को हुन् ठाकुर गैरे ? के के छन् त प्रतिबद्धता

0 2,644

नेपाली भूमि अतिक्रमण हुँदा कालापानी मार्च पास र सुस्ता महेसपुरमा प्रदर्शनको नेतृत्व गर्ने बराङदी पाल्पाका ठाकुर गैरे राष्ट्रिय राजनीतिमा सधै चर्चामा हुनुहुन्छ । एक नेपालीको दुःख अर्को नेपालीले अनुभूत गर्नुपर्छ भन्ने भावना बोक्ने गैरे तिलाठी प्रकरणमा ऐक्यवद्धता जनाउन जाने पहिलो राजनीतिज्ञ हुनुहुन्छ । २०६२,०६३ को जनआन्दोलन उठाउने र सडक सम्हाल्ने गैरे आन्दोलनको पर्याय नै हुनुहुन्छ । कर छल्ने एनसेल प्रकरणमा खरो उत्रिएर भ्रष्टाचार विरोधी अभियानको अगुवाई गर्ने पाल्पाली जनताका प्रिय नेता क. ठाकुर गैरे नेकपा (एमाले)बाट पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधि सभाको उम्मेद्वार बन्नुभएको छ ।

बगनासकाली गाउँपालिका ८ बराङ्दी (साविक बराङ्दी गाविस ८ बेलौतीखरक) मा २०२५ साल जेठ ६ गते आमा मोनिकर्णा गैरे र बुवा शोभाकर गैरेको साहिँलो छोराका रुपमा जन्मनुभएको हो । गैरेका ४ दाजुभाइ, ४ दिदीबहिनी, १ छोरा र १ छोरी छन् । सामान्य परिवारमा जन्मनुभएका गैरेको विद्यार्थी राजनीति, राष्ट्रिय राजनीति र सामाजिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको छ । गैरेले माध्यमिक तहको शिक्षा बेद मावि बराङ्दीबाट पूरा गर्नुभयो । बिद्यालय स्तरमा रहँदा नेपाल स्काउट, नेपाल रेड्क्रस सोसाइटी, परोपकार संघ नेपाल, चारपाते युवाक्लव, गाउँले युवा क्लवलगायतका संघ संस्थामा रही बिभिन्न रचनात्मक क्रियाकलाप र समाजसेवामार्फत् गैरेले आफ्नो बेग्लै पहिचान बनाउनुभएको थियो । उहाँ बेद माविमै अधययन गर्ने क्रममा गाउँमा रचनात्मक क्रियाकलाप संचालन गर्ने, अनेरास्ववियुमा संगठित भई समाजमा ब्याप्त बिकृति बिसंगतिका बिरुद्ध विभिन्न क्रियाकलाप र आन्दोलनहरुमा संलग्न हुने क्रममै उहाँ राजनीतिक हिसावले संगठित हुनुभएको थियो ।

गैरेले २०४७ सालमा तत्कालीन नेकपा (माले) को संगठित सदस्यता लिए पछि राजनीतिमा निरन्तर क्रियाशील रहनुभएको छ । विद्यालयमै रहँदा परिवर्तनको पक्षमा जागरण पैदा गर्नको लागि ५० रुपियाँको तमसुक, शहीदकी आमाजस्ता विषयहरुमा नाटकमा अभिनय गर्ने, विभिन्न साँस्कृतिक अभियान संचालन गर्ने आदि कार्यमा पनि उहाँको भूमिका महत्वपूर्ण थियो । पार्टीमा संगठित जीवनको ३२ वर्ष पछि संघीय संसदका लागि उम्मेद्वार बन्नुभएका गैरे बिद्यालय तहबाट नै अनेरास्ववियुमा संगठित भई राजनीतिक परिवर्तन र शैक्षिक आन्दोलनमा समेत क्रियाशील हुनुहन्छ ।
राजनीतिक क्रियाशीलता
गैरे उच्च शिक्षा अध्ययनको क्रममा त्रिभुवन बहुमुखी क्याम्पसमा रहँदा स्वतन्त्र बिद्यार्थी युनियनमा २०४९ र २०५१मा स्ववियुको सचिवमा निर्वाचित हुनुभएको थियो । २०५१ सालमा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष, २०५३ सालमा केन्द्रीय कमिटी सदस्य, केन्द्रीय कमिटीको सचिवालय, केन्द्रीय सचिव, केन्द्रीय महासचिव हुँदै २०६३ मा केन्द्रीय कमिटीको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले)को बुटवलमा सम्पन्न आठांै महाधिवेशन र नवौ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र दशौं राष्ट्रिय महाधिवेशनबाट पुनःकेन्द्रीय कमिटी सदस्यमा भारी मतका साथ बिजयी हुुनुभयो । उहाँ अहिले नेकपा (एमाले) को पोलिट्ब्युरो सदस्य हुनुहुन्छ ।

आन्दोलनमा सक्रियता
२०४६को आन्दोलन, २०६२,०६३ को जनआन्दोलनमा गैरेको नेतृत्व महत्वपूर्ण छ । सबैका लागि निःशुल्क र समान शिक्षा, गुणस्तरीय शिक्षाको पक्षमा अनेरास्ववियुको नेतृत्वमा भएको आन्दोलन र संयुक्त शैक्षिक आन्दोलनको नेतृत्वको नेतृत्वमा उहाँले अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । विद्यार्थी आन्दोलन अन्र्तगत बिद्यार्थीको लागि यातायातमा सहुलियत आन्दोलन, कालापानी मार्च, मातृभूमिको सन्देश अभियान, सुस्ता बचाउ अभियान, मेचीदेखि महाकालीसम्म भारतले गरेको सिमा अतिक्रमणका बिरुद्ध मेची महाकाली राष्ट्रिय अभियानमा गैरेले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । सप्तरीको तिलाठीमा भएको भारतीय हस्तक्षेप र स्थानीय जनताहरु माथि भएको आक्रमणमा घाइते भएकाहरुको रक्षा र त्यस बिरुद्धको आन्दोलनमा गैरेले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । शाहज्यादा युवराज पारसले गायक प्रवीण गुरुङको हत्या गरेपछि हत्यारालाई कारवाहीको माग गर्दै ५ लाख २३ हजार हस्ताक्षर संकलन गरी तत्कालीन राजा बिरेन्द्रलाई बुझाइएको ऐतिहासिक आन्दोलनको नेतृत्व अनेरास्ववियुको सचिव रहँदा गैरेले नै गर्नुभएको थियो । त्यस्तै पेट्रोलियम पदार्थ, महंगी, भ्रष्टचार बिरोधी आन्दोलनमा उहाँको भूमिका महत्वपूर्ण छ ।

भारतीय नाकाबन्दी बिरुद्ध देशब्यापी आन्दोलनको सृजना गर्ने, राष्ट्रिय स्वाधीनताको अभियान संचालन गरी सिंहदरबारदेखि संयुक्त राष्ट्र संघको अफिस पुल्चोकसम्म मानव साङ्लो प्रर्दशन गर्ने, नाकाबन्दी बिरुद्ध अभियान सञ्चालन गर्नेमा उहाँको भूमिका महत्वपूर्ण छ । एनसेल कर छली प्रकरण बिरुद्धको आन्दोलनको नेतृत्व गरी कर बुझाउनुपर्ने परिस्थितिको निर्माण गर्नेमा गैरेको भूमिका महत्वपूर्ण रहेको छ ।

प्रतिनिधि सभामा गैरेको उम्मेदवारी किन ?
नेपालको राजनीतिक आन्दोलनमा पाल्पाको भूमिका इतिहासमै स्वर्ण अक्षरले लेखिएको छ  । नेकपा (एमाले) पाल्पामा अहिलेसम्म पहिलो पार्टीको रुपमा क्रियाशील रहँदै आएको छ । २०१५ सालको पहिलो आमनिर्वाचनमा देशभरमा ४ जना कम्युनिष्ट उम्मेदवारले मात्रै जित्दा पाल्पा पनि एक थियो । सेनकालीन इतिहासदेखि पाल्पा गौडा रहँदासम्म पाल्पाको जगजगी देखिन्थ्यो । शिक्षा, स्वास्थ्य र कृषि उत्पादनमा ख्याति प्राप्त पाल्पा आज झनभन्दा झन कमजोर बन्दैछ ।

पाल्पाले दुनियाँलाई पहाडी क्षेत्रको विकास र समृद्धिको रोलमोडल जिल्ला बनाउन चाहन्छ । आयोजनाका माध्यमबाट नागरीकलाई रोजगारीको अवसर सिर्जना गर्न खोजेको छ । राष्ट्रिय गौरवको आयोजनाको अध्ययन र सञ्चालित आयोजनालाई द्रुत गतिमा सम्पन्न गराउनु पर्नेछ । सिद्धबाबा सुरुङ मार्ग, बुटवल र पोखरा सडकखण्डको दूरी कम गर्ने, छिमेकी जिल्ला जोड्ने सडकको स्तरोन्नति, आवश्यक स्थानमा पुल निर्माण जस्ता विकासको अगुवाई गर्न ठाकुर गैरे जस्ता होनहार प्रतिभावान उम्मेदवारलाई संसदमा निर्वाचित गराएर पठाउनु पर्दछ भन्ने जनमत रहेको छ ।

कृषिमा बजेट वृद्धि र बजारीकरण, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, सिद्धार्थ राजमार्ग जस्ता सडकको स्तरवृद्धि आफ्नो प्राथमिकता रहेको गैरेको भनाई छ । राष्ट्रियताको सरंक्षण र सम्वद्र्धन साथै लोकतन्त्रको सुदृढीकरण गर्न, युवाहरुलाई उद्यमशीलतातर्फ जोड्न, बालबालिका, युवा, महिला, दलित, जेष्ठ नागरीक, अपाङ्ग, एकल महिला लगायतको हकहितको रक्षा आदिवासी जनजातिको
पहिचान गर्न संस्कृतिको संरक्षण गर्न, तानसेन बुटवल सडकलाई स्तरोन्नति गर्न, कालीगण्डकी करिडोरको राम्दी रिडी सडक निर्माण दु्रत गतिमा गर्न, रुरु मोक्ष सरोवर, माण्डव्य सरोवर निर्माण गरी आयमुखी पर्यटन परियोजना सञ्चालन गर्न, पाल्पाका ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण र विकासका साथै आवश्यक पर्यटन पूर्वाधार विकास गर्न लागि पर्ने उहाँको प्रतिबद्धता छ । व्यवसायमुखी कृषि तथा पशु उद्यमशीलताको सुरुवात गर्न ठूलो परियोजना सञ्चालन गर्दै बजार सुनिश्चित गर्न, बाँदर दुम्सी, बदेललगायत बन्यजन्तुको उचित व्यवस्थापन गरी किसानलाई सहयोग पु¥याउन, चीन र भारत जोड्ने कोरोला मार्गलाई पाल्पा हुँदै निर्माण गर्न पहल गर्ने उहाँले बताउनुभयो ।
पाल्पालाई प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्नको लागि प्राविधिक विश्वविद्यालयको स्थापना गर्न, स्वास्थ्य बिमा प्रभावकारी बनाई सबै नागरीकलाई स्वास्थ्य बिमामा समेट्ने, ग्रामीण क्षेत्रको विद्युत सेवा प्रभावकारी बनाउने, मोवाइल नटिप्ने ठाउँहरुमा दुरसञ्चार सेवा प्रभावकारी बनाउने, माडी चक्रपथको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने, पाल्पामा उत्पादन भएका सबै कृषि उपजहरुलाई बाह्य निकासीको ब्यवस्था मिलाउने, विदेशबाट फर्केका युवाहरुलाई आर्थिक विकासका लागि उद्यममा जोडने उहाँको प्रतिबद्धता छ ।

गैरेका केही प्रतिबद्धता
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको रुपमा रहनुभएका गैरेका पाल्पा विकास प्रतिका प्रतिबद्धता तपशील बमोजिम छन् ।
१) पाल्पाको विकासमा कालीगण्डकी करिडोर, रामपुर कपुरकोट सडकको निर्माण, सिद्धार्थ राजमार्ग, यी
मार्गहरुसँग जोडिएका सहायकमार्गहरुको निर्माण र तिनको स्तरोन्नतिगर्ने ।
२) पाल्पाको रानीमहललगायतका ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरुको संरक्षण र सम्वद्र्धन गरी
पाल्पालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ।
३) लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपालकै भोगचलन हुने अवस्था सिर्जना गराउने, कालापानीबाट भारतीय सैनिक फिर्ता गराउने । सीमा अतिक्रमणको बिरुद्ध संघर्ष गर्ने ।
४) एसपीपीजस्ता देश बिरोधी कुनै पनि सन्धी सम्झौताहरु हुनबाट रोक्ने ।
५) नेपालको असंलग्नताको नीतिलाई कार्यान्वयन गर्नुको साथै देश र जनबिरोधी सर्तका आधारमा कुनै पनि प्रकारको अनुदान वा सहयोग हुन नदिने । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको पक्षमा दृढतापुर्वक खडा हुने ।
६) संविधानको रक्षा र कार्यान्वयन गर्नको लागि पहल गर्ने । साथै जनताले लडेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको महत्वलाई स्थापित गर्न र यस मार्फत देश र जनताको हीत सुनिश्चित गर्न पहल कदमी लिने ।
७) संविधानमा ब्यवस्था गरीएको जनपक्षीय प्रावधानहरुको कार्यान्वयनमा जोड दिने ।
८) बिद्यमान भ्रष्टाचार, कमिसनतन्त्रका बिरुद्ध खडा हुने स्थिर सरकार सुशासन, पारदर्शिता कानुनी राज्य, मानव अधिकारको ग्यारेन्टी, पूर्ण प्रेस स्वतन्त्रता जस्ता आधारभूत मान्यताहरुको पक्षमा दृढताका साथ खडा हुने । –प्रेस चौतारी पाल्पाको सहयोगमा

Comments
Loading...