कोरोना माहामारीको देशमा रहेको छोरालाई नेपालबाट आमाले पठाइन् यस्तो मार्मिक पत्र

0 305

मेरो प्यारो छोरा आर्शिवाद ।
त्यो माहामारी फैलिएको देशमा तिमीले बन्द कोठामा बसेर आफ्नी आमा, आफ्नो गाउँ र आफु जन्मेको देशको माटोको याद खुबै गरिरहेको छु भन्ने सन्देशसहितको पत्र पठाएछौं ।
तिम्रा सन्देश सबै पढे । मनमा आगो बले जस्तो भयो, आँखा अनायसै रसाए । तिम्रा अत्यासलाग्दा शब्दहरुले यो गाउँको पाखो र यो जमिनको कति याद गरिरहेका रहेछौं भन्ने महसुस मैले राम्रो गरि गरे ।


तिमीलाई थाहा छ,तिम्री आमाले राम्रोसँग लेख्न त सक्दिन तर तिमीले लेखेका पत्रका शब्दहरुले म रातभरि निदाउन सकिन । त्यो छोरा त्यो बाल्यकाल, यो आँगन खुबै याद आयो । त्यसैले पनि तिमीलाई सम्झेर यो प्रतिउत्तर नलेखी सकिन ।अस्ति भर्खरै जस्तो लाग्छ छोरा अर्धचेत अबस्थामा तिमीलाई जन्म दिएको । साच्चै छोरो यति ठूलो भएर विदेशमा गई आमालाई चिठ्ठी पठाउने भइसकेछ । हुन त आमा बाबाका लागि जति धेरै उमेर किन नहोस् । आफ्नो सन्तान सधैं बच्चा जस्तै लाग्दो रहेछ । छोरा यहाँ म लगायत सबै आरामै छौँ र त्यहाँ तिमी लगायत सम्पूर्ण देशवासीलाई नै आरामै होला भन्ने आशा राख्दै तिमीले पठाएको चिठ्ठीको जवाफ लेख्ने कोसिस गर्दैछु ।

छोरा अब के होला भनेर धेरै चिन्ता लिनु भन्दा पनि आफूलाई भित्रैबाट बलियो बनाउने कोसिस गर । जति नै शक्तिशाली राष्ट्र होस वा ब्यक्ति नै किन नहोस् । यो माहामारीले कसैलाई उम्कन दिनेछैन । त्यसैले छोरा आफूलाई नियन्त्रण गरि योगध्यानमा ब्यस्त राख्दै सुरक्षित साथ, धैर्य भएर,आत्म बललाइ उच्च बनाइ एकान्तवास बस्यौं भने पक्कै यो युद्ध जित्नेछौँ । आफूलाई कत्ति पनि कमजोर हुन नदेउ,अनुहारमा त्रास होइन मुस्कान फैलाएर बन्द कोठामा एक्लै रमाउन सिक । हो छोरा तिमी सधैं पकाएको खाना छोडेर साथी भन्दै दौडिरहन्थौँ । सधैं सम्झाउने गर्थें तिमी यसरी साथी साथी भन्दै सधैं हिड्छौ । तिमीलाई दुःख परेको बेलामा कोही काम लाग्ने छैनन् । त्यसकारण आफू एक्लै पनि बस्न सिक,हरेक काम गर्न सिक,ब्यबहारिक बन्न सिक । साथी भनेको त भेटघाट र केही समय रमाइलो गर्न मात्रै हो । परिस्थिति ठिक भएपछि साथीहरुसित रमाउने दिन त आइहाल्छ नि छोरा । हेर छोरा बास्तबमा हामी एक्लै नै छौँ ।

यो कुरालाई बुझेर पनि कहिल्यै मनन गर्न सकेनौं हामीले । हो छोरा यतिबेला धेरै मानिसहरू एक्लाएक्लै बसेका छन । प्रकृतिले धेरै पाठ नबुझ्ने तरिकाले सिकाएको छ । एकपटक राम्रोसँग सोच त तिमी त पहिला नै गएर ब्यबस्थित भएर बसेका छौँ । साँच्चै ती कलिला भाइबैनीहरु जो भर्खर भर्खर धेरै पढ्ने,धेरै पैसा कमाउने सपना बोकेर रुँदै आमा बाबाको काख छोडेर त्यहाँ पुगेका छन् । जस्का आखा ओभाएका छैनन् । न बस्ने ब्यबस्था,न खाने कुरा छ,न त चिनेका नै कोही छन । साँच्चै के भएको होला तिनीहरूको अबस्था । साँच्चै आशु रोक्न गाह्रो पर्छ तिम्री आमालाइ । यदि सक्छौं भने टाढाबाटै भए पनि आफूले गर्न सक्ने सहयोग गरेर तिनीहरुको पनि प्राण बचाइँदिने काम गर्नु बाबु । हरेक पाइलामा धैर्यताका साथ अघि बढ्न,मनोबललाइ सधैं उच्च राख्नु ।


त्यहाँ मात्रै होइन नेपालमा पनि कोठाभित्रै बसेको दुर्इं महिना हुन लागिसक्यो । बाहिर निस्कनु छैन । तिम्रै चिन्ताले रोगका भारिहरु बोकेर तिमी आउने बाटो हेरेर बसेकी छ । साँच्चै छोरा यहाँ तिम्री आमालाइ नसक्दा पानी तातो गरेर दिनेसम्म कोही छैनन् र पनि त मुटुलाई बलियोसँग बाँधेर बसेकिछु नि छोरा । आखिर तिमीलाई सम्झेर ।


अब लकडाउन खुलेपछि विश्व भरि छरिएर रहेका सम्पूर्ण देशवासी फर्किदा नेपाल र नेपालीको अबस्था कस्तो होला । म पनि एकोहोरिएर सोच्छु । त्यसैले छोरा धैर्य गरेर आफूलाई बलियो बनइ स्थिति सामान्य भएपछि आफ्नै मातृभूमिमा फर्केर आउ । मर्नै परे पनि आफ्नै माटोमा हाँसीहाँसी मरौला,बाँचियो भने आटो,ढिँडो अनि साग र सिस्नु बाँडेर खाउँला।आखिर धेरै सम्पत्ति भए पनि के नै गर्नुछ र ?त्यहि भोको पेट भर्ने,लाज छोप्ने अनि घामपानीबाट जोगिने हो । एक दिन सबै छोडेरै जानुछ । धेरै सम्पत्ति हुनेहरु पनि सन्तुष्टि छैनन् छोरा कति त हटट्याक भएर मरेका छन भने गरिबहरु खान नपाएर छट्पटीएका छन । हो छोरा विश्वको यो बिजोग देखेर आकाश पनि रोइरहेकोछ।यो माहामारी देखेर आत्तिएकोछ,चिडिएको। साँच्चै आकाश पनि नरोएको दिन छैन । त्यसैलेले छोरा अहिले धैर्य गर । आफ्नो स्वास्थ्यको ख्याल गर । यहाँ बातावरण ठिक भएपछि गाउँ फर्कनेछौं । गाउँमै बाख्रापालन गर, तरकारी खेती गर । आखिर यही माटोमा सुन फल्ट । उनी तिम्री आमा
माया उपाध्याय, नेपालबाट

Comments
Loading...