कोरोना कहर (लघुकथा)

0 667

– हरिप्रसाद भण्डारी

“ऊ हाम्रा बाउ, देखिस् ?” ध्रुबेले भन्यो । प्याउलीले आँखाको दृष्टि डोल्याएर पारितिर हेरी । नदीको बगरमा अनगिन्ती मान्छे थिए । त्यो भीडमा उसले आफ्नो बाउलाई ठम्याउन सकिन । “ऊ क्या त कालो भोटो लगाएर उभिएका ।” “देखेँ देखेँ !” बालाई देखेपछि प्याउली भक्कानिई अनि रुँदै बोलाई, “ए बाउ ! हामी तिम्लाई लिन आका हौँ ।

आमाले मकै भुटेर पठाकी छिन् । छिटो आऊ, सँगै बसेर खाम्ला ।” महाकाली नदी आफ्नै गतिमा बगिरहेको थियो । नदीको आवाजले वारीको कुरा पारी सजिलै बुझिदैनथ्यो । बैनी रुँदै थिई, ध्रुबे चिच्यायो, “ए बाउ, अलि ओर आऊ त ।” त्यसपछि ऊ बैनीलाई लिएर किनारमै पुग्यो ।

प्याउली पानीतिर कुँद्दै थिई, उसले भन्यो, “पर नजा खोलाले बगाउँच ।” ध्रुबेको आवाज छविलालले सुनेछ क्यारे, ऊ पनि खोला किनारमै आयो । “बाउ वारी आऊ छिटै ।” रुँदै प्याउलीले भनी । छोराछोरीलाई देखेपछि छविलालका आँखा साउनको झरीजस्तै बर्षन थाले । भोक, प्यास र निद्राले शरीर ओइलाएको थियो । तैपनि ठूलो शक्ति बटुलेर भन्यो, “त्यता आउन दिन्नन् । पुलमा काँडा लाछन् । खोलो तर्न सक्दिनँ । कसरी आउनु ?” “कैले आउँछौ त ?” “खै ? यो कोरोना नसकिएसम्म आउन मिल्ला जस्तो छैन । त्यतिबेलासम्म मरिने पो हो कि ! तिमोरको मुख हेर्ने ठूलो धोको थियो ।” त्यसपछि तीनैजना रोए । केही समयपछि छविलालले भन्यो, “अलिअलि ल्याएका पैसा यतै सकिए । रित्तो हात घर गयो भने साहुले हाडछाला छुट्याउन खोज्चन् ।

त्यसैले यतैबाट काला पाहाड फर्कुँकी भन्ने विचार गर्दैछु । के गरुँ भन त ?” “अब नजाऊ बा काला पाहाड । मरे पनि सँगै मरौँला । दश नङ्ग्रा खियाए यतै पनि दुई छाक खान सकिन्च । म पनि सघाउँला ।” ध्रुबेले भन्यो । छोराको कुरा सुनेपछि छविलालको छाती भक्कानियो । उसले आफूलाई सम्हाल्न सकेन । ठूलो साहस बटुलेर एक्कासि नदीमा हाम फाल्यो ।

– तिलोत्तमा– ८, रुपन्देही

Comments
Loading...