टिकट लिनकै लागि बिरामीले पाएको दुख प्रति मानवअधिकारकर्मीको ध्यानाकर्षण

0 624

पाल्पा । स्वास्थ्य बिमा गराएका बिरामीहरुले उपचारका लागि रेफर लेटर बनाउने प्रक्रियाका लागि निकै सास्ती पाएको भन्दै इन्सेकको पहलमा गठन भएको जिल्ला स्तरीय मानवअधिकार रक्षक सञ्जाल पाल्पाले पाल्पाका प्रमुख जिल्ला अधिकारीलाई सोमबार ध्यानाकर्षणपत्र बुझाएको छ ।

रेफर लेटर लिनकै लागि जिल्ला अस्पताल पाल्पामा दैनिक बिरामीहरुको भिड लाग्ने गरेको छ । जसका कारण बिरामीहरुले रेफर लेटर बनाउनकै लागि दिन बिताउनुपर्ने बाध्यता रहेको छ । यस क्षेत्रमा नाम चलेका युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज रहेकोले यी अस्पतालमा उपचारका लागि जाने बिरामीहरुलाई रेफर लेटर अनिवार्य गरिदा बिरामीले दुख पाएको गुनासो आएपछि सञ्जाल मार्फत उक्त ध्यानाकर्षणपत्र बुझाइएको सञ्जालका संयोजक भगवान भण्डारीले बताए ।

बिमा कार्यक्रमका अन्तरगत को सेवा लिने बिरामीहरुले उपचार सेवा लिन टिकटकै लागि धेरै सास्ती खेप्नु परेको र बिरामीहरुले दुख पाएको बिषयप्रति ध्यानाकर्षण भएको र यसको समाधानका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको उनले बताए ।

सरकारले कुनै पनि नेपाली पैसा नभएकै कारण उपचारबाट बञ्चित हुनु नपरोस् भन्ने योजनाका साथ ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत बिमा गरेका बिरामीहरुले टिकटको लागि रेफर लेटर लिन दिन बिताउनुपर्ने बाध्यता रहेको छ । अर्कोतिर सरकारी अस्पताल रेफर सेन्टर मात्रै हुन पुगेको छ ।

कोरोना महामारीको समयमा बिरामी सिधै सम्वन्धित अस्पतालमा जान पाउने ब्यवस्था भएपनि पुनः सुरु भएको रेफर लेटर अनिवार्य सहितको निर्णय बिरामीमैत्री छैन । त्यसैले तत्काल यसबारे छलफल गरि बिरामीहरुलाई सिधै सम्बन्धित अस्पतालमा गएर उपचार गर्न पाउने ब्यवहारिक ब्यवस्था मिलाउन माग गर्दछौं । उक्त ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

ध्यानाकर्षणपत्र मार्फत मानवअधिकारकर्मीहरुले लोककल्याणकारी कार्य गर्ने अस्पताललाई तत्काल सुविधा दिन र बिमा ऐन नियमावली संसोधनको समेत माग गरिएको छ । ध्यानाकर्षणपत्रमा जिल्ला स्तरीय मानवअधिकार रक्षक सञ्जालका संयोजक भगवान भण्डारी, सहसंयोजक गीता शर्मा र इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको हस्ताक्षर रहेको छ ।

सो अवसरमा बरिष्ठ पत्रकार मेघराज शर्माले यसप्रकारको झण्झटले बिरामीहरुले दुख पाएकोले तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरे । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जिल्ला अस्पताललाई सुबिधा सम्पन्न बनाई प्रभावकारी सेवा प्रदान गर्नेमा सबैको ध्यान जानुपर्ने यो नै दीर्घकालिन निकास भएको बताए । उनले बिमा बोर्डबाटै सोही बमोजिम निर्णय भएकोले यसमा संघीय सरकार मार्फत ब्यवस्थापन गर्न सबैले पहल गर्नुपर्ने बताए ।

Comments
Loading...