ठिमुरेको बौद्धविहार र तानसेनको निशानघरलाई युकेबाट आर्थिक सहयोग

0 469

पाल्पा । पाल्पाको रिब्दीकोट ६ घोर्लीखरकमा निर्माणाधिन रिब्डीकोट बौद्ध बिहार र तानसेनमा निर्माणाधिन निसान घरका लागि पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले आर्थिक सहयोग प्रदान गरेको छ ।

घोर्लीखरकको रिब्डीकोट बौद्धबिहारमा एक कार्यक्रमको आयोजना गरि पाल्पा जिल्ला समाजका प्रतिनिधि इन्द्र बहादुर थापा मगरले बौद्धबिहार निर्माण समितिका संयोजक हुम बहादुर थापालाई एक लाख एक हजार रुपियाँ प्रदान गरे ।सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै बिहारका कोषाध्यक्ष मिना राना र बरिष्ठ सल्लाहकार गिर बहादुर थापाले अहिले सम्म सहयोग गर्ने सबैलाई धन्यबाद दिए । सोही कार्यक्रममा रिब्डीकोट बौद्धबिहार निर्माण कार्य सम्पन्न गर्नका लागि बौघा गुम्बेली सेरोफेरो चेलिबेटी समाजले समेत आर्थिक सहयोग गरेको छ ।

चेलिबेटी समाजका प्रतिनिधि डिल बहादुर रानाले बिहार निर्माण समितिका संयोजक हुम बहादुर थापालाई १ लाख २२ हजार ६ सय ४० रुपिया प्रदान गरे । सहयोग रकम ग्रहण गर्दे बिहार निर्माण समितिका अध्यक्ष हुम बहादुर थापा पचभैयाले सहयोग गर्ने सबैमा आभार ब्यक्त गरे । अहिले सम्म निर्माणाधिन बिहारमा १५ लाख बढी खर्च भएको जानकारी दिदै बिहार निर्माण सम्पन्न गर्न २५ लाखको हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको बताए ।

यसैबिच नेपाली सेनाले तानसेनको भगवतीटोलमा निर्माण गरिरहेको निसान भगवती घरका लागि पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले एक लाख एक हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजका प्रतिनिधि ईन्द्र थापाले निसानघर निर्माण समितिका अध्यक्ष भीमसेन कार्कीलाई सो सहयोग रकम हस्तान्तरण गरे ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बृहस्पति राना, डिल बहादुर राना, पत्रकार देब पचभैया, सुरज बिक लगाएतको सहभागीता रहेको थियो । यस अघि पनि पाल्पाका बिभिन्न स्थानमा बाढी पहिरोमा परि ज्यान गुमाएका परिवार र आफन्त संगै घरबार बिहिन भएकाहरुलाई पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले ८ लाख बढी आर्थिक सहयोग गरेको थियो ।

Comments
Loading...