जनप्रतिनिधिनै डोजर र एक्साभेटरका मालिक

0 881

–के.बि.मसाल
कतिलाई थाह छ या छैन ? डोजर र एक्साभेटर आफ्नै गाउँका जनप्रतिनिधिहरुले किनेका छन भनेर ? यदि छैन भने पत्ता लगाउनुस त तपाईको गाउँमा सडक निर्माण गर्न लागेको अथवा खोलामा बालुवा गिट्टी निकाल्न लागेको डोजर र एक्साभेटर कस्को हो ? अहिले निर्माण क्षेत्रमा आवश्यक पर्ने ब्याकहो लोडर, लोडर, क्रेन, रोलर, कम्प्याक्टर, फ्रकलिफ्ट, एक्साभेटर लगायत सम्पूर्ण उपकरण जे आवस्यक पर्दछ सबै जनप्रतिनिधिहरुले छोरा छोरी ज्वाई भान्जा जस्ता नाता पर्नेहरुका नाममा खरिद गरेका छन् । डोजर र एक्साभेटर नकिन्ने जनप्रतिनिधिहरु बिरलै भेटिन्छन् ।

भूमाफियाहरुले खोला किनार कब्जा गर्ने र जनप्रतिनिधिहरु डोजरका मालिक र ठेकेदार भएका छन् । जग्गा दलालले खोला कब्जा गर्दा बाढी बस्तीमा पस्न थालेको छ । गाउँमा न्याय दिने जनप्रतिनिधिहरु तिनै दलाल सग मिलोमतो गरेका छन् । पिडित जनताको कुरा जनप्रतिनिधिहरुले सुन्दैनन् । अहिले बिकासको नाममा पहिला सडकलाई योजनामा ल्याउने गरिन्छ । जुन योजना जनताको लागि भन्दा पनि जनप्रतिनिधिहरु को डोजर र एक्साभेटरको लागि हो की भने जस्तो देखिन्छ । अर्को तर्फ डोजर र एक्साभेटरले गर्दा गाउँमा धेरै मानिसहरु वेरोजगार भएका छन् । तर ती वेरोजगारहरुलाई थाहा हुदैन जनप्रतिनिधिहरु को डोजर र एक्साभेटरले काम गरेको बिल बन्दा उनिहरुले नै काम गरेको किर्ते बिल भरपाई बन्दछ भन्ने कुरा । डोजर र एक्साभेटरको यस्तो अदृष्य आतक छ बिकासको नाममा भएको छ ! यो कस्ले छानबिन गर्ने ?

डोजर प्रयोगलाई मात्र विकास ठान्ने र कतिपय जनप्रतिनिधिले त डोजर र एस्काभेटर आफैं किनेर विकास बजेटमै हालीमुहाली गरेका छन् । तर विकासका नाममा अन्धाधुन्ध डोजर प्रयोग गरेको असर अहिले एकपछि अर्को गरी देखिन थालेको छ । स्थानीय तहमा तीन वर्ष पहिले जनप्रतिनिधि आएपछि त डोजरे विकास झनै मौलाएको छ । अहिलेको विपद र प्रकोपको कारण पनि अधिकाशं ठाउमा डोजर र एक्साभेटर भएको छ । डोजर र एक्साभेटरले गर्दा प्रत्येक बर्ष बर्खायाम सुरु भएसंगै देशका विभिन्न ठाउंहरुमा बाढिपहिरो र डुबान जस्ता प्रकृतिक विपदतीबाट ठुलो धनजनको क्षति हुने गरेको छ । अव्यवस्थित ढंगले स्काभेटर प्रयोग गरेर सडक निर्माण गर्दा ठाडो जमिनमा छिटै पहिरो जाने गरेको छ । तर राज्यलाई त्यो कुरा थाहा हुदाहुदै पनि जथाभावी डोजर र एक्साभेटर चलाउन भने रोकिएको छैन ।

हेभी इक्विपमेन्ट अर्थात डोजर, एक्साभेटर प्रयोगको इतिहासलाई हर्ने हो भने २०५० सालसम्म पनि आवश्यक परेको खण्डमा सरकारको स्वामित्वमा रहेको हेभी इक्विपमेन्ट डिभिजन कार्यालयमा निवेदन पेस गरी भाडाका लागि सिमति समयलाई प्रयोगमा आउथ्यो । अर्को तफ त्यो समयमा विकासका काम पनि अहिले जस्तो देशव्यापीरुपमा विस्तार भएको थिएन । जुन कारणले डोजर, एक्साभेटर, भ्याकुर लोडर, रोलर, ब्याकु लोडर, डोमालुसन, क्रेन, टनेल बोरिङ मेसिनजस्ता विभिन्न हेभी इक्विपमेन्ट विकास–निर्माणका काममा खासै प्रयोगमा आएका थिएन । त्यो समयमा प्रतिघण्टाका दरले हेभी इक्विपमेन्ट प्रयोगमा आएका थिए । २०६० साल पछि बिकास निर्माणको काम बढन थाल्यो र व्यवसायीले आफै हेभी इक्विपमेन्ट भित्राउन थाले । विस्तारै बहुउपयोगी एक्साभेटर, भ्याकुर लोडर, रोलर, ब्याकु लोडर, डोमालुसन, क्रेन, टनेल बोरिङ मेसिनजस्ता विभिन्न हेभी इक्विपमेन्ट विकास निर्माणका काममा प्रयोगमा आएका छन । त्यसमा पनि सबैभन्दा बढी एक्साभेटर प्रयोग भएको छ । पहाडि क्षेत्रमा बाटो खन्न सजिलो र बहुउपायोगी हुनाले एक्साभेटरको सबैभन्दा बढी भित्रिएको छ ।

आर्थिक वर्ष २०४६ र ४७ सम्म नेपालमा ६५ सय ३२ वटा डोजर, क्रेन, एस्काभेटर र ट्रक थिए । त्यसपछिको १५ बर्षसम्म कुनै बर्ष हेभी इम्वीपमेन्टको आयात २ हजार कटेको थिएन । तर आर्थिक बर्ष २०६२ र ६३ पछि ८ वर्षसम्म वार्षिक औसत २५ सय र ०७१ र ०७२ यताका वर्षमा वार्षिक १० हजारको संख्यामा दर्ता भएको तथ्याक यातायात विभाग संग रहेको छ । देखिन्छ । अहिले डोजर र एक्साभेटर मात्र देशभर ३५ हजारभन्दा बढीको संख्यामा रहेको आकलन छ । सडक पूर्वाधार विकासका लागि डोजर र एक्साभेटर चाहिन्छ । तर त्यसको समुचित प्रयोग हुनुपर्छ । विकासका नाममा जहाँ पनि डोजर लगाएर भत्काउने प्रवृत्तिले खासगरी पहाडी भू बनोट नै कमजोर भइरहेको छ । जसको असर हरेक वर्षायाममा दोहोरि रहेको छ । पहिरोले वर्षेनि मानवीय क्षति भइरहे पनि डोजर र एक्साभेटरको जथाभावी प्रयोग रोकिएको छैन ।

सडक निर्माण गर्दा प्राविधिक मापदण्ड पूरा भएको छैन । जनप्रतिनिधि, ठेकेदार र स्थानिय अगुवाहरुले डोजर र एक्साभेटर चलाउनेलाई बाटो खन्दा यहाँबाट सुरु गरेर त्यहाँ पु¥याइदिनु भन्ने चलन छ । जनप्रतिनिधिको त्यस्तो निर्देशनमा बाटो बनाउदा बाढी पहिरो र ठाउ ठाउमा भूक्षय हुने गरेको छ । सडक निर्माण गर्दा प्राविधिकहरुको राय सल्लाह त के कतिपय ठाउमा नक्सा समेत हुदैन । स्लोभ प्रोटेक्सन गर्ने, कल्र्भट, ड्रेन बनाएर सडक बनाउने झन कुरै भएन । अहिले प्रत्येक ठाउमा प्राविधिकको सल्लाह बिना जुन सडक निर्माण भएको छ त्यसले धेरै भूक्षय निम्त्याएको छ । माटो कटान गरेर खोल्साहरुमा फ्याँक्ने, माटो जथाभावी फ्यालेर सडक बनाउने जुन अभ्यास छ, त्यही माटो बाढीसँगै बगेर आएर ठूलो क्षति भएको छ । पहाडमा सडक बनाउने अभ्यास नै गलत छ । सुख्खायाममा जथाभावी डोजर चलाएर सडक बनायो, माटो तलतिर फ्याँकिदियो । त्यो माटो बगेर तलतिर जान्छ र बाढीले बगाएर पछि तल्लो भागहरुमा प्रकोपको अवस्था ल्याँउछ ।

आजभोली विकास र समृद्धिको कुरा धेरै उठने गर्दछ । वास्तवमा बिकास भनेको परिवर्तन हो । बिकासमा भौतिक पूर्वाधार भएन भने कुनै परिवर्तन हुदैन । विकास भएन भने समृद्धि पनि हुदैन । तर सडक बिकासले प्रकोप बढाएको छ । पहाडी क्षेत्रमा पहिरो आउँछ, त्यो स्वाभाविक नै हो तर डोजर र एक्साभेटर विकासले प्रकोपलाई बढाउने काम गरेको छ । डोजर र एक्साभेटरले पहाड कोतर्ने र छोडिदिने चलन भएको छ । पहाडी क्षेत्रमा रुख विरुवा घाँसपात भनेको जमिनको छाला हो । त्यो छालालाई कोतरेर छोडेपछि शरीरमा इन्फेक्सन त हुन्छ । बोट विरुवाले समातेर राखेको माटो डोजर र एक्साभेटरले कोतरेर छोडेपछि बर्षातमा त्यो माटो त खोलातिर आउँछ । अहिले धेरैजस्तो प्रकोपको घटना सडक निर्माणसँग जोडिएको छ । माथिल्लो भागमा सडक छ । सडक बनाउँदा फ्याँकेको माटो बगेर आउँदा बाढी पैरो गएको छ । अहिले यीनै कारणले धेरै विपदका घटनाहरु हुने गरेका छन ।

विकासको पूर्वाधार सडकलाई राज्यले प्राथामिकतामा राखेर काम भएको छ भन्ने गरे पनि उपलब्धिहरु अपेक्षाकृत रुपमा हासिल भएको देखिदैन् । सडक निर्माणले गर्दा पछिल्लो समय प्रत्येक बर्ष पूर्वदेखि पश्चिमसम्मको भूभाग वर्षायाममा बाढी पहिरोले धेरै नोक्सान िहुने गरेको छ । नेपालको भूगोलमा रहेका पहाडहरु संसारकै कान्छा पहाड मानिन्छ । भूगर्वविदका भनाई अनुसार नेपालका पहाड करिब ५० लाख वर्षअघि मात्रै निर्माण भएको हो भने चुरेक्षेत्रको पहाड १० लाख वर्षमात्रै पुरानो मानिन्छ । अहिले चुरे क्षेत्र बिनास हुदैछ । चुरेक्षेत्र बाट निकालिएको ढुङ्गा, बालुवा र वन विनासबाट चुरे क्षेत्रनै विनास हुदै गएको छ । चुरे क्षेत्र बचाउनु पर्दछ भन्दै केहि संघ÷सस्थाहरुले आवाज उठाउदै आएपनि त्यो आवाज राज्यले सुनेको छैन ।

बिकासको नाममा हिजो आज डोजर र एक्साभेटरले ग्रामीण सडक बनाउने होड नै चलेको छ । प्राविधिकको सल्लाह बिना अव्यवस्थित रुपमा जथाभावी खनिएका ग्रामीण सडकले विकासभन्दा बढी विनाशलाई निम्त्याएको पाइन्छ । नेपालका पहाडी भूगोलमा सुगमता, उत्पादन, हावापानीलगायत विविध कारणले गर्दा महाभारत र चुरे पर्वतीय क्षेत्रमा मानिसकोे बसोवास अन्य क्षेत्रको तुलनामा बढी छ । त्यस्ता कोमल भू–बनोटयुक्त भिराला पहाडमा विगत देखि दीर्घकालीन सोचविना द्रुततर गतिमा सडक निर्माण गर्दा प्राविधिकको सल्लाह आवस्यक पर्दछ । कतिपय स्थानमा त काठ तस्करले आफ्नो स्वार्थका लागि वनजगल क्षेत्रलाई नै लक्ष्यित गरी खनिएका ग्रामीण सडकले विकासभन्दा बढी विनाशलाई निम्त्याइरहेका छन । सामुदायिक वनबाट अवैध रुपमा काठ कटानी गरी फाइदा लिन पाइने हुँदा ठेकेदारको मिलेमतोमा वनबाट रेखाङ्कन गरी सडक निर्माण गर्ने गरेका चुरे क्षेत्रमा पाइन्छ ।

मानवीय श्रमको प्रयोग गरेर खनिएका सडकहरु वातावरणीय दृष्टिकोणले अनुकूल मानिन्छन । किनभने यस्ता सडकमा भूक्षय, पहिरो र बाढीका समस्या त्यत्ति धेरै बढेको पाइँदैन । श्रमको प्रयोग गरेर बनाउन सकिने सम्भावना हुँदाहुँदै पनि व्यक्तिगत लाभ र छिटो सडक निर्माण हुने नाममा डोजर, एक्स्याभेटर जस्ता गह्रौँ उपकरणको प्रयोग गर्ने प्रचलनले धेरै ठाउमा विपतका घटना भएका छन् । कमलो र भिरालो प्रकतिको चुरे तथा महाभारत पर्वतीय क्षेत्रका सयौँ स्थानमा रहेका वनजगल र खेतीयोग्य जमिन खल्बलिई क्षति पुगेको छ । अवैज्ञानिक तवरले ग्रामीण सडकको निर्माण गर्दा अल्पकालीन र दीर्घकालीन असर देखिन्छ । भूक्षयमा वृद्धि, वातावरणीय एवं जलाधारीय अवस्थामा ह्रास, सडक निर्माण गर्दा जथाभावी रुपमा फालिएका ढुङ्गा, माटो, गिटीका कारण खेतीयोग्य भूभाग पुरिन गई हजारौँ हेक्टर खेत बगरमा परिणत भएका छन ।

सडकलाई पूर्वाधार विकासको मेरुदण्ड हो । किनकि सडकको सहज पहुँच हुन सक्यो भने त्यस ठाउँको चाँडै भौतिक विकास, आर्थिक तथा सामाजिक विकास हुन्छ । कृषि, पर्यटन, व्यापार, उद्योग, स्वास्थ्य, शिक्षा आदिको विकासको पूर्वसर्तको रुपमा यातायातको सहज पहुँच भएपछि हुन्छ । सडक निर्माण गरी समृद्ध गाउँ बनाउने अभियानमा अहिले स्थानीय तह, प्रदेश र सघीय सरकार रहेका छन् । यी तीनै तहको सरकारले सडक निर्माणमा खर्च गरिरहेको छन् । पुर्वाधार बिकासको लागि यो राम्रो पक्ष हो । तर स्थानीय तहका सरकारले ग्रामीण सडक निर्माणलाई तीव्रता दिइरहँदा विकासको नाममा भएको विनासलाई त्यति ध्यान दिएको देखिँदैन । जताततै सडक सञ्जालको निर्माणले गर्दा बाढी, पहिरो, भू–क्षयीकरण बढेको छ भने ठाउ ठाउमा डुबान, कटान जस्ता समस्या भएको छ ।

डोजरले सडक निर्माण गर्दा गाउँहरु जोखिममा परेका छन् । गाउँमा सडक पु¥याउन हानथाप गरिन्छ तर वातावरणीय प्रभाव मूल्याकन गर्ने तर्फ ध्यान पु¥याइदैन । वर्षामा पानीले धेरै ग्रामीण सडक बिग्रन्छन् । वनस्पति, जगली जनावर एवं मानवबस्ती सबैमा जोखिम बढछ । डोरी तान्ने खेलजस्तो गाउँलेले फिता तानेर, डोजर र जेसिवी चालक नै इञ्जिनियर बनी खनिएका सडकहरुको असर कस्तो पर्ला ? ग्रामीण सडक बिकासको क्रममा यस्ता कुरा सबैले बुझन जरुरी छ । अहिले यातायात क्षेत्रलाई हेर्ने हो भने समस्यै समस्या छ । नयाँ कुरा केही भएको छैन । दीर्घकालीनभन्दा अहिले तत्काल चाहिएको कुरालाई मात्र सबैको माग हुने गरेको छ । सडकको कुरा हेर्ने हो भने पछि फराकिलो सडक चाहिन्छ भनेर अहिले कसैले सोचेकै छैनन् ।
आजभोली विकास मापन गर्ने सूचक के हो भनेर सोध्यौ भने धेरैले भन्ने साझा जवाफ हुनसक्छ सडक विकास, सडकसम्म पहुँच । पक्कै हो, ग्रामिण क्षेत्रमा भएको सडक विस्तारले मानिसको जीवनयापनमा ठूलै परिवर्तन ल्याएको छ । जिवनस्तर उकास्नमा ठूलै भूमिका खेल्दै भौगोलिक सहजता ल्याएको छ । ग्रामिण सडक सञ्जाल विस्तारले ग्रामिण क्षेत्रलाई शहरीकरणतर्फ उन्मुख गराएको छ । चुनावमा भोट माग्दा पनि सडक विकासलाई मुख्य एजेन्डा बनाइ जनता सामु भोट माग्ने गरेका छन् । यसरी जताततै सडक विकास र बिस्तारको अभियान चलिरहँदा सडकसगँ जोडिएको वातावरणीय संवेदनशीलतालाई भने महत्व दिएको देखिँदैन । सडक विकास र विस्तार पश्चातका सकारात्मक पक्ष त छदै छन् तर अव्यवस्थित विकासले निम्त्याउने कुरा पनि सडक बिकासमा ख्याल राख्नु पर्दछ ।

सडक विकास र विस्तार गर्दा प्राविधिक तथा वातावरणीय अध्ययन भन्दा पनि पहुँचबालाहरुले आफ्नो लाभको लागि सहज रुपमा विकास र विस्तार कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिएको देखिन्छ । सकभर आफ्नो निहित स्वार्थ पूरा हुने तरिकाले सडकको नक्सा बनाइ सोहि अनुरुप सडक निर्माण गरिएको ग्रामिण क्षेत्रमा प्रशस्त देखिन्छ । जमिनको भू–बनोट तथा सडकको दिगोपन कसैको चासोको विषय भएको पाइँदैन । अधिकांश स्थानीय तहमा गएको बजेट पनि यस्तै सडक खन्नमा खर्च भएको तथ्याक भेटिन्छ । सबैले देखिने र सबैको चासो हुने भएरै होला धेरै स्थानीय तहको विनियोजित बजेट सडक निर्माणमा नै खर्च हुने गरेको छ । सडकले छुँदा आफ्नो जग्गाको मूल्य बढने अथवा जमिन अतिक्रमण हुने कुरालाई मात्र केन्द्रमा राखेर गरिने सडक विकास तथा विस्तारले कालान्तरमा बिकासको रुप कस्तो होला ?

Comments
Loading...