जेष्ठ नागरिक प्रेरणाका श्रोत हुन

0 101

–के.वि.मसाल
केही वर्ष अगाडिसम्म नेपाली समाजमा बृद्धबृद्धाहरुको स्थान अहिलेभन्दा अत्यन्त महत्वपूर्ण थियो । उनीहरुलाई घर,परिवार समाजमा सबैले अत्यन्तै मानसम्मान गर्दथे, ठूलो आदर हुन्थ्यो । बृद्धबृद्धाले आ–आफ्नो लामो जीवनभरि सँगालेका ज्ञान, सीप अनुभव पछिल्लो पुस्ताको लागि अर्ती उपदेशको रुपमा ठूला मार्ग दर्शन बन्दथे । समाज प्रायः संयुक्त घर,परिवार प्रणालीमा चलेको थियो । एउटै घरमा परिवारका धेरै सदस्यहरु संगोलमा बसेका हुन्थे । छुट्टी भिन्नभै अलग बस्ने कुरा धेरैपछि आएरमात्र लागू हुन्थ्यो । त्यसबखतका घरमुली बृद्धको स्थान अत्यन्त ओजस्वी, उच्च थियो । परिवारमा धेरै सदस्य भएको घरलाई ठूलाघर का रुपमा हेरिन्थ्यो । यसरी समाजमा स्वच्छ परम्परा, शुद्ध आचार व्यवहार, राम्रो समाजिक सदभाव एवं सौहाद्रता र मर्यादित आचरण एवं अनुशासनको सिलसिला सन्तुलित जीवन पद्धतिको रुपमा अत्यन्त सुन्दर ढंगबाट विकसित हुँदै आएको थियो ।

नेपाल घुम्न आउने विश्वका विभिन्न मुलुकका पर्यटकहरुले पनि योे प्रणाली देख्दा कस्तो राम्रो भनेर यस पद्धतिको ठूलो तारिफ गरेको सुनिन्थ्यो । विस्तारै विस्तारै समय बित्दै वर्तमान अवस्थातिर आइपुग्दा विकसित मुलुकको प्रभाव र आकर्षण नेपाली समाजमा पनि पर्दै जान थाल्यो । घरभित्र रहेका परिवारका अधिकांश सदस्यहरु, दाजुभाइहरु वयस्क उमेरमा पुग्नासाथ आफ्ना आमाबुवासँग आपसमा अलग भइ छुट्टै बस्न रुचाउने हुन थाले । समाजमा घरधुरि बृद्धि हुने अवस्था र जमिनको स्वामित्वमा विखण्डन हुनेक्रम निरन्तर बढन थाल्यो । संयुक्त परिवारमा बस्ने वातावरण विस्तारै घटदै गयो । युवायुवती, आफ्नै ढंगले सानो परिवारमा बस्न मन पराउने भए । यसले गर्दा नेपाली समाजमा पनि बुढेसकालमा अरुको सहयोग मद्धत चाहिने बेलामा पुगेका यहाँका बूढाबूढीको ठूलो संख्या क्रमशः बेसहारा, अपहेलित तिरस्कृत हुँदै जाने स्थितिमा पुग्न थालेको अनुभव हुन थालेको छ ।

अहिले ज्येष्ठ नागरिकहरुको हक र अधिकार सुनिश्चित गर्ने र उनीहरुबीच आवश्यक सुबिधा पु¥याउने लक्ष्य राखी सरकारी तथा गैरसरकारीस्तरमा थुप्रै संस्थाहरु खुलेका छन । यी सबैको लक्ष्य ज्येष्ठ नागरिकको हितमा केही न केही कार्यक्रम सञ्चालन गर्नु रहेको हुन्छ । ज्येष्ठ नागरिकमैत्री वातावरण बन्नु आजको आवश्यकता पनि हो । यस्तो अवस्थामा सम्बद्ध सबै पक्षको ध्यान ज्येष्ठ नागरिकहरुको शारीरिक, मानसिक, आर्थिक अवस्थालाई सक्षम र सुदृढ गराई उनीहरुका दुःख, पीडा र हिनताबोधलाई कम गर्दै लग्नु र मनोरञ्जनात्मक एवं सन्तुष्टि हुने खालका कार्यक्रमहरु सहजरुपमा स्थापित गर्दै जानु पनि त्यतिकै आवश्यक छ । बृद्धबृद्धाको अवस्थाप्रति राज्य, परिवार, बृद्धाश्रम, यस क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्था सबै संवेदनशील भई उनीहरुलाई समूचित सुविधा उपलब्ध हुने प्रबन्ध गर्न र माया, स्नेह र सम्मान प्रदान गर्न क्रियाशिल भइ नै रहनुपर्छ । यसको लागि यस क्षेत्रमा कार्यरत सरोकारवालाहरु सबै निकायबीच समन्वयात्मक वातावरणको विकास हुनु नितान्त जरुरी छ । यस्ता प्रयासबाट सबै मिलेर काम गर्दा समाजमा बृद्धबृद्धाप्रति सम्मानको भावना जागृत गर्न र उनीहरुमा आत्मबल पैदा गर्न ठूलो मद्धत पुगी उनीहरुमा हौसला र जाँगरको सुमधुर वातावरणको सृजना हुन जान्छ ।

जेष्ठ नागरिकको संख्या बर्षेनी बढदै गएता पनि उनीहरुको सम्मान र संरक्षणका लागि सरकारले ठोस नीति र कार्यक्रम ल्याउन नसक्दा अप्ठेरोमा परेका बृद्धबृद्धाहरु झनै जोखिममा पर्ने गरेका छन । जेष्ठ नागरिक राष्ट्रका धरोहर र जिउदा इतिहास भए पनि घर परिवार र राज्यले उचित जिम्मेवारी बहन नगरि दिदा कयौ बृद्ध बृद्धाहरु हेला र तिरस्कारको शिकार हुन पुगेका छन । नया पीढिको ब्यस्त र स्वछन्द जीवनशैली, र आधुनिकताका नाममा आत्मकेन्द्रित र स्वार्थीपना बढदै गएको कारण आफुलाई जन्म दिने आमा–बाबुलाई समेत हेला गर्ने, कुटपिट गर्ने र घरैबाट निकाली दिनेसम्मका घटनाहरु हुने गरेका छन । परिवारमा कचकच गरेको, बोझको रुपमा परिणत भएको आरोप कतिपय जेष्ठ नागरिकलाई लगाईने गरिन्छ । शारिरीक आर्थिक तथा सामाजिक हैसियत कमजोर हुदै गएका कारण परिवार र समाजबाट बढी माया ममता स्याहार र सम्मान पाउनु पर्ने समयमा तिरस्कार हेला र घृणाको पात्र बन्नु पर्दा कल्पना गरौ त कति रुन्छ होला ति बुद्ध बुद्धाको मन । पारिवारीक पीडा र तनाव त छदै छ । त्यस माथी एक्लै बस्नु पर्दा हुने असुरक्षाका कारण हुने लुटपाट, डकैतीका घटनाले समेत बृद्धबृद्धालाई झनै पिरोल्ने गर्दछ । त्यस माथी राम्ररी उभिन नसक्ने बेसाहारा ७०÷८० बर्षका बृद्धाहरु समेत बलात्कारको शिकार भएको घटनाले नेपाली समाजलाई नै लज्जीत तुल्याउने गरेको छ ।
घरपरिवारबाट उचित माया ममता नपाएका बृद्धबृद्धाको संरक्षणको लागि राज्यले विभिन्न नीति नियम बनाएको भएतापनि तिनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । मानव अधिकारको बिश्वब्यापी घोषणापत्र १९४८ को धारा २५ ले बृद्ध अवस्थाको सामाजिक सुरक्षाको अधिकार र आर्थिक सामाजिक अधिकारको ब्यवस्था गरेको छ । त्यस्तै नेपालको संबिधान र जेष्ठ नागरिक ऐनले ६० बर्ष उमेर पुरा गरेकालाई बृद्ध मानेको भएता पनि राज्यले दिने भनेका सुबिधा पनि जेष्ठ नागरिकले सहजै पाउन सकेका छैनन् । सरकारले यातायातको साधनमा जेष्ठ नागरिकलाई छुट दिने भनेता पनि उचित प्रवन्ध मिलाउन सकेको छैन । अर्को तर्फ सरकारले जेष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि नीति र कार्यक्रम ल्याएको भए पनि उमेर र रोग अनुसार बर्षमा निश्चित संख्यालाई दिने ब्यवस्थाले सबै जेष्ठ नागरिक यो सुविधा प्राप्त गर्नबाट बन्चित देखिन्छन ।

जेष्ठ नागरिकहरुको अवस्था क्रमिक रुपमा खस्कदै गएको बिभिन्न अध्ययनहरुले देखाएको छ । सन्तान नभएका, आर्थिक अवस्था कमजोर भएका परिवारमा मात्र होईन घरभरि सन्तान भएका, सम्पन्न र सम्भ्रान्त परिवारका बृद्धबृद्धाले समेत अपहेलित हुने, छि छि र दुर दुर को पात्र बन्ने, कुटपिट लगायतका हिंशाको शिकार हुनु परेको छ । जिवन भरि दुख कष्ठ गरेर जम्मा गरेका धन आफैले उपभोग गर्न नपाई अपहेलित र दयनीय जिवन जिउनु परेको छ । जेष्ठ नागरिकहरु परिवारका सदस्यहरु भएसम्म परिवारकै सदस्यसंग आत्मसम्मान र स्नेहका साथ बस्न पाउनु पर्दछ । जसले कति दुख गरेर नखाई नलाई बालबच्चाका लागि भन्दै सम्पत्ति जोडे । तिनै सन्तानले जेष्ठ नागरिकको पालनपोषण गर्ने दायित्व रहन्छ । परिवारमा कोही नभएमा मात्र आफ्नै परिवारमा स्याहार सम्भार गर्ने कोही नभए वा आर्थिक रुपमा बिपन्न भएमा जेष्ठ नागरिकको संरक्षण गर्ने दायित्व राज्यले लिनु पर्दछ । तर नेपालमा जेष्ठ नागरिकका लागि सरकारी तवरबाट ठोस काम भएको पाइदैन । निजी तवरबाट केही बृद्धआश्रम संचालनमा आए पनि तिनमा सबैको पहुँच पुग्न सकेको छैन । जेष्ठ नागरिक संरक्षणका लागि निजी तवरमा बृद्धाश्रमहरु खुलेका भए पनि बिभिन्न कारणले सबै बिशुद्ध रुपमा सेवाभावले नै खुलेका हुन भन्न सकिने अवस्था पनि छैन । कोही धर्मको प्रचार गर्ने त कोही नाफा कमाउने उदेश्यले पनि बृद्धाश्रम खोल्ने गरेका समाचारहरु बेला बेलामा सार्वजनिक हुने गरेका छन । जिवनको उत्तराद्धमा आश्रय दिएको बहानामा त्यसको नाजायत फाइदा उठाउदै बृद्धबृद्धाको आत्मसम्मान ठेस पुग्ने गरि धर्म परिवर्तन गराउनु उनीहरु प्रति ठुलो अन्याय र बेइमानी गर्नु हो ।

राष्ट्रिय तहमा जेष्ठ नागरिकका समस्या उपेक्षित छन नै अन्र्तराष्ट्रिय स्तरमा समेत यो मुद्धा अझै उपेक्षित नै छन । अतः जेष्ठ नागरिकका हक अधिकार, सम्मान, सुरक्षा र सुविधाका लागि आवश्यक नीति नियम बनाउन, बनाएका नीति नियमहरुको प्रभावकारी कार्यान्वयन हुन जरुरी छ । त्यो भन्दा पनि महत्वपूर्ण पक्ष भनेको घर, परिवारले के कुरा बुझन जरुरी छ भने जसका कारण यो घर्तिमा टेक्न पाइयो, जसले हुर्कायो, बढायो, पढायो र यो अवस्थासम्म पु¥याउनमा सहयोग ग¥यो उसैलाई हेला गर्नु बोझ मान्नु भनेको छोराछोरीको रुपमा कुपुत्र कुपुत्री र कलक जन्मनु हो । सबै चिज मागेर किनेर पाइन्छ तर आमा बुवा केही गरि पाईदैन । यस्तो अमुल्य नाता, आफ्नै सृष्टिकर्ता जन्मदातालाई अपमान गर्नु भनेको आफ्नै बरवादीको सुरुवात गर्नु हो । पतनको बाटो रोज्नु हो ।

बिस २०६८ सालको जनगणना अनुसार नेपालमा २४ लाख ६९ हजार ६० बर्ष नाघेका जेष्ठ नागरिक छन । जनसख्याको बृद्धिदर २.१ प्रतिशतले भएको भएता पनि जेष्ठ नागरिकको संख्या भने बार्षिक ३.४ प्रतिशतले बृद्धि भईरहेको छ । विश्वभरीको सख्या लिने हो भने संसारभरी जेष्ठ नागरिकहरु को सख्या ७६ करोड पुगेको छ । विश्वको सामजिक परिवेश हेर्ने हो भने नेपालमा मात्र होइन जेष्ठ नागरिकहरुलाई गर्नुपर्ने संमान र उनिहरु को सामाजिक सुरक्षा र हकहितको बारेमा विश्वमै जेष्ठ नागरिकहरु उपेक्षित भएका छन । हाभ्रो देशमा सरकारले जेष्ठ नागरिकहरुका लागि दिघ्रकालिन राहत र संरक्षण योजना ल्याउन नसक्दा घरेलु हिंसा, सामाजिक,आर्थीक दुव्र्यवहार समेत जेष्ठ नागरिकहरुले खेप्नु परेको छ । कुनैपनि जेष्ठ नागरिक वृद्धहुनु उसको दोष होइन । यो त प्राकृतीक नियम हो । जन्मेपछि जो कोहिपनि त्यो अवस्थामा एक पटक पुगिन्छ । तर पनि राज्य र अपहेलित भएका जेष्ठ नागरिकका घर परिवार एवं समाजले त्यो कुरा वुझेपनि नवुझे झै गरिदिनाले यो समस्या समाधान हुनुको साटो जेष्ठ नागरिकहरुले भोग्नु परेको पिडा थपिएको छ ।
आधुनिक रहन सहन बसाइ सराइको अत्यधिक प्रचलन रोजगारीको लागी गाउ छाडी मुलुक भित्र र विदेशको यात्रा जस्ता कारणले पनि कतिपए जेष्ठ नागरिकहरुले खोजे जस्तो संरक्षण र उचित स्याहार सुसार पाउन सकेका छैनन् । जेष्ठ नागरिहरु विच गएर अध्ययन गर्ने हो भने उनिहरुको वास्तविक समस्या को पहिचान गर्न सकिन्छ । राज्यले वानाएको नितिले पनि जेष्ठ नागरिकहरुलाई उपेक्षित वनाएको छ । उधारणको लागि महिला वालवालिका र जेष्ठ नागरिकहरुलाई राज्यको तर्फबाट दिइने राहत एवं सामाजिक सेवा लिन खोज्यो भने पहिला महिला त्यसपछि वालवालिका र अन्तमा जेष्ठ नागरिकको पालो आउछ ।

विगतलाई फर्किएर हेर्ने हो भने सामाजिक सुरक्षा भत्ता कतिपय जेष्ठ नाकरिकहरुको आफ्नै घरपविारले नै खर्च गरिदिने, कतिपय स्थानिय पालीकाले कागजी प्रमाण मिलाएर जेष्ठ नागरिकहरुको भत्ता कर्मचारीले नै खाने जस्ता नमिठा घटना समेत सुन्नमा आएका छन । जेष्ठ नागरिकहरु को भत्ता वैक मार्फत भुक्तानी गर्ने नियम वनाएको छ । यसले झन जेष्ठ नागरिकहरुलाई भत्ताको रकम बाटो खर्च, सहयागिहरु मा हुने खर्च जस्ता आर्थीक बोझ मात्र होइन वृद्धहरुको लागि वैक भएको स्थानमा पुग्न मानविय दृष्ट्रिकोणले पनि नमिल्दो देखिएको छ । सरकारले यस्ता समस्या किन वुझदैन सचेत जेष्ठ नागरिकले पश्न उठाएका छन । प्रत्येक गाउँ र वस्तीमा वैकिङसेवा पुगेको छैन । सरकारी कारोवार गर्ने वैक जिल्ला सदरमुकाम र यस्तै अन्य शहरि क्षेत्रमा केन्द्रित छन । जेष्ठ मात्र होइन शारिरीक रुपलेपनि वृद्ध भै सकेका नागरिकहरु त्यो भत्तालिन एक्लैजान सक्दैनन । उसले कसैको सहारा लिनु पर्दछ । प्रत्येक जेष्ठ नागरिकको घर आगनमा मोटर मार्गले छोएको छैन । दुर्गम पहाडी जिल्लामा सदरमुकाम आउन २–३ दिन सम्म पैदल यात्रा गर्नुपर्छ । यस्तो अवस्थामा मासिक भत्तालिन यो सरकारी नियम संभव छ ? खै त हाभ्रा राजनैतिकदल का नेताहरुले जेष्ठ नागरिकहरुको समस्या वुझेका …?

हाभ्रो समाज आफ्नो लागि भन्दापनि सन्तानको लागि बढि सोच्ने, खाइ नखाई सन्तानको लागि सम्पती जोगाउने संस्कार बसेको छ । तर हामीले सोचेजस्तो व्यवहार आफ्नै सन्तानबाट पाउन सकेको देखिन्न । समाजमा जेष्ठ एंव वृद्ध नागरिकहरुलाई विरामी हुदा औषधी उपचार मात्र होइन साझ विहानको हातमुख जोडने समेत कठिन भएको छ । आर्थीक विपन्न र स्थाई आय–आर्जन नभएका जेष्ठ नागरिकहरुको अहिलेको समस्या यस्तै अवस्थामा रहेको छ । जिल्लामा सामाजिक संघ÷संस्थावाट सेवादिन खोलिएका जेष्ठ नागरिक सरोकार केन्द्र र वृद्ध आश्रम पनि आर्थीक कारणले सवै जेष्ठ वृद्ध नागरिकहरुलाई आवस्यक सेवा र संरक्षण दिन सकेका छैनन । कोहि कसैले समय सन्दर्भमा केहि नगद र जिन्सी वृद्धआश्रममा दानगर्ने प्रचलन देखिए पनि त्यसले मात्र आश्रम चल्ने अवस्था छैन ।

मानिसको जन्म भएपछि वालक, किशोर, युवा, वयस्क र ६० वर्ष पुगेपछि सामाजिक मान्यता र कानुनी रुपले जेष्ठ नागरिक हुदै वृद्ध अवस्थामा पुग्दछ । मानिस जन्मिए पछि सन्तानको जन्मदिने प्राकृतीक नियम हो । दापत्य जीवन यापन पछि सन्तान भएन भने मेडिकल परिक्षण देखि लिएर अहिलेको मेडिकल प्रविधिलाई समेत प्रयोग गरी सन्तानको खोजिमा लाग्ने मानिस समाजमा छन । भनिन्छ जन्म दिने आमा,बाबु इश्वर सरह हुन । एक पटक बावु र आमाको उमेरमा सवै मानिस पुग्नु पर्दछ । भन्ने कुरा सवैले सोच्ने हो भने अहिले सामाजिम न्याय खोजि रहेका जेष्ठ नागरिकहरुले पारिवारिक र सामाजिक रुपले अपहेलना हुनेक्रम मा कमि आउछ ।

जेष्ठनागरिहरु घृणाका पात्र होइन प्रेरणाका श्रोत हुन । उनीहरु अनुभवले खारिएका र ब्यवहारले परिपक्क भैसकेका इतिहासका खानी हुन । त्यस्ता ब्यक्तिहरुको ज्ञान र अनुभव मनन गरेर अगाडी बढेको खण्डमा मानिसले उन्नति, प्रगती र ब्यवसायिक सफलता प्राप्त गर्नमा समेत मद्धत पुग्न सक्दछ । जेष्ठ नागरिक युवा बन्न नसके पनि सबै युवाहरु भोलीका जेष्ठ नागरिक हुन । जेष्ठ नागरिक सवैले बन्नु पर्ने भएकाले जेष्ठ नागरिकको सवाललाई आम सरोकारको बिषय बनाईनु पर्दछ ।

Comments
Loading...