के पाल्पामा सिटामोल अभाव भएकै हो त ?

0 442

पाल्पा । तानसेनका नीजि फार्मेसीहरुमा पारासिटामोल समेत नपाइएको गुनासो बढेपछि जिल्ला स्तरीय टोलीले अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको नेतृत्वमा बुधबार तानसेन बजारका फार्मेसी पसल, अस्पताल तथा मेडिकल हलमा पाल्पाका अनुगमन गरिएको हो ।

अनुगमनमा जिल्ला स्तरीय सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख सहित राजनीतिक दलका नेताहरु, पत्रकार लगायतको सहभागिता थियो । अनुगमनका क्रममा केही स्थानमा पारासिटामोल मौज्दात रहेको पाइएपनि केही  निजी फार्मेसीमा भने दुई सातादेखि सिटामोल अभाव रहेको पाइएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो ।

तानसेन बजारका दुई वटा अस्पतालसहित ८ वटा फार्मेसीमा अनुगमन गरिएको थियो । तानसेनस्थित शुभम मेडिकल हल, पाल्पा अस्पताल तथा लुम्विनी मेडिकल कलेजमा सिटामोल मौज्दात रहेको र अन्य फार्मेसीमा मौज्दात नरहेको पाइएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो ।

अनुगमनका क्रममा मास्क बढी मुल्यमा बिक्री भएको पाइएकोले पसलेलाई सर्जिकल मास्क बढीमा ५ रुपियाँमा बिक्री गर्न निर्देशन गरिएको थियो । अनुगमन टोलीले पाल्पा अस्पताल र यहाँ सञ्चालित अक्सिजन प्लान्टको समेत अनुगमन गरेको थियो । अक्सिजन प्लान्ट नियमित रुपमा संचालनमा रहेको र आवश्यक परे दैनिक ५० लिटरका ५० वटा सिलिण्डर अक्सिजन भर्ना सकिने पाल्पा अस्पतालका मेसु डा. जगदीश कुँवरले बताउनुभयो ।

Comments
Loading...