कोभिड अस्पताल बनाउँदै पाल्पाका स्थानीय तहहरू

0 652

पाल्पा । कोरोना संक्रमण समुदाय स्तरसम्म फैलिन थालेपछि जिल्लाका स्थानीय तहहरुले कोरोना अस्पताल निर्माण कार्यलाई तीव्रता दिएका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये ८ स्थानीय तहहरुले आफ्नै कोरोना अस्पताल निर्माणकार्य सम्पन्न गरि संचालनमा ल्याएका छन् । जिल्लाको बगनासकाली गाउँपालिकामा १० वेडको १ अस्पताल तयार भई संचालनमा आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीले बताए । रिब्दीकोट गाउँपालिकामा ५ वेडको १ अस्पताल, रैनादेवी छहरा गाउँपालिकामा १० वेडको १ अस्पताल तयार भइसकेको छ ।

तिनाउँ गाउँपालिकामा १० वेडको १ अस्पताल, माथागढी गाउपालिकामा १५ वेडको १ अस्पताल तयार भएको छ । पूर्वखोलामा १० वेडको १ अस्पताल, रम्भा गाउँपालिकामा ५÷५ वेडका २ अस्पताल तयार भएको रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताए । रम्भाको ताहुँमा ५ वेडको र हुँगीमा ५ वेडको गरी २ अस्पताल बनाइएको छ । त्यसैगरी निस्दी गाउपालिकामा पनि ५ वेडको १ अस्पताल तयार भएको गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताए ।

तानसेन नगरपालिकाले पाल्पा अस्पताल संगको समन्वयमा कोरोना संक्रमितका लागि ५० वेड तयार गर्ने तयारी गरेको छ । नगरपालिकाले ३० वेड संचालनमा ल्याएको छ । त्यस्तै रामपुर नगरपालिकाले ३५ वेडको अस्पताल तयार गर्दैछ । रामपुर नगरपालिकाका मेयर रमण थापाका अनुसार रामपुरमा कोरोना संक्रमितहरुको लागि अक्सिजन सिलिण्डर आइसकेको छ । अस्पताल केही दिनमै तयार हुने उनले बताए ।

कोरोना महामारी फैलिन थालेपछि स्थानीय सरकारले जनताको सहज उपचार र स्वास्थ्य पहुँचका लागि कार्यक्रम बनाएको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

Comments
Loading...