घटना स्मरणः पश्चिम नेपालको सिंहदरबारमा आक्रमण

0 1,196

भगवान भण्डारी
१६ बर्ष अघि माघ १८ गते राति साढे १० बजेदेखि बिहान ६ बजेसम्म पाल्पा दरवार प्रशासकीय भवन सहित सदरमुकाम स्थित सुरक्षा निकाय केन्द्रित आकस्मिक भिषण आक्रमण, तत्कालीन बिद्रोही माओवादी र सरकार पक्षबीच रातभरि दोहोरो गोली हानाहान युद्ध भएको थियो ।
ती सवै गतिविधि कर्फ्युका बाबजुद एक सुरक्षित स्थानमा पुगेर त्यही घरको छतबाट नियाल्ने अवसर पाएको थिए । श्रीलंका,प्यालेस्टाइन, इजरायल लगायतका ठाउँमा भएका लडाइँका खबर दिनहुँ सञ्चारमाध्यमबाट सुनेका हाम्रा लागि युद्ध कस्तो हुन्छ अनौठो कुरा थियो ।
देश भित्र एक जना मान्छे मारिदा सवै नेपाली आङ सिरिङ्ग भएर स्तब्ध हुने अवस्था बाट सकटकालमा दिनहुुँ नेपाली– नेपाली आफ्नै देशमा लडेर मरेका खबर आउथे । मृतकको ठुलो सख्या बढ्दै जादा ससानो सख्या सामान्य लाग्ने अवस्था बन्दै गएको थियो अर्थात लडाइँ दैनिकी बन्दै गएको थियो ।

त्यतिबेला हामी पत्रकार मानवअधिकारकर्मीले मुल समस्या आपराधिक नभई राजनीतिक भएकाले अर्को पक्षलाई कन्भिन्स गर तर नमार रणनीति अपनाउँदै दर्जनौ पटक मध्यस्थता, वार्ता गरि दुबै पक्षका र सवै क्षेत्रका गरि ४, ५ सय मानिसको जीवन जोगाउन, अपहरण कब्जाबाट मुक्त गर्न सफल भएका थियौ। । पाल्पा आक्रमणपछि प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापा सहित ५ जनालाई मुक्त गर्न अर्घाखाँचीको पणेना जादा फर्कदा र ६ घन्टा वार्ता गर्दा ५८ घन्टा लागेको थियो ।

तत्कालीन माओवादी अर्घाखाँची इन्चार्ज बसन्त शर्मा कुशल सँग हामी ५ जनाको टोलीले धेरै उचाइमा पुगेर सफल वार्ता गरेका थियौ र मानवअधिकार आयोगसँग सम्बाद नगरी नछाड्ने अडान लिएको बिद्रोही पक्ष हाम्रो बिचारबाट प्रभावित र कन्भिन्स भएर तिनगिरे बजारमा प्रजिअ सहित ५ अपहरित हामीलाई बुझाएका थिए । जुन भिडियो माओवादीको अफिसियल डकुमेन्ट्रीमा पनि देख्न सकिन्छ ।

त्यस अघि ताहँु पुगेर तत्कालीन जन प्रशासक नेत्र पाण्डे सँग सघन वार्ता गरी कब्जामा रहेका राष्टिय अनुसन्धान प्रमुख यम प्रसाद पराजुली सहित सुरक्षाकर्मी र कर्मचारी मुक्त गरेर तानसेन ल्याएका थियौ । पराजुली पहिले देखि मुटुको समस्या भएकोले पहिले उहाँलाई प्राथमिकता दियौं र बिद्रोहीले रेड्क्रस भवनवाट हामीलाई स सम्मान बिदाइ गरेका थिए । पाण्डे जिल्ला बासी र स्थानीय भएकाले हामीलाई जहिले पनि कुरा अघि बढाउन सजिलो हुन्थ्यो । पहिले कडाकडी कुरा गरेपनि पछि सहमतिमा आइ हाल्नु हुन्थ्यो । त्यस अघि विभिन्न ब्यक्तिहरुलाई मुक्त गर्ने क्रममा पुर्बी पाल्पा रामपुरदेखि मित्याल सम्म भुटेका मकाई र पानी खादै तत्कालीन इन्चार्ज नवीन, जिल्ला न्यायाधीश बिलय लगायत सँग गरेका वार्ता, छापामार सेना प्रभाव लगायत सँगको जम्काभेट मा भएका वार्ता,झक्का झक्की ऐतिहासिक र सम्झना योग्य छन् ।

तिनकै चर्चा गर्दै जाउला । तर एउटा कुरा के सत्य हो भने चाहे बिद्रोही पक्ष चाहे सरकार पक्ष मानवताको सन्दर्भमा हामीले लिएर गएको बिषयमा दुबै पक्ष सहमतिमा आउथे र हाम्रो उद्देश्य पूरा हुन्थ्यो । हिडे पछि पुगे पछि मान्छे छुटाएरै ल्याइन्थ्यो । दुबै पक्ष वार्तामा बसेपछि हामी सँग भद्र हुन्थे । सहमत हुन्थे । यसरी हाम्रो अग्रसरतामा धेरै मानवीय क्षती हुनबाट जोगाइएको थियो । प्रजिअ सहितको मुक्त भएको टोली लिएर हामी तानसेन फर्कदा काठमाडौबाट अपहरित छुटाउन आइरहेका मानवअधिकार आयोगका तत्कालीन सदस्य सुदीप पाठकले मुझुङमा हामीलाई भेटाउनु भयो ।

आयोगले जस्तै काम गरेकोमा धन्यवाद दिनु भयो र प्रजिअ थापालाई घरमा बाचे भनेर फोन गर्नुहुन्छ भनी ठुलो हाते फोन तेर्स्याउनु भयो हामी दङ्ग पर्यौ । सिडियो थापाले भक्तपुर लोकन्थली घरमा फोन डायल गरि ए बुढी ! पुन्यवती !! पुन्यवती !!! म बाँचे है,साथीहरू सँग सँगैछु । हामी सवैको नाम लिएर सदरमुकाम फर्कदैछु भन्नुभयो रुञ्चे स्वरमा, हामी सवै एकै छिन अवाक भयौ । त्यसपछी तानसेन लाग्यौं। त्यही फोनबाट हामी यता आउँदै गरेको खबर गर्यौ । बिशालबजार बीपी चोक वरिपरि चारै दिशा मान्छे इ मान्छे सवैमा कौतुहलता । के भयो कसो भयो ? सूचना लिदै कानेखुसी गर्दैको माहोल । हाम्रो गाडी बीपी चोक पुगे पछि मंचमा हाम्रो मात्रै टोली उभियौ । मैले पत्रकार महासघको सचिवको हिसावले कार्यक्रम सञ्चालन गर्दै ५८ घण्टाको अवधिको मुख्य गतिविधि बताएर, हाम्रो तर्फको टोली नेता इन्सेक प्रतिनिधि कृष्ण बस्याललाई मञ्च हस्तान्तरण गरे । उहाँले प्रजिअ सहितको मुक्त टोलीलाई मानवअधिकार आयोगलाई औपचारिक हस्तान्तरण गर्दै उहाँहरु सार्वजनिक भएको घोषणा गर्नुभयो ।

४, ५ दिनमा धेरै गलिसक्नु भएका सिडियो थापा यतिन्जेल सम्म टाठो भैसक्नु भएको थियो । त्यसपछी उहाँ बोल्ने पालो आयो । १५ मिनेट घटना क्रम बारे मज्जाले बोल्नु भयो । म सँग कर्ड्लेस फोन थियो । यी सवै घटना क्रमको मैले सा रेडियो मदन पोखरामा प्रत्यक्ष प्रसारण पनि गरे । त्यसपछी सुदिप पाठक र हामीहरू आक्रमण पछि त्रस्त मानवीय जीवनलाई सामान्य र नियमित बनाउन एक साता लागि पर्यौ । ह्वाइट लेक होटलमा विभिन्न सेक्टरसँग समन्वयात्मक छलफल भए । क्षतिको विवरण आउन थाल्यो । दोहोरो युद्धमा सरकारी लडाकु पक्ष र कर्मचारीको मात्रै मृत्यु भयो । कुनै पनि नागरिक क्षेत्रको ज्यान गएन । तर रातभरको युद्धले मानसिक प्रभाव पारेको थियो । घर घरमा गोलीका प्वाल सजिलै देखिन्थ्यो । अब अझै के हुने हो भन्ने आशका र जगजगी थियो । मानवीय र भौतिक रूपमा घटना लाई सामान्य बनाउन हामी लागि पर्यौ ।
दरबारलाई पुरानै मौलिक तरिकाबाट बनाउन दवाब दियौं । एकाध कमजोरी बाहेक उस्तै बन्यो । त्यसपछि संग्रहालय बनाउन शान्तिपुर्ण युद्द लड्यौ । त्यो पनि पुरा भयो र आज दरबार आफैंमा संग्रहित हुँदै प्रदेशको संग्रहालयको रुपमा फेरिएको छ । यिनै जनयुद्ध र जनान्दोलनको परिणाम स्वरुप देशमा लोकतान्त्रिक गणतन्त्र आएको छ । नागरिक र दलले भने जस्तो ब्यवस्था र संविधान बनेको छ । तर जनताको चाहना र शहीदको सपना तेत्रो आन्दोलनको म्यान्डेट बमोजिम देश अझै अघि बढन सकेको छैन । अब त्यस्तो युद्ध स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय कुनै रूपमा नहोस् । बुद्धको देशमा अब शान्ति, सुब्यवस्था कायम होस् ।

आर्थिक सामाजिक हिसाबले अब देश समृद्दी तर्फ उन्मुख होस् । युद्ध र आन्दोलनको अन्तरय केवल संविधान र ब्यवस्था परिवर्तन मात्रै थिएन । सामाजिक न्याय हुनुपर्यो । गाँस बास कपासको अभाव हट्नु पर्यो । बेरोजगारी पनि अन्त्य हुनुपर्यो । सवै नेपाली सुखी, खुशी र स्वाभिमानी भएर बाच्न पाउनु पर्यो । स्थिरता हुनुपर्यो । लोकतन्त्र झुपडीमा पुग्नुपर्यो । बाहकहरुले अलि राम्रो नेतृत्व गर्नुपर्यो । तर त्यो अनुसार हुन सकेको छैन । अन्यायको अनुभुती हटेको छैन । मुठ्ठी भरलाई मात्रै लोकतन्त्र अनुभुत छ । सवै जनताले परिवर्तनको अनुभुती हुने गरी ब्यस्थापन हुनु पर्यो । बेथिति छ, थिती बसाल्नु पर्यो । ब्यवस्था र राज्यबाट नागरिक अपहेलित पीडित हुनुभएन । युद्ध र अपराधको धङधङीबाट सवै मुक्त हुनुपर्यो । यो सन्दर्भमा आजलाई यति । अरु चर्चा क्रमश गर्दै गरौला । अब यस्तो कहिल्यै नहोस् । त्यस्तो पीडा नदोहोरियोस । भोग्नु नपरोस् । नेताहरुको सद्बुद्दी पलाओस । जनता पनि कसैको लहैलहैमा नलागुन । सर्वत्र सुखमय जीवन बितोस । गल्ती गरेकाले प्रायश्चित्त गरुन् । बेपत्ता र सत्य निरुपण आयोग तिरको काम चाडै सकियोस् । सेना समायोजन जस्तै सवैको मन समायोजन होस । ती र त्यस्ता कष्टप्रद दिन जीवन र जगतमा नदोहोरिउन । यिनै अपेक्षा सहित धन्यवाद ।

(प्रजिअलाई जाने टोलीमा इन्सेक प्रतिनिधि कृष्ण बस्याल संयोजक, म भगवान भन्डारी तत्कालीन पत्रकार महासंघ सचिव ,नवजनचेतना दैनिक सम्पादक जगदीश भट्टराई, हाल एभीन्युज टिभी प्रदेश प्रमुख दामोदर खनाल र तत्कालीन लुम्बिनी दैनिक प्रतिनिधि राम प्रसाद न्यौपाने थियौ । यता सुदिप पाठकको टोलीमा पछि हाल कान्तिपुरका माधव अर्याल सहित पत्रकारहरु जानु भएको थियो ।)

Comments
Loading...