तानसेनको नगर बृहत योजना २०७७ सार्वजनिक

0 259

पाल्पा । तानसेन नगरपालिकाको बृहत योजना २०७७ को सार्वजनिक गरिएको छ । अष्ट्रेयाली सहायता र द एसिया फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको बृहत नगर योजनाको लुम्विनी प्रदेश सांसद वीर बहादुर रानाले एक कार्यक्रमका बीच बिमोचन गरे ।

सो अवसरमा बोल्दै सांसद रानाले योजनाहरु निर्माण हुनु मात्रै महत्वपुर्ण नभई यसको सफल कार्यान्वयन महत्वपुर्ण रहेकोले त्यसतर्फ नगरपालिकाको ध्यान जानुपर्ने बताए । उनले तानसेन पाल्पाकै केन्द्र भएकोले बिकासका योजनाहरु तदारुकताका साथ अगाडि बढ्नुपर्ने र बिकास योजनाहरुमा पार्टी र बिचार भन्दा माथि उठेर सबै एक हुनुपर्नेमा जोड दिए।

बस्ती स्तरका ब्यक्ति र सम्बन्धित सबै सरोकारवालाहरुको ब्यापक छलफलको निष्कर्षको आधारमा उक्त योजना पुस्तक तयार गरिएको नगरपालिकाका मेयरर अशोककुमार शाहीले बताए । उनले योजना अनुसारका बिकास योजनाहरुलाई क्रमशः अगाडि बढाइने समेत बताए ।

कार्यक्रममा तानसेन नगरपालिका वडा नं. ६ का अध्यक्ष सागरमान महर्जन, नागरिक समाजको तर्फबाट सोमनाथ अर्याल लगायतले योजना र पुस्तकबारे आआफनो धारणा राखेका थिए । सोही अवसरमा तानसेन नगरपालिकाले प्रकाशन गरेको त्रैमासिक बुलेटिन ‘हाम्रो तानसेन’ को सार्वजनिक समेत गरिएको थियो । कार्यक्रममै पर्यटन विकास समितिले निर्माण गरेको पर्यटनसम्बन्धी ब्रोसर समेत सार्वजनिक गरिएको थियो ।

मेयर शाहीको अध्यक्षतामा चलेको कार्यक्रममा स्वागत वडा नं. ५ का अध्यक्ष रामबहादुर रावलको रहेको थियो भने कार्यक्रमको संचालन नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत भरतप्रसाद आचार्यले गरेका थिए ।

Comments
Loading...