रुपले जन्ती जस्तै लहरै ढुङगा रहेकोले ठाउको नाम जन्तीलुङग राखिएको हो । जन्तीलुङगमा लम्टरी, लामिछाने, चिडी, थापा र हिस्की थरका मगरजातीको बसोबास छ ।

देउराली हटिया मस्याम गाउँ ऐतिहासिक स्थल हो । मस्याम गाउँ लमतन्न लस्किएको डाडामा पर्दछ । यो डाडाका बस्तीमा बढि मस्याङको खेती हुने हुदा ठाउको नाम मस्याम भएको हो । सिद्धार्थ राजमार्ग बन्नु भन्दा पहिले पाल्पा, गुल्मी, स्याङजा लगायतका मानिसहरु बुटवल आउन जान मस्यामको बाटो भएर हिडने गर्दथिए । यसरी पैदल हिडदा हटियाबाट सिस्ने खोला, मरेक, रानीबास, साजबास, दोभान हुदै नुवाकोट भएर जीतगढी निस्कने पैदल मार्गको मुख्य बाटो थियो । ती कुरा अहिले कथा बनेका छन् । तर पनि जन्तीलुङग जाने ग्रामीण पर्यटकहरु आफ्नो पुर्खाहरु नुन तेल लिनको लागि पैदल यात्रा गरेको ठाउ भएको हुदा स्थानिय बासीहरुसग सोधखोज गर्ने, सेल्फि लिने गाउँ र डाडाकाडाको फोटो खिच्ने गर्दछन् ।

आजभोली जन्तीलुङगमा ग्रामीण पर्यटकहरुको चहलपहल बढदो मात्रामा हुने गर्दछ । जन्तीलुङगको विशाल ढुङ्गाको पहाडमाथि बसेर प्रकृतिको दृश्यावलोकन गर्न पाउदा पर्यटहरु रमाउछन । जन्तीलुङगबाट तानसेन बजार, श्रीनगर, मात्र होइन तिनाउ नदी पारीका धेरै गाउँहरु एकै ठाउबाट अवलोकन गर्न सकिन्छ । पर्यटकहरको साथमा दुरबिन भए त्यसको मजा अर्कै हुन्छ । प्राकृतिक दृष्टिकोणले रमणीय स्थल भएकाले जन्तीलुङगमा पर्यटकहरु घुमफिर गर्न रुचाउँछन् । जन्तीलुङगमा पर्यटकहरुकै लागि पार्क समेत बनाइएको छ । पर्यटकहरुका लागि पार्क भित्र जान सिँढी, सुरक्षाका लागि रेलिङ, फोटो खिच्ने भ्यु प्वाइन्ट लगायतका संरचना निर्माण भएका छन् । जन्तीलुङग गाउँमा रिचार्ज पोखरी समेत निर्माण गरिएको छ । अर्को तर्फ जन्तीलुङगमा होमस्टेमा बस्ने पर्यटकहरुलाई स्वागत र बिदाई गर्ने सामुदायिक भवन पनि निर्माण भएको छ । गाउँमा पुग्ने पर्यटकलाई स्वागत तथा विदाई र स्थानीय संस्कृतिको प्रदर्शनी स्थलका रुपमा सामुदायिक भवन प्रयोगमा आएको छ ।
जन्तीलुङग घुमफिर गरेपछि पर्यटकहरु मरामकोट पनि पुग्दछन् । जन्तीलुङग र मरामकोट दुबै गाउँ मगर संस्कृति र सभ्यता बोकेको गाउँ हो । मरामकोट गाउँ समुद्रीक सतहदेखि एक हजार दुईसय मीटर उचाइँमा पर्दछ ।

मरामकोट गाउँ हेर्दैमा सुन्दर र मनमोहक छ । सबै मगर जातीको बसोवास भएको मरामकोट गाउँमा ५५ घर धुरी रहेको छ । मरामकोट गाउँमा खाम्चा, दर्लामी, आले मगरहरुको सख्या धेरै छ । गाउँमा तीन पुस्ता सम्म छुट्टीभिन्न नभएर एउटै घरमा बस्ने गरेको पनि भेटिन्छन् । मरामकोट गाउँमा तीन पुस्ता सम्म एउटै चुल्होमा खाना पकाएर खाने पारिवारिक मिलनको नमूना पनि देख्न सकिन्छ । मरामकोट गाउँबाट हेर्दा उत्तरतिर मौसम सफा भएको बेला हिमाली श्रृखलाहरु को मनमोहक दृष्य देख्न सकिन्छ ।

मरामकोटको नाउ मगर भाषाबाट आएको हो । मरान्च शब्द मगर भाषामा रमाईलो अर्थ लाग्दछ । कोट भन्नाले हातहतियार राख्ने ठाउँ हो । मरान्चबाट बोल्ने क्रममा मराम हुन गएको हो । मरामकोटको मौसम प्रायः चिसो हुन्छ । मरामकोट गाउँमा साउन भदौमा पनि राती सिरक ओढ्नु पर्दछ । गाउँमा होमस्टे सन्चालन भएको छ । फोटा खिच्नको लागि भ्यू प्वाइन्ट बनेको छ । मरामकोट गाउँमा मिराङलुङग पहाड पर्दछ । जुन पहाड मरामकोट जाने पर्यटकहरुलाई आकर्षण केन्द्र बनेको छ । मगर भाषामा मिराङ भनेको सिङ र लुङ भनेको ढुङगा भन्ने अर्थ हुन्छ । अर्थात सजिलोगरी बुझनको लागि जनावरका सिङ जस्तै आकार भएको ढुङ्गा भन्ने अर्थ लाग्छ । पर्यटकलाई आकर्षित गर्नका लागि मिराङलुङगमा फलामको रेलिङ राखिएको छ । मरामकोट गाउँमा पर्यटक भित्राउन पुर्वाधारको विकास थपिदै गएको छ ।

आफ्नै मौलिक संस्कार संस्कृति रहेका मगर जातिको आफ्नै भेष भुषा, भाषा, धर्म, संस्कार र सांस्कारिक पद्धति रहेको छ । जन्तीलुङग र मरामकोट गाउँमा बुढापाकाले अझैपनि पुरुषहरुले भोटो–कछाडसँगै निलो पटुकी र भाङग्रा, शीरमा टोपी र महिलाहरुले मखमली चोली, छिटको गुन्यु, टिकिस, पहेँलो र निलो पटुकी, गलामा पहेँलो र हरियो पोते साथैमा कण्ठमाला र मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी र ढुंग्री, नाकमा बुलाकी लगाउने गर्दछन् । शहर बजार देखि गाउँमा पुगेका युवा पर्यटकहरु गाउँलेहरको यस्ता मगर जातीको पहिरन लेख्दा अचम्म मान्दछन् । कोहि उनिहरुसंग सेल्फि लिन पुग्छन् भने कतिले त उनिहरुकै पहिरनमा फोटो समेत खिचाउछन् ।

जन्तीलुङग र मरामकोट घुमफिरको लागि जाने पर्यटकहरुले खास गरी प्राकृतिक दृष्यावलोकन र मगर जातीको सस्कृतिको अध्यन अनुसन्धान गर्न रुचाउछन् । मगर जाति भुमिपुत्र अर्थात प्रकृतिका पुजारी हुन । मगर जातीहरु खासगरी नेपालका ७७ वटै जिल्लामा बसोबास गर्दछन् । तर, विशेष गरी बाग्लुङ, म्याग्दी, तनहुँ, पाल्पा, नवलपरासी, प्युठान र रोल्पा रुकुम जिल्लामा मगरहरुको बाहुल्यता रहेको छ । उनीहरुको आफ्नै मौलिक सामाजिक परम्परा, भाषा, रहन सहन, चालचलन, भेषभूषा तथा रीतिरिवाज हुन्छ । मगर समुदाय भाषागत आधारमा तीन प्रकारमा बाँडिएको हुन्छ । कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर, कालीगण्डकी पश्चिमको मगर खाम बोल्ने मगर र डोल्पा जिल्लाका मगर काइके बोल्ने मगरहरुमा पर्दछन । पहिचानको लागि गण्डकी पूर्वलाई बाह्र मगरात र पश्चिमलाई अठार मगरात भनेर चिनिन्छ । बाह्र मगरातका मगरहरुको मुख्य थर थापा, राना र आले हो भने अठार मगरातका मगरहरुको मुख्य थर पुन, घर्ती, बुढा र रोका हो । यसैगरी डोल्पा क्षेत्रमा बसोवास गर्ने काइके मगरहरुको थर बुढा, रोका र घर्ती हुन्छ । मगर जातिको मुख्य थरहरु थापा, राना,आले, पुन, रोका, घर्ती, बुढा भएपनि धेरै उपथरहरु मगर जाती मा पाइन्छ । जनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र आदिबासी जनजातिहरुको हकमा प्रथम श्रेणीमा मगर समुदाय पर्दछन् ।

मगर भाषा तीन किसिमका छन् । मगर ढुट, मगर खाम÷पाङ र मगर काइके । यी मध्ये मगर ढुटबोल्ने मगर धेरै छन् । ढुटबोल्ने भाषा बोल्ने मगरहरु पाल्पा, स्याङजा, तनहुँ, नवलपरासी गोरखा जिल्लामा छन् । मगर खाम÷पाङ विशेष गरी रोल्पा, रुकुम जिल्लाका मगरहरुले बोल्ने गर्दछन् । सबभन्दा कम मगरहरुले बोल्ने मगर भाषा काइके हो । जुन डोल्पाको सहरतारा, टुपतारा र ताराकोट तीन गाउँमा बोल्ने गरिन्छ । मगरहरु आफ्नै भाषा का अलावा नेपाली भाषा पनि बोल्दछन । प्रा.केशरजंग बरालले लेख्नु भएको पाल्पा तनहूँ र स्याङजाका मगरहरुको संस्कृति नामक किताब अनुसार मगर जातीको विभिन्न थर उपथरहरु जम्मा १११३ रहेको छ । मगर समुदायमा प्रकृतिसँग सम्बन्धित लोक चाडपर्वहरु मा भूम्या, माघे, राँखे–झाँक्री मेला, चण्डीपूर्णे प्रचलनमा छन् । मगरहरुको मौलिक नाचहरु विशेषत गरी सोरठी, मारुनी, घाँटु, कौरा, हुर्रा हुन् ।

नेपालमा बाईसी र चौबीसी राज्यहरु हुँदा पाल्पाको बल्ढेङगढी चौबीसी राज्य अन्तरगतको एक मगर राज्य थियो । पाल्पाका राजा मुकुन्दसेनले बल्ढेङगढीलाई आफ्नो अधीनमा पारेपछि लडाकु मगरसेनालाई आफ्नो सेनामा समायोजन गरेका थिए । अहिले पश्चिम पाल्पाको रैनादेबीछहरा गाउँपालिकामा पर्ने बल्ढेङ्गगढी ऐतिहासिक पुरातात्विक क्षेत्र हो । चौधौं शताब्दीको प्राचिनकालिन स्वर्णिम मगर राज्यको राजधानी वलिहाङ्गगढी दरबार संरक्षणको अभाबमा भग्नावशेषमा परिणत हुँदैछ भने प्रचारप्रसारको अभावमा पर्यटहरु पुग्न सकेका छैनन ।

तानसेन देखि दक्षिण पश्चिममा पर्ने तिनाउ गाँउपालिका ग्रामीण पर्यटनको लागि रमणिय स्थल मानिन्छ । मगर जातीको इतिहास, कला, सँस्कृति र सभ्यतामा समेत धनि रहेको छ । तिनाउँ गाउँपालिका साविकका कचल, दोभान, कोलडाडाँ र मस्यामको भूगोल पर्दछ । जन्तीलुंङग र मरामकोटको घुमफिर पछि ग्रामीण पर्यटकहरुले तिनाउको रिङसिङलेक, पाटन, ठुली उदाङ, हात्तिलेक, सत्यवतीताल, सुकेताल, जितगढी, नुवाकोट सिद्धबाबा मन्दिरजस्ता ठाउँमा पनि घुमफिर गर्न सक्दछन् ।

Comments
Loading...