कोरोना कहरः पुर्वखोलामा आवत जावतमा कडाई

0 280

पाल्पा । जिल्लाको पुर्वखोला गाउँपालिकाले आवतजावतमा कडाई गरेको छ । रामपुर, निस्दी सहित छिमेकी पालिकामा समुदाय स्तरमा कोरोना फैलिएपनि पालिकाले सोमबार एक सुचना जारी गर्दै समुदाय स्तरमा कोरोना फैलिन सक्ने भएकोलेले रोकथामको लागि आवतजावतमा कडाई गरिएको जनाएको छ ।

पालिकाले छिमेकी स्थानीय तहहरुमा अत्यावश्यक काम बाहेक अन्य काम आवत जावत नगर्न आग्रह गरेको छ । हिड्दै परेमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन आग्रह समेत गरेको छ । त्यस्तै पालिकाले पूर्वखोला गाउँपालिका भएर अन्यत्र जाने क्रममा समुदायमा घुलमिल नहुने गरी जान समेत अनुरोध गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञान प्रसाद पनेरुले अन्य स्थानीय तहबाट आवतजावत गर्दा संक्रमण समुदाय स्तरमा पुग्न सक्ने भएकाले कडाई गरिएको बताए । पालिका भित्रका बजार, यातायात, बैंक तथा वित्तिय संस्था र कार्यालयहरु खुल्ला रहने उनले बताए ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालका अनुसार गाउँपालिमा अहिले १२ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु भारत तथा अन्य मुलुक बाट आएका हुन् । गाउँपालिकामा अहिले सम्म १ सय ७७ जना संक्रमण देखिएको छ । यो पालिकाका १ जनाको कोरोनाकै कारण निधन भएको छ ।

Comments
Loading...