चिटिक्क भयो रानीमहल

0 484

पाल्पा । तानसेन नगरपालिकाले रेखदेख र व्यवस्थापन गर्न थालेपछि रानीमहल फेरिएको छ । यसअघि रित्तो दरबारको रुपमा मात्रै रहेको रानीमहल क्षेत्रमा अहिले नगरपालिकाले बिशेष महत्वका साथ काम गरिहेको छ । जसका कारण रानीमहल क्षेत्र चिटिक्क भएको छ ।
रानीमहल क्षेत्रको सरसफाई तथा व्यवस्थापनमा खट्दै आउनुभएका तानसेन नगरपालिकाका सरसफाई अधिकृत शंकर भण्डारीले रानीमहल र यस क्षेत्र पर्यटकीय हिसावले पनि निकै महत्वपुर्ण क्षेत्रको रुपमा रहेकोले यस क्षेत्रत्रलाई थप व्यवस्थित बनाउन नगरपालिका लागिपरेको बताउनुभयो ।

केही महिनअघि सम्म पनि रानीमहल पुग्नेहरु यहाँको जीर्ण अवस्था देखेपछि निरााश हुँदै फर्कनुपर्ने अवस्था थियो तर अहिले रानीमहललाई राम्रो र सुन्दर बनाइएको छ । यहाँ रातिको समयमा समेत सोलार बत्तीको ब्यवस्था भएको छ । तानसेन नगरपालिकाको वडा नं. १३ वौघागुम्हामा अवस्थित रानीमहल तत्कालीन पाल्पा गौडाका राजा खड्ग शमसेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा स्मृतिमा बनाएका थिए । बि.सं. १९४९ मा सुरु गरेर १९५४ मा निर्माण सम्पन्न भएको रानीमहललाई नेपालको ताजमहल भनेर चिनिए पनि उचित प्रचार प्रसार र संरक्षणको अभावमा भग्नावशेषको रुपमा परिणत भएको थियो ।

पुरातत्व विभाग अन्र्तगत रहेको रानीमहल तानसेन नगरपालिकालाई १० वर्षको लागि हस्तान्तरण गरिएको छ । अहिले दरवार, परिसरहरु सफा देखिन्छन् । रानीमहलको अगाडि फुलको गार्डेन बनाइएको छ । कालीगण्डकी नदीबाट पानी तानेर सरसफाईमा विशेष ध्यान दिइएको छ । ६ किलोेमिटर टाढाबाट पानी ल्याएर दरवार घुम्नेहरुको लागि सफा पिउने पानीको व्यवस्था गरिएको छ । शौचालय देखी सुरक्षा र रेखदेखको लागि सिसी क्यामेरा जडान र ३ जना हेरालुको व्यवस्थापन गरिएको भण्डारीले बताउनुभयो ।

यो दरबारमा अहिले दरबारको महत्व झल्काउने संग्रहालय पनि सुरु भएको छ । तत्कालिन राजा खड्ग शमसेर र रानी तेजकुमारीको पुर्ण कदको तस्बिर राखिएको छ । दरवार भित्र रानी कक्ष र वैठक कक्ष बनाइएको छ । रानीमहल दरवार निर्माण गर्ने राजा खड्ग शमसेरको पालामा उनले प्रयोग गरेका पुराना र ऐतिहासिक सामाग्रीहरुको खोजी गरी मिनी संग्रहालय बनाइएको तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले बताउनुभयो । संग्रहालयमा राजाले पूजा गर्ने मुर्तिहरु, पकाउने भाँडाकुडाहरु पन राखिएको उहाँले बताउनुभयो ।
दरवारमा रंगरोगन गरी दिर्घकालीन विकासमा तानसेन नगरपालिका जुटेको मेयर शाहीले बताउनुभयो । दरवार अगाडिको खाली बगर व्यवस्थापन गरी दरवार र परिसरलाई थप राम्रो बनाउने गरि नगरपालिका लागिपरेको उहाँले बताउनुभयो ।

तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले रानीमहल दरबार पाल्पाको मात्रै नभएर नेपालकै गौरव भएकोले यसलाई राम्रो बनाउँदै लैजानुपर्ने बताउनुभयो । अहिले दरबार तानसेन नगरपालिका मातहतमै छ त्यसैले पनि दरबारलाई कसरी राम्रो बनाउने र यहाँ आएका पर्यटकहरुलाई कसरी खुशी बनाएर पठाउने भन्नेमा नगरपालिका लागिपरेको उहाँले बताउनुभयो ।

Comments
Loading...